पोखरा : पोखराको लेकसाईड रोडको सेदी हाईट स्थित ‘वाटर फ्रण्ट’ नामक रिसोर्ट विगत १५ बर्ष यता सञ्चालनमा छ । रिसोर्टको आँगन नै फेवाताल भन्दा फरक नपर्ने यो रिसोर्टको भौगोलिक अवस्थिति छ ।
५८ वटा डिलक्स रुमहरु रहेको यो रिसोर्टमा ७० हाराहारीमा शौचालयहरु छन् । यत्ति धेरै शौचालयबाट निष्काशन हुने फोहोरपानी रिसोर्टको परिसर भित्रै विकेन्द्रित फोहोरपानी प्रशोधन प्रणाली -Decentralized Waste Water Treatment System (DWATS) निर्माण गरी सुरक्षित तरिकाले व्यवस्थापन गरिएको छ ।
रिसोर्टले शौचालयको दिसाजन्य लेदो (कालो पानी) र भान्छा तथा कपडा धुँदा निष्काशन हुने पानी (खैरो पानी) का लागि अलग अलग संरचना निर्माण गरी सुरक्षित तवरले व्यवस्थापन गर्दै आएको छ।
रिसोर्टका अपरेसन म्यानेजर अमृत बि.सी.का अनुसार फोहोरपानी व्यवस्थापन गर्न थालेको अहिले मात्र होइन, रिसोर्ट सञ्चालनमा आएकै दिन देखि फोहोरपानीको पनि उचित व्यवस्थापन गर्न थालिएको थियो । रिसोर्ट सञ्चालन गर्ने अवधारणाको विकास हुँदा नै फोहोरपानी व्यवस्थापनका बिषयमा पनि योजनाबद्ध तरिकाले काम भएको उहाँको दाबी छ ।
सोही अनुसार यु.एन.ह्याबिटाटको प्राविधिक सहयोगमा रिसोर्ट परिसरमै विकेन्द्रित फोहोरपानी प्रशोधन प्लान्ट निर्माण गरी नियमित सञ्चालन भैरहेको उहाँले बताउनुभयो । यसका लागि पहिलो सेप्टिक ट्याङ्क २० हजार लिटर क्षमताको निर्माण गरिएको छ भने त्यसपछि अघिल्लो चरणमा प्रवेश गर्न करिब १० वटा ब्याफलहरु निर्माण गरिएको छ ।
सेप्टिक ट्याङ्क, जहाँ दिसाजन्य लेदोको मात्र जम्मा हुन्छ । त्यसको बर्षेनी वा बर्षमा २ पटक खाली गर्ने गरिएको छ भने अन्य ब्याफलहरु पनि सफा गरिदै आएको उहाँले बताउनुभयो ।
यत्ति धेरै शौचालयको दिसाजन्य लेदो प्रशोधन गर्न रिसोर्टको कम्पाउण्ड भित्रै कसरी सम्भव भएको छ ? यसबाट प्रशोधित पानी र ठोस पदार्थको व्यवस्थापन कसरी गरिदै आएको छ ? के यो महँगो प्रविधि हो ? यसको सञ्चालनका लागि कस्तो खालको जनशक्तिको आवश्यकता पर्दछ ? यसबारेमा बताउँदै हुनुहुन्छ, वाटर फ्रण्ट रिसोर्टका अपरेसन म्यानेजर अमृत बि.सी.