अझै १५/२० प्रतिशत नागरिकले खुला ठाउँमै दिसा गर्छन् : मन्त्री यादव

  वास खबर सम्बाददाता  151 पटक हेरिएको


काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले अझै १५ देखि २० प्रतिशत नागरिकले खुला ठाउँमै दिसापिसाब गर्दै आएको बताउनुभयो। खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको भए पनि यथार्थमा १५/२० प्रतिशत नागरिकले खुला ठाउँमै दिसापिसाब गरिरहेको र यसका लागि सचेतनामूलक अभियानको खाँचो रहेको बताउनुभयो ।

जनगणना २०७८ ले ४.५ घरधुरीसँग शौचालय नभएको तथ्याङ्क निकालेको छ। नेपाललाई २०७६ साल असोज १३ गते खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको थियो।

खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ औं स्थापना दिवसको अवसरमा मन्त्री यादवले भन्नुभयो ‘शौचालय भित्र दिशा गर्दा हार्ट अट्ट्याक भयो भने कसैलाई थाहा हुँदैन, खुला ठाउँमा सास फेर्दै शौच गर्दा आनन्द आउँछ भन्ने सोचाईका नागरिकका छन्, त्यसैले सचेतना बढाउनु पर्छ ।’ उहाँले यसका लागि निरन्तर अनुगमनको खाँचो रहेको र अनुगमनकै अभावमा पहिले शौचालयमै दिसापिसाब गर्ने नागरिकले पनि खुला ठाउँमा दिसापिसाब गर्न थालेको बताउनुभयो।

उहाँले खानेपानीबाट सरसफाइलाई अलग गराएर खानेपानी मन्त्रालयलाई कमजोर बनाएको उल्लेख गर्दै शक्तिशाली बनाउन खानेपानी तथा सरसफाइ मन्त्रालय बनाउन आफ्नो प्रयास जारी रहेको बताउनुभयो । खानेपानी, सरसफाइ तथा स्वच्छता ऐन २०७९ को हरेक पृष्ठ र दफामा समेत खानेपानी तथा सरसफाइ उल्लेख गरिएको भए मन्त्रालयको नाम भने खानेपानी मात्र रहेको बताउनुभयो । आफू राजनीतिकर्मी भएकाले खानेपानी मन्त्रालयबाट सरसफाइलाई किन अलग पारियो भन्ने बिषयमा जानकार रहेको र पुनः पुरानै अवस्थामा फर्काउने कार्यका लागि प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो।


मन्त्री यादवले बाढी पहिरोबाट क्षतिग्रस्त खानेपानी संरचनाहरु निर्माण सम्पन्न हुने सुनिश्चित भएको दाबी समेत गर्नुभयो । उहाँले पुनःनिर्माण प्राधिकरणमा क्षतिग्रस्त संरचनाको विवरण पठाउने, प्राधिकरणले अर्थमन्त्रालयमा पेश गरी बजेट विनियोजन गर्ने र पुनःनिर्माण प्राधिकरणले बिभाग मार्फत काम गर्ने बताउनुभयो।

मन्त्री यादवले मन्त्रालय र विभागले खानेपानी र सरसफाइको क्षेत्रमा धेरै काम गर्नुपर्ने जरुरी भए पनि न्यून बजेटका कारण सम्भव नभएको बताउनुभयो । आफू सानो छँदा नै निर्माण भएका ओभरहेड ट्याङ्कहरुले अहिलेसम्म पनि खानेपानी सेवा दिन नसकेको उल्लेख गर्दै उहाँले पूर्वको झापादेखि कन्चनपुरसम्मका अधुरो योजनाहरुको तथ्याङ्क संकलन गरी योजना आयोगमा बुझाएको समेत जानकारी गराउनुभयो।

‘म बच्चै देखि हेरिरहेको छु। गाउँमा गएर हेर्दा ती ओभरहेड ट्याङ्कबाट एकलोटा पनि पानी दिएको छैन, ओभरहेड ट्याङ्क सो को लागि जस्तो मात्र देखिन्छ, राज्यको सम्पत्ति फसिसकेकाले यसलाई जसरी भए पनि पूर्णता दिनैपर्छ’ उहाँले भन्नुभयो।

इमर्जेन्सीको समयमा समेत विभागका कर्मचारीहरुले काम गरिदिएका कारण नागरिकको बीचमा गएर शीर ठाडो गरेर हिड्न सकेको भन्दै उहाँले सम्पूर्ण कर्मचारीहरुको तारिफ गर्नुभयो। मन्त्री यादवले खानेपानी मन्त्रालयमा बजेटको अभाव भएपनि आवश्यकता अनुसारको बजेट अभिवृद्धि गर्न आफ्नो तर्फबाट हरदम प्रयास हुने र सम्पूर्ण कर्मचारीहरुले पनि तत्तत् स्थानबाट आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिनुभयो।

मन्त्री यादवले सेवा निवृत्त कर्मचारीहरु र सात वटै प्रदेशबाट पुरस्कृत भएका खानेपानी उपभोक्ता समितिहरुलाई प्रमाणपत्र र फूलमालाले सम्मान गर्नुभयो।

विभागको ५३ औं बार्षिकोत्सव कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्य, खानेपानी मन्त्रालयका सहसचिवहरु, खानेपानी विभागका पूर्व महानिर्देशकहरु, विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न खानेपानी उपभोक्ता समितिका अध्यक्ष एवं पदाधिकारीहरु, खानेपानी तथा ढल व्यवस्थापन विभागका आयोजना प्रमुखहरु, संघीय खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुखहरु, विभागका कर्मचारीहरु लगायतको उपस्थिति थियो।

स्थापना दिवस खानेपानीमन्त्री प्रदीप यादवको प्रमुख आतिथ्य एवं खानेपानी तथा ढल व्यबस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार