दिगो विकास लक्ष्य हासिल गर्न र संरचनागत सुधारका लागि ४२ खर्ब आवश्यक : महानिर्देशक श्रेष्ठ

  वास खबर सम्बाददाता  152 पटक हेरिएको


काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठले खानेपानी तथा सरसफाइ क्षेत्रमा दिगो विकास लक्ष्य हासिल गर्न र संरचनागत सुधारका लागि सन् २०४३ सम्म करिब ४२ खर्ब रुपैयाँ आवश्यक पर्ने बताउनु भएको छ।

महानिर्देशक श्रेष्ठले विभागको ५३ औं स्थापना दिवसको समापन सत्रमा दिगो र समावेशी विकास सुनिश्चित गर्न वित्तीय स्रोतहरूको विविधीकरणलाई प्राथमिकता दिने, स्थानीय सरकार, अनुदान, साझेदारी, र ऋणयोग्य वित्तको उपयोग मार्फत योजनाहरूको सञ्चालन साथै, जलवायु सहनशील पूर्वाधारको विकास, सार्वजनिक/निजी साझेदारीको सुदृढीकरण, र सहकार्य एवं समुदायको सक्रिय सहभागितालाई प्रवद्र्धन गर्दै अगाडि बढ्ने विभागको योजना रहेको बताउनुभयो । विभागले वि.सं. २१०० सम्ममा देशका १०० प्रतिशत जनसंख्यालाई सुरक्षित खानेपानी र सरसफाइ सेवा उपलब्ध गराउने दिर्घकालीन लक्ष्य रहेको बताउनुभयो।

खानेपानी मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यमा विभागले आयोजना गरेको कार्यक्रममा महानिर्देशक श्रेष्ठले स्थापना कालदेखि अहिलेसम्म विभिन्न चुनौती र अवसरहरूलाई सामना गर्दै आफ्नो जिम्मेवारीलाई प्रभावकारी ढंगले निर्वाह गर्दै आएको बताउनुभयो। ‘विगत ५३ वर्षको यात्रामा विभागले खानेपानी सेवा विस्तार, ढल व्यवस्थापन, तथा दिगो विकास लक्ष्य हासिल गर्ने प्रयासमा उल्लेखनीय योगदान पु‍र्‍याएको छ’ उहाँले भन्नुभयो।

विभागको ५३ वर्षको यात्रा उपलब्धिपूर्ण रहेको बताउँदै उहाँले विभागले हाल देशको कुल जनसंख्याको २७ प्रतिशत नागरिकलाई सुरक्षित खानेपानीको पहुँचमा पु‍र्‍याउन सफल भएकोबताउनुभयो। ‘शौचालयको पहुँच १०० प्रतिशत नागरिकसम्म विस्तार गरी वातावरणीय स्वच्छता र सार्वजनिक स्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण प्रगति गरेको छ’ उहाँले भन्नुभयो ।


विभागले विभिन्न कार्यक्रम र आयोजनाहरू मार्फत आफ्ना उपलब्धिहरू प्रस्तुत गर्दै आएको जानकारी गराउँदै महानिर्देशक श्रेष्ठले सुख्खा क्षेत्रका लागि विशेष रूपमा जलवायू अनुकूलित ठूलो खानेपानी परियोजना देखि, साना शहरहरूमा उपभोक्ता र स्थानीय तहको सहलगानीमा खानेपानी परियोजनाहरूको निर्माण र सञ्चालन भइरहेको बताउनुभयो ।

यसका साथै, ठूला शहरहरूमा एसियाली विकास बैंकको सहयोगमा शहरी खानेपानी र सरसफाइका क्षेत्रीय परियोजनाहरू र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा खानेपानी सुधारका लागि विश्व बैंकको सहयोगमा खानेपानी सुशासन र पूर्वाधार सुधार परियोजना सञ्चालनमा रहेको जानकारी गराउनुभयो। यसै परियोजना अन्तर्गत, वीरेन्द्रनगर नगरपालिकामा दीर्घकालीन खानेपानी व्यवस्थापनको लागि भेरी पम्पिङ परियोजना निर्माणाधीन रहेको जानकारी गराउनुभयो।

