भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकामा खानेपानी गुणस्तर परिक्षण मिनी प्रयोगशाला स्थापना गरिएको छ । प्रयोगशालामा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ मा उल्लेखित २७ वटा मध्ये धमिलोपन, हाइड्रोजन विभव (Ph), विद्युतीय संवाहकता, फलाम, क्लोराइड, अमोनिया, नाइट्रेट, सल्फेट, आर्सेनिक, क्लोरिन अवशेष, कुल कडापन, इकोली, कुल कोलिफम जस्ता आधारभूत पारामितिहरु परिक्षण गर्न सकिनेछ।
नगरपालिकामा सञ्चालित सुरक्षित पानी र उत्थानशील नगरपालिका -Building a Water Safe Resilient Municipality (SARWACHA) सर्वोच परियोजना सँगको साझेदारीमा खानेपानी गुणस्तर परीक्षण मिनी प्रयोगशाला शुभारम्भ गरिएको नगरपालिकाको वास शाखा संयोजक सुरेन्द्र लामिछानेले जानकारी गराउनुभयो । मिनी ल्याबले नगरबासीहरुलाई सुरक्षित खानेपानीमा पहुँच पुर्याउन सहयोग पुग्ने उहाँले बताउनुभयो । ‘सरकारले लिएको दिगो बिकास लक्ष्य ६.१ अन्तर्गत “सबैका लागि सुरक्षित खानेपानी सुनिश्चित गर्ने” उद्देश्य हासिल गर्न यस कार्यले सहयोग पुग्नेछ’ वास संयोजक लामिछानेले भन्नुभयो ।
मिनी प्रयोगशालालाई दिगो रुपमा संचालन गर्नको लागि चाँगुनारायण नगरपालिकाले खानेपानी गुणस्तर अनुगमन तथा गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन कार्यबिधि २०८१ समेत स्वीकृत गरि सकेको छ । थप अन्य पारामितिहरु परीक्षणको लागि ल्याबको क्षमता थपिदै लगिने उहाँले बताउनुभयो ।
हाल नगर क्षेत्र भित्रको खानेपानी गुणस्तर परीक्षण सेवाको लागि अन्य ठाउँमा रहेको परिक्षण प्रयोगशालामा जानु पर्ने बाध्यता रहेको छ । सुरक्षित खानेपानी बारे जनचेतना अभिबृद्धि गरी जनस्वास्थ्य सुधारमा योगदान गर्ने उदेश्यले मिनी ल्याब स्थापनाको अवधारणा विकास गरिएको हो ।
शुल्क तिरेर सेवा लिन सकिने
मिनी ल्याबमा खानेपानीको गुणस्तर परिक्षण गरे वापत नगरपालिकाले निर्धारण गरेको शुल्क तिरेर सेवा लिन सकिनेछ । नगर क्षेत्र र बाहिरको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु, बिद्यालयहरु, स्वास्थ्य संस्थाहरु, होटल व्यवसायीहरु, निजी जारको पानी उत्पादन र बिक्री वितरण गर्ने कम्पनीहरु, टंयाङ्कर व्यवसायीहरु लगायत अन्य संघ संस्थाहरुले समेत खानेपानी गुणस्तर परिक्षणको लागि नगरपालिकाबाट सञ्चालित ल्याबबाट सेवा लिन सकिनेछ ।
ल्याब मार्फत प्रदान गरिने सेवाबाट खानेपानी सुरक्षा योजनाको कार्यान्वयन, सुरक्षित खानेपानी समुदाय सुनिश्चित, तीन तारे विद्यालय निर्माणमा समेत सहयोग पुग्ने वास संयोजक लामिछानेले बताउनु भयो ।
खानेपानी गुणस्तर परीक्षण मिनी ल्याब सञ्चाालनको लागि नगरपालिकाको तर्फबाट खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) शाखाले आवश्यक समन्वय र सहजीकरणको लागि काम गर्ने जानकारी दिनुभयो ।
उदघाटन कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले सुरक्षित खानेपानी प्रणालीको दिगोपनको लागि निजी, वित्तीय क्षेत्रहरू र स्थानीय समुदायहरूसँग मिलेर सहकार्यका कार्यक्रमहरु अगाडि बढाई रहेको बताउनुभयो ।
भक्तपुर जिल्लामा रहेको नगरपालिकाहरु मध्ये चाँगुनारायण नगरपालिका खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला संचालनमा ल्याउने पहिलो नगरपालिका हो भने काठमाण्डौं उपत्यकाको तेस्रो नगरपालिका हो । यस अघि गोदावरी र महालक्ष्मी नगरपालिकाले खानेपानी गुणस्तर परीक्षण ल्याब संचालनमा ल्याई सकेका छन् ।
चाँगुनारायण नगरपालिकासंगको समन्वय र लागत साझेदारीमा नेदरल्याण्डको Dopper को आर्थिक सहयोगमा विभिन्न संस्थाको सहयोगमा ल्याब सञ्चालनमा ल्याएएको हो ।