काठमाडौ : देशका विभिन्न भेगमा आएको बाढी पहिरो पछि फैलिन सक्ने हैजा, झाडापखाला, आँउ, टाइफाईड, हेपाटाइटिस ए र ई तथा मलेरिया लगायत सरुवा रोगबाट बच्न विशेष ख्याल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै रोगबाट बच्ने उपायहरु अपनाउन सबै नागरिक समक्ष आग्रह गरेको हो । फोहोर तथा पानी जन्य रोगहरुबाट बच्न मन्त्रालयले निम्न कुराहरुमा ध्यान दिन आग्रह गरेको छ ।
१. पानीलाई राम्ररी उमालेर वा क्लोरिन झोल वा ट्याब्लेटको प्रयोग गरी शुद्धीकररण गरेर मात्र पिउने, खानेपानीलाई सधैं सफा भाँडामा छोपेर राख्ने ।
२. खानेपानीको मुहानलाई सफा गरी क्लोरिन वा ब्लिचिङ पाउडर हालेर पानी शुद्धीकरण गर्ने ।
३. गाईभैसीको दुध राम्ररी उमालेर मात्र पिउने ।
४. सफा र राम्ररी पकाएको खानेकुरा मात्र खाने ।
५. झाडापखालाको प्रकोपको समयमा सकभर काँचो खानेकुराहरु नखाने, खानै परेमा काँचो खानेकुराहरु जस्तै मूला, गाँजर, काँक्रो र सागपातलाई सफा पानीले राम्ररी पखालेर मात्र खाने ।
६. बासी सडेगलेका खानेकुरा नखाने र मरेका माछा, घोंघी, तथा पशुपंक्षीको मासु नखाने ।
७. मरेका पशुपंक्षीलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने ।
८. खाना खानु, खुवाउनु र खाना तयार गर्नु अगाडि दिसा पिसाब गरेपछि, फोहोर वस्तु चलाएपछि र विरामीको हेरचाह गर्ने व्यक्तिले साबुनपानीले राम्ररी हात धुने ।
९. चर्पी बनाई सबैले चर्पीमा मात्र दिसापिसाब गर्ने र बच्चाको दिसापिसाब पनि चर्पीमा नै विसर्जन गर्ने ।
१०. लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने ।
११. स्वास्थ्य सेवाहरु जस्तै खोप, परिवार नियोजन, क्षयरोग, कु्ष्ठरोग, गर्भवती प्रसुति सेवाहरु नियमित रुपमा उपयोग गर्ने ।
१२. नियमित रुपमा औषधी लिइरहेका व्यक्तिहरुले औषधी नछुटाइकन सेवन गर्ने ।
१३. नवजात शिशु, बच्चा, गर्भवती तथा सुत्केरी महिलाको विशेष ख्याल राख्ने ।
१४. आमाको दुध पिउने शिशुहरुलाई नियमित रुपमा स्तनपान गराउने ।
१५. सेवा र सल्लाहको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने ।
अरु बेलामा भन्दा विपदको समयमा विभिन्न रोगको प्रकोप फैलिन सम्भावना धेरै हुने भएकाले स्वास्थ्यमा विशेष ख्याल राख्न डाक्टरले आग्रह गरेका छन् ।