फलाखुको मुहानमा पुगेर खानेपानीमन्त्री यादवले भने ‘योजनाबद्ध ढंगले काम अगाडि बढाईनेछ’

  वास खबर सम्बाददाता  204 पटक हेरिएको

नुवाकोट : खानेपानी मन्त्री प्रदीप यादवले नुवाकोटमा बाढी र पहिरोले क्षतिग्रस्त विदुर खानेपानी आयोजनाको मुहानको स्थलगत अवलोकन गर्नु भएको छ । उहाँले तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कार्यहरूको योजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भएको हो।

नुवाकोटको विदुर नगरपालिकाभित्रका ४५ सय घरधुरीले पिउँदै आएको फलाखु खोलाको मुहानमा पुगेर मन्त्री यादव सहितको टोलीले आयोजनालाई प्रभावकारी रूपमा अगाडि बढाउने आफूले प्राविधिक टोली खटाउने बताउनुभयो।

विदुर नगरपालिका भित्र खानेपानी उपलब्ध गराउँदै आइरहेको विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मार्फत सञ्चालित खानेपानी ल्याइएको फलाखु खोलाको बाँधस्थल र पाइपलाइनमा बाढी र पहिरोले गरेको क्षतिको पुनर्निर्माण तथा खानेपानीको बाँध निर्माणको लागि मन्त्री यादव सहितको टोलीले स्थलगत निरीक्षण गर्नु भएको हो ।

उहाँले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग, सहजीकरण तथा योजना कार्यान्वयनमा सहयोगको प्रतिबद्धता जनाउनु भएको हो । उहाँले पिउने पानी महत्त्वपूर्ण रहेको र यसको मर्मत तथा पुनर्निर्माण कार्यहरूलाई सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गर्ने आश्वासन दिनु भएको हो ।

सोही क्रममा विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीमन्त्री प्रदीप यादव समक्ष विभिन्न आठ बुँदे माग सहित ज्ञापनपत्र बुझाउनु भएको हो । खानेपानीको फलाखु मुहान अवलोकनमा पुगेका मन्त्री यादवलाई बाँधस्थलमै संस्थाका अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठले विदुर नपाका मेयर राजन श्रेष्ठको उपस्थितिमा ज्ञापनपत्र बुझाउनु भएको हो ।

समितिले मन्त्री यादव समक्ष बुझाएको ज्ञापन पत्रमा खानेपानीमा प्रयोग हुने विद्युत् महसुल ५० प्रतिशत छुट हुनुपर्ने, साना सहरी अन्तर्गत लगानी भएको आयोजनामा नगर विकास कोषको ऋणमा ब्याज मिनाहा हुनुपर्ने र आयोजनामा उपभोक्ता समितिले व्यहोर्नुपर्ने २५ प्रतिशत ऋणभारलाई हटाई १० प्रतिशत गर्नुपर्ने लगायतका माग छन्। सफा र स्वच्छ खानेपानी प्राप्त गर्नु हरेक नागरिकको नैसर्गिक अधिकार भएको हुँदा उपभोग गर्ने घरधुरी र जनसंख्याको आधारमा खानेपानी उपभोक्ता संस्थालाई राज्यबाट व्यवस्थापन खर्च वार्षिक रूपमा प्राप्त हुनुपर्ने माग रहेको छ।

विदुर खानेपानीको मुख्य मुहान फलाखु खोलाको किनारामा रहेको १ हजार ५ सय मिटर पाइपलाइन हरेक वर्ष बाढी पहिरोबाट क्षतिग्रस्त भइरहने हुने हुँदा वार्षिक रूपमा संघीय सरकारबाट मर्मत सम्हारको लागि ५० लाख रुपैयाँ मर्मत खर्च छुट्ट्याउनुपर्ने, विदुर नपाको सात वटा वडाको २५ हजार जनताको खानेपानीसँग जोडिएको तादी खोलाको किनारमा निर्माणाधीन सम्बवेल खानेपानीको १६ इन्च पाइप लाइनलाई सम्भव भएसम्म सबै पाइप लाइन सौर्य ऊर्जाबाट चल्ने सम्भव नभए विदुर नपा-५ को पीपलटारको सात सय घरधुरीसँग जोडिएको ४ इन्च पाइप लाइनलाई सौर्य ऊर्जाबाट सञ्चालन गनुपर्ने माग गरेका छन्।

मन्त्री यादव सहितको टोली पहिलो पटक विदुर खानेपानीको फलाखु मुहान अवलोकनमा पुगेका हुन्। मन्त्री यादवले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। फलाखु मुहानबाट विदुर नगरपालिकास्थित विदुर, बट्टार, त्रिशूलीका बासिन्दालाई पानी वितरण गरिँदै आएको छ। तर, उक्त मुहानमा वर्षातको समयमा बाढी र पहिरोले क्षतिग्रस्त हुने गरेको संस्थाका सचिव राजेन्द्र पाण्डेले बताउनुभयो।

गत साउन १० र ११ गते आएको अविरल वर्षातका कारण पनि निकै ठूलो क्षति हुन पुगेको थियो। त्यसबेला मर्मतका लागि तीन महिना समय लागेको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार