जन्मेदेखि नै कुवाको पानीमा निर्भर बुलिङटारमा धाराको पानी पाएपछि दङ्ग

  वास खबर सम्बाददाता  138 पटक हेरिएको

नवलपरासी : जन्मेदेखि नै कुवाको पानी खान बाध्य बुलिङटार डाँडाझेरी धौवादीका ६७ वर्षीय नरवीर मस्राङ्गीमगर पहिलो पटक घरमै खानेपानीको धारा पुगेपछि दङ्ग पर्नुभएको छ । उहाँ मात्रै होइन, यस गाउँका बासिन्दा घरमै खानेपानी धारा पुगेपछि विगतको पीडा सम्झँदै  खुसी भएका छन् ।

पूर्वी नवलपरासीको पहाडी बुलिङटार डाँडाझेरी धौवादीका सात टोलमा सात करोड ४५ लाख रुपियाँको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको वडाध्यक्ष कमल मगरले बताउनुभयो ।

हालै निर्माण सम्पन्न भएको डाँडाझेरी खानेपानी आयोजनाबाट वडाभित्रका सात टोलका ६४३ घरधुरीका झन्डै चार हजार ४४३ बासिन्दा प्रत्यक्ष लाभान्वित भएका वडाध्यक्ष मगरले बताउनुभयो ।

जीवनभरि कुवाको खानेपानी खाएर बाँच्न विवश यहाँका स्थानीयले घर घरका आँगनमा निर्माण भएका धारामा पानी आउन थालेपछि डाँडाझेरी धौवादी गाउँका बासिन्दामा खुसी छाएको उपभोक्ता समितिका अध्यक्ष नरवीर मस्राङ्गीमगरले बताउनुभयो ।

अहिलेसम्म कुवाको खानेपानी खान बाध्य यहाँका १०४ भन्दा बढी व्यक्तिमा लठ्यौरोपना, गलगाँड जस्ता विभिन्न रोग लागेको जानकारी उहाँले दिनुभयो । पानीकै कारण कतिपय बालबालिकाको सानै उमेरमा मृत्यु हुने गरेको समेत स्थानीय समाजसेवी प्रेमसिंह लुङ्गेलीमगरले बताउनुभयो ।

पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा निर्माण भएको सो खानेपानी आयोजना यस क्षेत्रको नमुना आयोजना बनेको छ । खानेपानी आयोजना निर्माण सम्पन्न भएसँगै यहाँका बासिन्दाले खेर गएको पानीबाट तरकारीसमेत उत्पादन गर्ने गरेका गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारी मगरले बताउनु  भएको खबर गोरखापत्रले प्रकाशन गरेको छ।

जिल्लाको काफलडाँडा, मथार, पिपलछाप, रुचाङलगायतका टोलमा खानेपानी अझै व्यवस्थित हुन नसकेको स्थानीय गुञ्जबहादुर आलेले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार