लिफ्ट खानेपानीले सिफ्ट गरेको दैनिकी

  वास खबर सम्बाददाता  118 पटक हेरिएको

धनकुटा : मोरङको पाटीगाउँ थामडाँडाकी कल्पना राईको केही समयअघिसम्मको दिनचर्या खानेपानीको जोहो गर्दैमा बित्थ्यो । घरपरिवार र वस्तुभाउका लागि दैनिक दुई पटक घरभन्दा डेढ किलोमिटर तलको मूलबाट पानी ओसार्नु उहाँको बाध्यता थियो । एक पटक पानी ओसार्दा करिब तीन घण्टा खर्चनु पथ्र्यो ।

अहिले लिफ्टिङ आयोजनाको पानी घरघरै आउन थालेपछि उहाँको दैनिकी फेरिएको छ । तीन घण्टा लगाएर पानीको जोहो गर्नुपर्ने समस्याको अन्त्य भएपछि कल्पना निकै खुसी हुनुहुन्छ । जीवन निकै सहज भएको महसुस गर्दै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अब घर घरमा नै पानी आउन थालेको छ । गाउँका महिलाको बचेको समय कृषिकर्ममा लगाएर आयआर्जन बढाउनेतर्फ सोच्न थालेका छौँ ।”

सोही गाउँका मोहन राईको घर वरिपरि यतिबेला दुई हजारभन्दा बढी दुई र अढाई लिटरका पानीले भरिएका बोतलले भरिएको हुन्थ्यो । बर्खामा जम्मा गरेर बोतलमा राखिएको पानी हिउँदमा खान र वस्तुभाउलाई खुवाउन प्रयोग हुने गरेको थियो तर अहिले उहाँलाई पनि हिउँदका लागि बर्खामै पानी जोहो गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । हिउँदमा पानी खान र चलाउन अब बर्खामै बोतलमा जम्मा गरेर राख्नु नपर्ने राईको भनाइ छ । उहाँ भन्नुहुन्छ, “पहिले हिउँदमा पानी खान र चलाउन बर्खामै जम्मा गरेर राख्नु पर्दथ्यो तर अब दिन बिराएर घरको धारामा पानी आउँछ, त्यति दुःख गर्नु पर्दैन ।”

दक्षिणी धनकुटा र उत्तरी मोरङको सीमा क्षेत्रमा पर्ने यो गाउँमा अहिले खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयले बर्सौंअघिदेखि भोग्दै आएको खानेपानीको समस्या अन्त्य भएको छ । गाउँमा खानेपानी डिभिजन कार्यालय सुनसरीले करिब एक करोड रुपियाँको लगानीमा डेढ किलोमिटर तलबाट पानी तानेर ल्याएको छ । पाँच वर्षअघि सुरु भएको सो योजनामार्फत करिब दुई हजार मिटरको उचाइमा रहेको जैतुन पार्क क्षेत्रमा एक लाख २० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरी गाउँमा धारामार्फत वितरण गरिएको निर्माण समितिका अध्यक्ष श्रीजन राई बताउनुहुन्छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–५ र मोरङको केराबारी गाउँपालिका–१, पाटीगाउँमा पर्ने यो क्षेत्रका करिब एक सय परिवार खानेपानीको समस्याबाट मुक्त भएका हुन् । थामडाँडा, सुर्के र जैतुन पार्क क्षेत्र गरी तीन टोलमा करिब एक सय परिवारको बसोबास छ । यहाँ सबै उपभोक्तालाई एक दिन बिराएर पानी वितरण गर्ने गरिएको स्थानीय पानी वितरक रविन राई बताउनुहुन्छ ।

लामो समयसम्म पानीको समस्या भोगेका स्थानीय अब भने व्यावसायिक कृषिमा समय खर्चिन सक्ने बताउँछन् । गोरखापत्रले यो खबर प्रकाशन गरेको छ। पानीकै कारण यहाँका स्थानीयले कृषि पेसालाई व्यावसायिक बनाउन सकेका थिएनन् ।  ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार