झापा : २०७८ साल माघ २० गते बिहीबार मेचीनगर नगरपालिका–६ बर्मेली टोलमा रहेको श्याम खेतानको एसएस फुटवेयरमा आगलागी भयो । त्यहाँ यत्ति भीषण आगलागी भएको थियो कि, भारत र छिमेकी जिल्ला मोरङबाट समेत दमकलहरु झिकाईएको थियो ।
भारतका ३ वटा दमकल सहित १३ वटा दमकलले पनि बेलुकी ५ बजे मात्र आगो निभाउन सफल भएको थियो । जुत्ता कारखानामा बिहान ११ बजेदेखि आगो लागेको थियो ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले त्यत्तिबेला दमकलले समयमै पानी भर्न नपाउँदा आगो नियन्त्रणमा ल्याउन समय लागेको कुरा राम्रो सँंग बुझेको थियो । यही अवस्थालाई मध्यनजर गरी त्यसको महिना दिन पछि नै खानेपानी उपभोक्ता संस्थाले दमकलले पानी भर्न मिल्ने गरी ५ ठाउँमा ५/५ हजार लिटर क्षमताका पाँच वटा च्याम्बर निर्माण गर्यो ।
उपभोक्ता संस्थाले खानेपानीका लागि मात्र नभई आगलागी जस्तो विपद आईहालेमा तत्काल प्रतिकार्यका लागि उपयोग गर्न मिल्ने गरी च्याम्बर निर्माण गरिएको हो ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका प्राविधिक रघु खतिवडाका अनुसार प्रत्येक च्याम्बरबाट तीन वटा दमकलले पानी भर्न मिल्ने र पानी भरिरहेको बेला भल्ब खोलेर आवश्यक मात्रमा पानी आपूर्ति गर्न पनि सकिन्छ ।
उहाँका अनुसार यी बाहेक सेवा क्षेत्र भरिमा ८ ठाउँमा फायर हाईड्रेन्ट पनि जडान गरिएको छ । आगलागी भएको बेला फायर हाईड्रेन्टले मात्र सम्भव नदेखिएकाले पाँच स्थानमा दमकललाई पानी भर्न मिल्ने च्याम्बर निर्माण गरिएको उहाँले बताउनुभयो । ‘एउटा च्याम्बर हाम्रो मुख्य कार्यालयमै निर्माण गरिएको छ । अर्को च्याम्बर हाम्रो अर्को कार्यालयमा र तीन वटा बजार क्षेत्रमा निर्माण गरिएको छ । उक्त च्याम्बर जत्तिबेला पनि पानीले भरिएको हुन्छ’ उहाँले भन्नुभयो ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :