काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले रातीको समयमा मेलम्ची खानेपानीको पाइपलाइन बिछ्याउने कार्यको छड्के अनुगमन गर्नु भएको छ।
सो क्रममा उहाँले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिच्छ्याइएका ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिनुभएको छ ।
स्थानीय इन्द्रचोक, जनबहाल, नयाँ सडक, असन लगायत स्थानमा भैरहेको पाइपलाइन बिछ्याउने कामको गयराती छड्के अनुगमन गरेपछि उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । साथै उहाँले चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । गुणस्तर सुनिश्चित नहुँदा धेरै स्थानमा पानी चुहिएको र पानी चुहिएका स्थानमा यथाशीघ्र मर्मत सम्भार गर्न उहाँले निर्देशन दिनुभयो ।
छड्के अनुगमनमा खानेपानी मन्त्री यादवका साथ खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका कर्मचारी लगायत हुनुहुन्थ्यो ।