काठमाडौ : सर्लाही लालबन्दीका प्रमोद माझी विगत ५ बर्षदेखि सेप्टिक ट्याङक सरसफाइको काममा खटिईरहनु भएको छ । सेप्टिक ट्याङ्कर देखि सेप्टिक ट्याङ्कसम्म पाइप फिजाउने, सेप्टिक ट्याङ्कको ढक्कन खोलेर दिसाजन्य लेदो तान्ने, खाली भैसकेपछि ढक्कन लगाउने र पाइप उठाएर पुरानै अवस्थामा राख्ने उहाँको जिम्मेवारी हो ।
दिसाजन्य लेदो सँग प्रत्यक्ष संलग्न भएर काम गरिरहनु भएका माझीको न खुट्टामा गम्बुट थियो, न हातमा पन्जा, न त मास्क नै । कुनै सुरक्षा सामग्री बिनै सेप्टिक ट्याङ्क सफाइको काम गरिरहनु भएका माझीले हात धुन समेत साबुनपानीको प्रयोग गरेको भेटिएन ।
सेप्टिक ट्याङ्कीमा बर्षौसम्म जम्मा भएर बसेको दिसाजन्य लेदो खाली गर्ने काम एकदम जोखिमपूर्ण भए पनि अधिकांश सरसफाइकर्मी कुनै पनि भरपर्दो सुरक्षात्मक उपाय बिनै काम गर्छन् । अनौपचारिक क्षेत्रमा काम गर्ने सरसफाइकर्मीसँग व्यक्तिगत सुरक्षा साधनकै अभाव छ भने औपचारिक क्षेत्रका सफाइकर्मीले समेत नियमित प्रयोग गर्दैनन् ।
कार्यस्थलमा आफू सुरक्षित हुनाका लागि सरसफाइकर्मीले व्यक्तिगत सुरक्षा सामाग्रीहरु प्रयोग गर्नुपर्छ भने प्रयोग भैसकेपछि साबुन पानीले सफा आफ्ना उपकरणहरु र आफूले लगाएका पोशाकहरु सफा गर्नुपर्छ । ‘सेप्टिक ट्याङ्क सफा गर्ने बेला छुट्टै पोशाक लगाउनुपर्छ । यदि छुट्टै पोशाक छैन भने काम बाट फर्केपछि लुगा फेर्नुपर्छ’ सरसफाइकर्मीहरुको पेशागत स्वास्थ्य र सुरक्षा सम्बन्धी वकालत गर्दै आउनु भएका राम डंगोल भन्नुहुन्छ ‘नियमित नुहाउने, लुगा र जुत्ता धुने, काममा प्रयोग भएका उपकरण र औजार धुने, व्यक्तिगत सुरक्षा सामाग्रीको सफाइ र निर्मलीकरण गर्ने काम गर्नुपर्छ ।’
सरसफाइकर्मीको कामको विशेषता अनुसार कार्यस्थलमा लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामग्री पनि फरक फरक हुने डंगोलले बताउनुभयो । उहाँका अनुसार सेप्टिक ट्याङ्क सफाइ गर्ने सरसफाइकर्मीले मास्क, एप्रोन, पन्जा, गम्बुट, चश्मा, हेलमेट र रिफ्लेक्टिव ज्याकेट लगाउनुपर्छ ।
सरसफाइकर्मीले उल्लेखित सुरक्षा सामग्री उपयुक्त तरिकाले लगाएको खण्डमा कार्यस्थलमा हुन सक्ने विभिन्न दुर्घटना र भविश्यमा लाग्न सक्ने दिर्घ रोगबाट पनि बच्ने सक्ने उहाँको भनाइ छ । सेप्टिक ट्याङक सरसफाइमा काम गर्ने सरसफाइकर्मीमा जैविक जोखिम, रसायनिक जोखिम, भौतिक जोखिम र मानसिक जोखिम रहने उहाँको भनाइ छ ।
‘जैविक जोखिम अन्तर्गत स्वास्थ्यमा नकारात्मक असर गर्ने भाइरस, ब्याक्टेरिया, हेल्मिन्थ, प्रोटोजोवा, किटपतंग, जनावर र कूहिने ठोस पदार्थले गर्दा छाला चिलाउने, श्वासप्रश्वास प्रणाली, छाला र आँखामा संक्रमण फैलिने सम्मको असर हुन सक्छ’ डंगोल भन्नुहुन्छ ‘सेप्टिक ट्यांकी विषाक्त ग्याँसले भरिएको हुनसक्छ र यस्तो ठाउँमा अक्सिजनको अभाव हुन्छ । यस्तो ठाउँमा काम गर्दा टाउको दुख्ने, ज्वरो आउने दम, रिंगटा लाग्ने हुनसक्छ ।’