ढुङ्गेधारामा बाह्रै महिना पानी आउने बनाउन राजकुलो पुनः निर्माण सुरु

  वास खबर सम्बाददाता  215 पटक हेरिएको

ललितपुर : ललितपुरका प्राचीन धरोहर लिच्छवीकालीन ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना अनुरुप ललितपुर महानगरपालिकाले लगनखेलबाट टीकाभैरवसम्म राजकुलो पुनः निर्माण सुरु गरेको छ।

राजकुलो विस्तारका लागि महानगरले २२ करोड बजेट छुट्टयाएको छ। महानगरका प्रमुख चिरिबाबु महर्जनले लगनखेलबाट टीका भैरवसम्मको १४.२ किलोमिटर राजकुलो विस्तार जारी रहेको तथा हालसम्म छ करोडको लागतमा तीन दशमलव ४४ किलोमिटर कुलो खनिएको जानकारी दिए। वि.सं. २०२७ सालमा चक्रपथ विस्तार गर्ने क्रममा कुलो मासिएको थियो।

लगनखेलको सप्ताताल पोखरी पुनः निर्माण गरी राजकुलोको पानी त्यहाँ जम्मा गरिने र त्यहाँबाट आसपासका ढुङ्गेधारामा पानी झार्ने महानगरको योजना रहेको उहाँले सुनाउनुभयो। महानगरप्रमुख महर्जनका अनुसार ललितपुरमा हालसम्म ५० भन्दाबढी ढुङ्गेधारा छन्। आल्को हिटी, कोन्टी हिटी, च्यासः हिटी, टङ्ग हिटी, पुच्व हिटी, जावलाखेल हिटी, लगनखेल हिटी, गइटल हिटी र मङ्गल हिटी सातौँ शताब्दीमा निर्माण भएका हुन्।

मङ्गल हिटीमा बाह्रैमास पानी आउने गरेको छ। ललितपुर महानगरपालिका–६ सुन्धाराका सन्तमान महर्जनले ढुङ्गेधारामा बाह्रै महिना पानी ल्याउने योजना चाँडोभन्दा चाँडो कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।

ललितपुर महानगरपालिका–६ र  वडा नं. १७ मा पर्ने सुन्धारा टोलमा अवस्थित लिच्छीविकालदेखिको ऐतिहासिक सुन्धारा (लँ हिति) अहिले सुकेको छ। तीनवटा धारा रहेको सुन्धारामा सात महिना मात्रै पानी आउने स्थानीय राज श्रेष्ठले बताउनुभयो।

ललितपुरको सम्पदा र पहिचान जोगाउन ‘ऐतिहासिक ढुङ्गेधारा संरक्षण गर्नु सबैको दायित्व’ निर्वाह गर्नुपर्ने ठानेर २०६५ सालमा ललितपुर महानगरपालिका र स्थानीय जनसमुदायले लँ हिटी पुनः निर्माण गरेका थिए। पुनः निर्माण पश्चात बाह्रैमास धारामा पानी झरे पनि केही वर्ष यता पानी आउन छाडेको छ।

ललितपुरका स्थानीय राजकुलो भत्काएर विभिन्न संरचना निर्माण गरिँदा ऐतिहासिक ढुङ्गेधारा सुक्ने अवस्थामा पुगेको बताउँछन्। ललितपुर महानगरपालिका–६ का स्थानीय रमेश श्रेष्ठ घर तथा सडक निर्माण गर्दा राजकुलो जोगाउनुपर्ने बताउनुहुन्छ ।

लिच्छिवीकालदेखिको इतिहास बोकेका ढुङ्घेधारा संरक्षण गर्नु ललितपुर महानगर सहित जिम्मेवार निकायले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार