तादीखोला लिफ्ट खानेपानी आयोजनाका झण्डै १३ करोडको स्रोत सुनिश्चित

  वास खबर सम्बाददाता  195 पटक हेरिएको


नुवाकोट : नुवाकोटको तादीखोला नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानी आयोजनाका लागि कुल १२ करोड ९४ लाख रुपैयाँ बजेटको स्रोत सुनिश्चित भएको छ। नुवाकोटको साततले दरबार क्षेत्रका बासिन्दालाई लक्षित गर्दै सुरु गरिएको तादीखोला नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानी आयोजनाका लागि आवश्यक झन्डै १३ करोड रुपैयाँको बजेटको स्रोत सुनिश्चित भएको विदुर नगरपालिका कार्यालयले जनाएको छ।

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले बजेटको व्यवस्थापन सुनिश्चित गरेको हो। नुवाकोट दरबार क्षेत्रका स्थानीय ५ सय १२ घरपरिवारका २ हजार ५ सय ६० जना जनसंख्यालाई लक्षित गरी यो खानेपानी आयोजना सुर भएको हो ।

विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठका अनुसार बागमती प्रदेश खानेपानी तथा सरसफाइ आयोजनाको मापदण्ड अनुसार उक्त आयोजनालाई २ देखि ३ वर्षभित्र सम्पन्न गर्नुपर्ने लक्ष्य रहेको छ। ठेक्का बन्दोबस्त गर्नुअघि स्रोत सहमति स्वीकृत गराउनु पर्ने प्रक्रिया समेत पूरा भइसकेको मेयर श्रेष्ठले बताउनुभयो।

आयोजनाको कुल लागत १२ करोड ९४ लाख ५८ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । उक्त खानेपानी आयोजना सम्पन्न भएपछि सो स्थानका लागि कोसेढुंगा सावित हुने स्थानीयवासी वीरेन्द्रकुमार शाहीको अपेक्षा छ ।

आयोजनाले पानीको समस्या झेलिरहेका स्थानीयलाई दीर्घकालीन समाधान दिन महत्त्वपूर्ण भूमिका खेल्ने शाहीले बताउनुभयो। मेयर राजन श्रेष्ठको पहलमा ‘तादीखोला नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानी आयोजना’ विदुर–२ नुवाकोट दरबार क्षेत्रमा खानेपानी सेवा सहज बनाउन सुरु गरिएको विदुर नगरपालिकाले जनाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार