काठमाडौं : आयोजना कार्यान्वयन निर्देशनालय (PID) ले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका थप ५७४ किलोमिटर नयाँ पाइपलाइनको परीक्षण गरेको छ । मेलम्चीको पानी पुनः वितरण शुरु भएसँगै उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका १६ वटा खानेपानी वितरण सञ्जाल (DMA) का थप ५७४ किलोमिटर नयाँ पाइपलाइनको परीक्षण सफलतापूर्व सम्पन्न गरेको आयोजना उपनिर्देशक एवम् प्रवक्ता ई.चन्द्र कुमार पाँ श्रेष्ठले जानकारी दिनुभयो ।
निर्देशनालयबाट मेलम्ची उप–आयोजना २ अन्तर्गत त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर सहित काठमाडौं उपत्यकाका कूल ३३ वटा खानेपानी वितरण सञ्जाल (DMA) का जम्मा ९८० किलोमिटर नयाँ पाइपलाइन मध्ये ५७४ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षण सम्पन्न भएको उहाँले बताउनुभयो ।
अन्तिम परीक्षण सम्पन्न भएका थप १६ वटा खानेपानी वितरण सञ्जाल (DMA) को स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको पिआईडीले जनाएको छ ।
यसअघि, पहिलो चरणमा ४ र दोस्रो चरणमा १० गरी १४ वटा खानेपानी वितरण सञ्जाल ९म्ःब्० का जम्मा ३५० किलोमिटर नयाँ पाइलाइनको अन्तिम परीक्षण सम्पन्न गरी त्यसको स्वामित्व बोर्डलाई हस्तान्तरण गरिसकिएको छ ।
हाल अन्तिम परीक्षण सम्पन्न भएका र यसअघि परीक्षण सम्पन्न गरी हस्तान्तरण गरिएका समेत गरी जम्मा ३० वटा DMA का ९२४ किलोमिटर नयाँ पाइपलाइनको परीक्षण सम्पन्न भएको छ ।
बाँकी रहेका काठमाडौंका सुन्धारा र न्यूरोड क्षेत्रका विभिन्न स्थानका ३ वटा DMA हरूका ५६ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षण समेत यही डिसेम्बर महिनाभित्र सम्पन्न गर्ने गरी कार्य भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।
निर्देशनालयबाट विच्छ्याइएका खानेपानी वितरण सञ्जालका प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सञ्जाल DMA का नयाँ पाइपलाइन समेत गरी कूल १ हजार १० किलोमिटर नयाँ पाइपलाइन रहेको छ ।
यसैगरी, खानेपानी वितरण सञ्जालबाट खानेपानी वितरण हुँदै आएका नयाँ पाइपलाइनमा हालसम्म ६० हजार ८३१ वटा नयाँ मिटर समेत जडान गरिसकिएको छ ।
यसअघि, निर्माण सम्पन्न भई बोर्डलाई स्वामित्व हस्तान्तरण गरिएका पानीपोखरीहरू र थोक वितरण प्रणालीहरू हाल संचालनमा रहेका छन् । साथै खानेपानी वितरण प्रणालीका नयाँ पाइपलाइनबाट उपभोक्ताका घरघरमा समानुपातिक रूपमा खानेपानी वितरण हुँदै आएको छ र चुहावटको समस्या समेत खासै नदेखिएको पिआईडीले जनाएको छ ।