प्युठान : पहिले खान लाउन दुःख थियो । निर्वाह गर्न बहुत मुश्किल थियो । यस्तो काम थालिन् कि त्यो कामले जापान पनि घुमायो, घरबार पनि बनायो, सन्तान पनि पढायो । त्यो काम हो साबुन उद्योग ।
अहिले ५२ वर्षकी भइन् दुर्गा । १४ वर्ष अघि उनले प्युठान नगरपालिकामा साबुन उत्पादन गर्न थालिन् । लरतरो होइन, चिउरीको साबुन । ०५९ साल देखि अहिलेसम्म चिउरीको साबुन बनाउँछिन् । बेच्छिन् । नेपालमा भन्दा धेरै जापान निर्यात हुन्छ उनले बनाएको साबुन ।
साबुन उद्योगको नाम हो झिमरुक हर्बल साबुन उद्योग । यो घरेलु उद्योगले चिउरी, मह र स्प्रीट प्रयोग गरेर साबुन बनाउँछ । नुहाउने साबुन हो यो । यसमा कुनै कडा केमिकल प्रयोग गरिएको हुँदैन भन्छिन् दुर्गा । साबुन बनाउन दुईजना सहयोगी पनि राखेकी छिन् ।
दुर्गाले बहुत दुःखसाथ यो उद्योग थालेकी थिइन् । श्रीमान धेरै रक्सी पिउँथे, पछि रक्सीकै कारण उनको ज्यान गयो । तीन छोराछोरी पढाउने र बढाउने जिम्मेवारी उनकै काँधमा थियो । दुःखका ती दिनमा उनले एउटा खबर पाइन् तालिमको ।
०५८ सालको कुरा हो ।
जिल्ला घरेलु तथा साना उद्योगले साबुन बनाउने तालिम दिने भयो । दुर्गाले पनि तालिम लिइन् । तालिम लिने अरु कता गए कता, दुर्गाले चाहिँ सानो उद्योग नै थालिन् ।
उद्योग थाल्न पैसा थिएन । प्युठानमै सबै कच्चा पदार्थ पाइँदैनथ्यो पनि । ४५ हजार रुपैयाँ जुटाएपछि दुर्गाले उद्योग थालिन् । सुरुमा विक्री भएन । हरेस खाइनन् । साबुन बनाउँदै गइन् । अलिअलि विक्री हुँदै गयो ।
उनको सम्पर्क भयो काठमाडौंको महागुठी भन्ने संस्थासँग । यो संस्थाको सहयोगमा साबुन जापान पठाउन थालिन् । त्यसपछि निरन्तर साबुन बनाउन थालिन् । जिल्लामा नबिके निर्यात हुने भयो ।
दुर्गा तौलको आधारमा साबुन विक्री गछ्र्रिन् । ८० ग्राम साबुनको ४० रुपैयाँ, ७० ग्रामको साबुन ३० रुपैयाँ ।
कति आम्दानी भयो ? दुर्गा मुसुक्क हाँसेर भन्छिन्, ‘थाहा छैन ।’
वास्तवमै थाहा छैन । हिसाब राख्ने फुर्सद नै भएन दुर्गालाई । दुई छोरी र एक छोरालाई पढाइन्, बढाइन् यही साबुन उद्योगको आम्दानीले ।
यति मात्रै हो त आम्दानी ? अहँ, होइन । साबुन उद्योगकै आम्दानीले घर घडेरी पनि जोडिन् ।
सानो लगानीको सानो उद्योगले पनि उनको जीवनमा क्रान्ति भयो । साबुन उद्यमीका रुपमा एकपटक जापान घुम्ने अवसर समेत पाइन् । अनि, देशका विभिन्न भाग घुम्ने अवसर पनि पाइन् ।
दुर्गाको साबुन उद्योग हिउँदमा भने सुस्त हुन्छ । किनकि पर्याप्त चिउरी फल्दैन । तर, अरु याममा भने भ्याईनभ्याई हुन्छ ।
दुर्गालाई अब साबुन विक्री बढ्ने आशा छ किनकि स्थानीय सरकार शक्तिशाली छ । स्थानीय सरकारले स्थानीय उद्योगलाई प्रवद्र्धन गर्छ भन्ने उनलाई लागेको छ ।
कहिले सम्म गर्ने त यो साबुन उद्योग ? दुर्गा भन्छिन्, ‘यो साबुनले मलाई जीवन दियो, सकुन्जेल र बाँचुन्जेल यो उद्योग गर्छु ।’
साभार : हाम्रो कथा डट कम