यस बाहेक, खानेपानीको गुणस्तर अभिवृद्धि र सञ्चालित परियोजनाहरूको थप विस्तार तथा मर्मतका लागि अलग-अलग कार्यक्रमहरू सञ्चालनमा रहेको उहाँले जानकारी गराउनुभयो । ‘विश्वव्यापी कोभिड -१९ को प्रभावलाई सम्बोधन गर्न र सम्भावित जोखिमलाई न्यूनिकरण गर्न विभागले कोभिडको विशेष कार्यक्रम सञ्चालन गरेको अनुभव पनि रहेको छ’ उहाँले भन्नुभयो यसै यात्रामा, ७ स्टेजको काभ्रेको तेमाल, पाँचथरको यासोक, तेह्रथुमको आङ्ना मौवा जस्ता बहुपम्पिङ परियोजनाहरू, उर्लाबारी, मानगढ, काकडभिट्टा, लेखनाथ, रत्ननगर जस्ता शहरी र सहलगानी परियोजनाहरू, तथा टिकापुरको दिशाजन्य लेदो व्यवस्थापन र मिर्चैयाको आकाशेपानी व्यवस्थापन जस्ता ठूला र व्यापक परियोजनाहरू सम्पन्न गरी खानेपानी र सरसफाइ सेवा उपलब्ध गराइएको छ। यसले विभागको कार्यक्षेत्रलाई अझ प्रभावकारी बनाइरहेको छ।’

खानेपानी तथा सरसफाइ ऐन, २०७९, राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति, २०८० लगायतका विद्यमान ऐन, नीति, तथा नियमहरूले खानेपानी र सरसफाइ सेवाको थप विकास र विस्तारका लागि मार्गदर्शन प्रदान गरेको उहाँले उल्लेख गर्नुभयो ।

खानेपानी तथा सरसफाइ ऐन, २०७९ अन्तर्गत प्रदान गरिएको अधिकार र जिम्मेवारी अनुसार, उल्लेखित कार्यक्रम र आयोजनाहरू बाहेक, विभागको भावी योजनामा प्रादेशिक सदरमुकाम र ठूला शहरहरूमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना सञ्चालन गर्नुका साथै तराई मधेश क्षेत्रमा दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि सुनकोशी-मरिन र भेरी बबईजस्ता थोक खानेपानी वितरण प्रणाली निर्माण गर्ने कार्य समावेश रहेको जानकारी गराउनुभयो । साथै आगामी दिनमा विभागले विभिन्न सेवा प्रदायकहरूद्वारा प्रदान गरिने सेवाको स्तर, पानीको गुणस्तर लगायतका विषयहरूमा नियमन गर्ने उद्देश्यले नियामकको भूमिका पनि निर्वाह गर्ने बताउनुभयो ।

कार्यक्रममा स्रोत संरक्षण र सरसफाइको महत्त्वमा जनचेतना अभिवृद्धि गर्ने, सबै सरकारी तह, विकास साझेदार, र नागरिक समाजसँग सहकार्य गर्दै दिगो र सुरक्षित खानेपानी तथा सरसफाइ सेवाको पहुँच सुनिश्चित गर्ने विषयमा विभिन्न वक्ताहरूले आफ्नो धारणा राख्नुभयो ।

कार्यक्रमको समापनमा विभागका कर्मचारीहरू, साझेदार संस्थाहरू र समुदायका सदस्यहरूको अथक प्रयास प्रति उहाँले आभार व्यक्त गर्नुभयो।

स्थापना दिवसमा उपभोक्ता संस्थाहरूले खानेपानी तथा सरसफाइ क्षेत्रमा पुर्‍याएको योगदानको मूल्याङकन गर्दै उत्कृष्ट सेवा प्रवाह गरिरहेका सात वटा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई कदर गरिएको थियो।

नेपालको खानेपानी र सरसफाइ क्षेत्रमा थप प्रभावकारी सेवा प्रदान गर्दै दिगो विकास लक्ष्यको प्राप्तिका लागि प्रतिबद्धता व्यक्त गर्दै महानिर्देशक श्रेष्ठले कार्यक्रम समापन गर्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार