काठमाडौ : उपत्यकामा बर्सेनि बसोबास गर्ने जनसंख्या बढिरहँदा घरबाट निस्कने फोहोर पानी व्यवस्थापन ठूलो चुनौती बन्दै गएको छ । प्रयोग गरिसकेको पानी होस् या दिसाजन्य फोहोर नै किन नहोस्, यसको व्यवस्थापनमा कठिनाइ थपिँदै गएको छ । त्यसो त २०७८ को जनगणना अनुसार उपत्यकाको जनसंख्या ३० लाख २५ हजार ३ सय ८६ छ ।
यति धेरै जनसंख्याका लागि एउटा मात्र ढल प्रशोधन केन्द्र सञ्चालनमा छ । त्यो प्रशोधन केन्द्र पनि सीमित क्षेत्रलाई मात्र लक्ष्य गरेर बनाइएको हो । उपत्यकामा सञ्चालनमा आएको यो एउटा मात्र प्रशोधन केन्द्र भएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका उपआयोजना निर्देशक एवं सूचना अधिकारी उद्धव नेपालले बताए । ‘यो प्रशोधन केन्द्रमा गोकर्णेश्वर, माकलबारी, बौद्ध, चाबहिल र मित्रपार्क क्षेत्रको ढल आउँछ, त्यसलाई प्रशोधन गर्ने हो,’ उनले भने, ‘पूरा सहरका लागि यो पर्याप्त होइन, अन्यत्र प्रशोधन केन्द्र बनिरहेकाले भोलिका दिनमा सहज हुनेछ ।
अन्यत्रको ढल प्रशोधनका लागि दातृ निकायको सहुलियतपूर्ण ऋणमा बनिरहेका अन्य प्रशोधन केन्द्रको निर्माण सुस्त छ । कहिले निर्माण सकिने हो, टुंगो छैन । अहिले गुह्येश्वरीको गौरीघाटस्थित अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति हाताभित्र ढल प्रशोधन केन्द्र निर्माण गरेर सञ्चालन गरिएको छ, जहाँ ढल तथा फोहोर पानी प्रशोधन गरिन्छ ।
सन् १९९७ मा ठेक्का भएर २००० मा सञ्चालनमा आएको केन्द्रमा प्रतिसेकेन्ड १ सय ९० लिटरका दरले ढल प्रशोधन गर्न मिल्छ, जुन नेपाल सरकारको लगानीमा बनेको हो । मेलम्चीबाट १७ करोड लिटर पानी आइसकेपछि त्यसको ८० प्रतिशत ढलमा परिणत हुने अनुमान गर्दै उक्त प्रशोधन केन्द्रको क्षमता विस्तार गरिएको हो । एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋणमा वेस्ट वाटर म्यानेजमेन्ट प्रोजेक्ट उपत्यकामा मेलम्चीको पानी आपूर्तिसँगै सुरु भयो । त्यसका लागि सन् २०१३ जुनमा एडीबी र नेपाल सरकारबीच ऋण सम्झौता भयो ।
मेलम्चीको पानी पछिसम्म दैनिक ५१ करोड लिटरसम्म पुर्याइने लक्ष्यलाई दृष्टिगत गर्दै पहिलो चरणमा गुह्येश्वरीकै पुरानो ढल प्रशोधन केन्द्रलाई अत्याधुनिक बनाइएको छ । यसको क्षमता बढाएर ३ करोड २४ लाख लिटर प्रतिदिन ढल प्रशोधन गर्न सक्ने पारिएको छ । २ अर्ब ८० करोड खर्चिएर २०२० मा यसको स्तरोन्नति गरिएको र यसलाई १० वर्षसम्म ठेकेदार कम्पनीले आफैं चलाउने तय भएको हो । अहिले त्यहीअनुसार चलाइएको छ ।
ललितपुरको धोबीघाटमा ३ करोड ७० लाख लिटरका दुई वटा, भक्तपुरको सल्लाघारीमा १ करोड ४२ लाख लिटर र पाटनको कोट्खुमा १ करोड ७५ लाख लिटर प्रतिदिन ढल प्रशोधन हुने गरी ६ अर्ब रुपैयाँमा प्रशोधन केन्द्र निर्माण हुँदै छ । पहिलो चरणमा काम पूरा नभएपछि ठेक्का तोडेर पुनः नयाँ ठेक्का गरिएको हो ।
अहिले भारतीय कम्पनी भीए टेक बाबागसँग सम्झौता गरेर डिजाइनको काम भइरहेको छ । सन् २०२६ जुनसम्म दोस्रो चरणमा भएको ठेक्काको काम सक्नुपर्नेछ । यो खबर कान्तिपुर दैनिकले प्रकाशन गरेको छ। यी केन्द्र सबै सञ्चालनमा आएपछि उपत्यकाको २० देखि २२ लाख जनसंख्यालाई सुविधा पुग्नेछ, जुन पर्याप्त होइन ।