काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले आफ्नो स्थापनाको ५३ औं स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । नेपाल भित्र खानेपानी र ढल निकास सम्बन्धी सेवा सञ्चालनको व्यवस्था गर्न वि.सं. २०२९ सालमा खानेपानी तथा ढल निकास विभागको नामले स्थापना भएको थियो।
५३ बर्षको लामो इतिहास बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभागमा हालसम्म २८ जना महानिर्देशकहरुले नेतृत्व दिनु भएको छ । विभागको पहिलो महानिर्देशकको रुपमा हिरण्यजित मल्ल २०२९ देखि २०३८ सम्म कार्यरत हुनुहुन्थ्यो। विभागको इतिहासमा उहाँ नै सबै भन्दा लामो समयसम्म कार्यरत महानिर्देशक हुनुहुन्छ ।
विभागको स्थापनाका बेला राजधानी काठमाडौँको अलावा अन्य केही शहरी क्षेत्र तथा ग्रामीण बस्तीहरुमा मात्र खानेपानी सुविधा उपलब्ध गराए थियो। विभागको स्थापना भएको पाँच दशकमा करिब ९६ प्रतिशत जनसंख्याले आधारभूत स्तरको खानेपानी सुविधा पाएका छन् भने सैद्धान्तिक हिसाबले सत प्रतिशत नेपालमा आधारभूत सरसफाइ सुविधा पुगेको छ । यद्यपि जनगणना २०७८ को नतिजाले ४.५ प्रतिशत घरपरिवारसँग अझै शौचालय नभएको देखाएको छ ।
खानेपानी सेवा बिस्तार सँगै २०३४ सालमा विभाग अन्तर्गत तत्कालीन चारै विकास क्षेत्रमा डिभिजन कायार्लयहरु स्थापना गरी क्षेत्रीय स्तरसम्म स्थायी संरचनाको विकास गरिएको थियो ।
त्यस बेला देशका विभिन्न ठाउँमा संचालन हुने खानेपानी आयोजनाहरुको यिनै डिभिजन कायार्लयहरुबाट योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन र सुपरिवेक्षण हुने गरी अस्थायी योजना कार्यालयहरु मार्फत कार्य संचालन हुने व्यवस्था गरिएको थियो । यसका अतिरिक्त तत्कालीन स्थानीय विकास विभाग र पछि पञ्चायत तथा स्थानीय विकास मन्त्रालयका साथै तत्कालीन जिल्ला पञ्चायतहरुबाट समेत खानेपानी क्षेत्रको काम समानान्तर रुपमा हुने गरेको थियो ।
सन १९८० को दशकलाई अन्तर्राष्ट्रिय खानेपानी दशकको रुपमा घोषणा गर्न विश्व स्वास्थ्य संगठनको प्रस्ताव प्रति तत्कालीन श्री ५ को सरकारले प्रतिबद्धता जनाए पछि खानेपानी क्षेत्रमा सरकारी लगानी वृद्धि हुँदै जाँदा खानेपानी तथा ढल निकास विभाग अन्तर्गत क्षेत्रीयस्तरका ४ वटा कार्यालयहरु र ती कार्यालय अन्तर्गत केही विकास तर्फका समेत डिभिजन कार्यालयहरुको व्यवस्था गरी कार्य संचालन गरिएको थियो । यो अवस्था २०४५ सालसम्म विद्यमान थियो ।
यस अघि एकै किसिमको कार्यक्रम विभिन्न निकायबाट संचालन हुँदा देखिन आएका योजना छनौटमा दोहोरोपना, कामको गुणस्तर तथा मापदण्डमा विविधता र स्थायी संरचना तथा संजालको कमी आदिलाई ध्यानमा राखी यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण काम खानेपानी तथा ढल निकास विभागबाट संचालन गर्ने गरी ५ क्षेत्रीय निर्देशनालय र ७५ जिल्ला खानेपानी कार्यालयहरुको सांगठनि संजाल सहितको संरचना बनाईएको थियो ।
२०४५ सालमा स्वीकृत भई २०४५ पौष देखि कार्य संचालन शुरु भएको यो संरचना लामो समयसम्म कायम रह्यो । खानेपानी तथा ढल निकास विभागको यो संजालको विकाससँगै त्यसअघि स्थानीय विकास मन्त्रालय (तत्कालीन पञ्चायत तथा स्थानीय विकास मन्त्रालय) बाट संचालन भएका सम्पूर्ण कार्यक्रमहरु विभागमा हस्तान्तरण गरी खानेपानी तथा ढल निकास विभागमा संलग्न अन्य निकायहरु बीच समन्वयकारी भूमिका निर्वाह गर्ने गरी यस क्षेत्रको अगुवा निकायको रुपमा विभागलाई अगाडि बढाईएको थियो।
राज्य पुनःसंरचना सँगै विभाग अन्तर्गतका संरचनाहरु पनि फेरबदल हुँदा तत्कालीन खानेपानी तथा ढल निकास विभागको नाम खानेपानी तथा ढल व्यवस्थापन विभाग भएको छ । जिल्ला जिल्लामा रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयहरु सम्बन्धित प्रदेश सरकारको मातहतमा पुगेका छन् भने विभाग मातहतमा देशभर २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र दातृ निकायको सहयोगमा सञ्चालित आयोजनाहरु छन् ।
खानेपानी र सरसफाइको काम संघीय सरकारको मातहतमा रहेका संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र प्रदेश सरकार मातहतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयहरु तथा स्थानीय सरकारले समेत गर्ने हुँदा खानेपानी योजनाको दोहोरोपना हुने गरेको गुनासाहरु सुनिएका छन् ।
आगामी दिनमा तीनै तहको सरकार बीच समन्वयकारी भूमिका निर्वाह गरी खानेपानी योजना निर्माणमा भैरहेको दोहोरोपना हटाउनु पर्ने आवाज बलियो बनेर आईरहेको छ।
कुन महानिर्देशकले कति समय नेतृत्व दिए ?
हिरण्यजित मल्ल २०२९ मंसिर – २०३८ पौष
देव बहादुर रायमाझी २०३८ माघ – २०४२ पौष
प्रविन्जमान सिंह २०४२ पौष – २०४३ आषाढ
शिवनाथ शर्मा २०४३ पौष – २०४७ मंसिर
रत्नाकर दत्त, २०४७ पौष – २०५१ श्रावण
दिनेशचन्द्र प्याकुरेल २०५१ भदौ – २०५५ मंसिर
अरूण कुमार रञ्जितकार २०५५ मंसिर – २०५६ श्रावण
सोहन सुन्दर श्रेष्ठ २०५६ भदौ – २०५८ असोज
ध्रुव बहादुर श्रेष्ठ २०५८ कात्तिक – २०६० जेठ
श्रीराम श्रेष्ठ २०६० जेठ – २०६१ भदौ
हरिराम कोइराला २०६१/०८/११ – २०६३/०३/०९
ईश्वरमान ताम्राकार २०६३।०३।१०- २०६४।०२।३०
हरि प्रसाद शर्मा २०६४।०२।३१ – २०६५।०२।२५
राजकुमार मल्ल २०६५।०२।२६ – २०६७।०१।२५
गजेन्द्रकुमार ठाकुर २०६७।०१।२६- २०६७।१२।०२
कृष्ण प्रसाद आचार्य २०६७।१२।०३ – २०६८।०७।३०
सुमन प्रसाद शर्मा २०६८।०८।०१ – २०६९।०७।०२
इश्वरी प्रसाद पौड्याल २०६९।०८।१८ – २०७१।०५।०३
रामदीप साह २०७१।०५।०४ – २०७२।०५।२४
रामचन्द्र देवकोटा २०७२।०५।२४ – २०७३।०८।१३
तेजराज भट्ट २०७३।०८।१३ – २०७५।०८।०५
सुनिल कुमार दास २०७५।०८।०५ – २०७७।०५।२६
मीना श्रेष्ठ २०७७।०५।२६ – २०७८।०१।२७
तिरेश प्रसाद खत्री २०७८।०१।२७ -२०७८।११।१८
सूर्य राज कडेल २०७८।११।१८ – २०७९।०४।०५
रमाकान्त दुवाडी २०७९।०४।०५- २०८०।०५।३१
कमलराज श्रेष्ठ २०८०/०६/०१- २०८१/०४/०७
राम कुमार श्रेष्ठ २०८१/०४/०७ देखि हालसम्म