खानेपानीमन्त्री यादव सहभागी कार्यक्रममा कर्णालीका मन्त्री र सचिव अनुपस्थित, मन्त्री यादवले भने ‘साह्रै खल्लो लाग्यो’

  वास खबर सम्बाददाता  169 पटक हेरिएको

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ग्रामीण खानेपानी सेवा सहायता केन्द्र शुभारम्भ कार्यक्रम भयो । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सुर्खेतले आयोजना गरेको कार्यक्रमको सहजीकरण सबैको लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) ले गरेको थियो ।

‘मर्मत र सुचारुपना सबैको ध्यान, खानेपानीको दिगो समाधान’ भन्ने नाराका साथ कर्णालीमै लागु गर्ने कार्यक्रममा प्रदेश सरकारका जलस्रोत तथा ऊर्जामन्त्री विजया बुढा र उक्त मन्त्रालयका सचिव नै सहभागी भएनन् । कार्यक्रममा सहभागीका लागि सचिव र मन्त्रीलाई खबर पनि भएको थियो ।

कार्यक्रममा संघीय खानेपानीमन्त्री प्रदीप यादव, सचिव प्रमिलादेवी बज्राचार्य शाक्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक राम कुमार श्रेष्ठ सहितको टोली कार्यक्रममा उपस्थित थियो । साथै स्थानीय तहका प्रमुख, सम्बन्धित विभिन्न निकायका अधिकारीहरू कार्यक्रम सहभागी थिए । कार्यक्रममा प्रदेशको मन्त्री र सचिव नै उपस्थित नभएपछि संघीय खानेपानीमन्त्री यादवले मञ्चमै गुनासो गर्नुभयो।

‘यो प्रदेश मेरो मनले, दिलले माया गर्ने प्रदेश हो, म मन्त्री नबन्दै यहाँ आउँदा पटक–पटक कणालीको मुद्दा उठाएको छु, आज म मन्त्रीको रूपमा यहाँ कर्णाली आएको छु । स्वाथ्यमन्त्री हुँदा जुम्लाको प्रतिष्ठानका लागि सहयोग राम्रै गरेको हुँ । यहाँको खानेपानीको पक्षमा म लाग्नेछु । तर यो कार्यक्रममा जुन प्रकारले प्रदेशका साथीहरू हुनुपर्थ्यो, त्यो पाइन’ उहाँले भन्नुभयो।

कर्णालीका अधिकांश नागरिकहरूले दूषित पानी खाइरहेका छन् । त्यसको सुधारका लागि कार्यक्रम ल्याएर आउँदा कमसेकम प्रदेशको खानेपानी हेर्ने मन्त्री उपस्थित हुनुपर्ने भएपनि नभएको भन्दै यादवले गुनासो गर्नुभयो।

मन्त्री देखिन, बिरामी हुनुहुन्छ भने सचिव जी आउनुपर्थ्यो, सचिव पनि आउनुभएन, मन्त्री बिराम भए सचिव बिरामी हुन जरुरी थिएन नि,’ उहाँल भन्नुभयो ‘त्यसैले लापरबाही भएर मुलुक बन्दैन । मुलुक बनाउनको निमित्त हामी एक हुनुपर्छ । मैले पहिला पनि भने म संघीयताको लागि लडेको व्यक्ति हुँ । तर आज मलाई खल्लो महसुस भयो ।’

आफू कर्णाली र नागरिकको खानेपानीका लागि काम गर्न आएको उहाँले बताउनुभयो। आफू केही लिन नआएको तर केही दिन आएको भन्दै उहाँले मन्त्री र सचिव नहुँदा खल्लो महसुस भएको बताउनुभयो । ‘मैले मनले मानेको माया गरेको कर्णालीमा, यहाँ खल्लो महसुस भयो,’ उहाँले भन्नुभयो । तीन तहको सरकार छ, तर काम गर्ने कुरामा एकता नहुँदा समस्या भएको उहाँको भनाइ छ ।

अरुबेला पार्टीका नेताहरू समेत आउँदा स्वागत गर्न विमानस्थल पुग्ने मन्त्रीहरू किन कार्यक्रममा आएन? भन्ने विषयमा कार्यक्रमस्थलमा बहस नै भयो ।
कार्यक्रममा सहभागी एक अधिकारीले भने, ‘एमाले, कांग्रेसको मन्त्री भए दौडेर आउँथे, उहाँ जसपाको मान्छे हुनुभयो, टेरेनन् । तर उहाँ मन्त्री हो, कर्णालीमै यतिठुलो कार्यक्रम ल्याएर आउनुभयो । यो त अपमान हो ।’

प्रदेशको जलस्रोत तथा ऊर्जामन्त्री विजया बुढाका स्वकीय सचिव नवराज भण्डारीले मन्त्रीको स्वास्थ्यमा समस्या भएकाले काठमाडौँ रहेको बताउनुभयो । ‘सचिवको विषय त थाहा भएन, मन्त्रीज्यू बिरामी भएर काठमाडौँ हुनुहुन्छ,’ उहाँल भन्नुभयो ।

कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका सचिव इन्द्रदेव भट्ट हुनुहुन्छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार