काठमाडौ १५ वैशाख । यसबर्षको सफा शहर छनौटका लागि १४ वटा नगरपालिकाले मात्र प्रस्ताव पेश गरेका छन् । दोस्रो पटक थप गरिएको समयभित्र पनि उल्लेख्य प्रस्ताव प्राप्त नभएको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले बताउनुभयो ।
प्रस्ताव पेश गर्न शुरुमा एक महिनाको समय दिइएको थियो । त्यस अवधिमा उल्लेख्य मात्रामा प्रस्ताव नपरेपछि दोस्रो पटक चैत्र २९ गते १५ दिनको समयावधि थप गरिएको थियो तर थप गरिएको समयमा समेत उल्लेख्य मात्रामा प्रस्ताव नआएको कार्यकारी निर्देशक ज्ञवालीले बताउनुभयो ।
सफा शहर छनौटका लागि भरतपुर, रेसुङ्गा, धरान, इटहरी, पोखरा, बुटवल, घोरही लगायत नगरपालिकाले प्रस्ताव पेश गरेका छन् । प्रस्तावमा भाग लिन खुल्ला दिसामुक्त हुनैपर्ने न्यूनतम मापदण्ड भएकाले पनि यस प्रक्रियामा सामेल नभएको हुन सक्ने उहाँले बताउनुभयो । पहिले खुला दिसामुक्त भएका नगरपालिकामा समेत अन्य गाविस गाभेर नगरपालिकाको क्षेत्र विस्तार गर्दा खुला दिसामुक्त नगरपालिका नभएको र सोही कारण मापदण्ड नपुगेकाले थोरै नगरपालिकाले मात्र यस प्रक्रियामा भाग लिएको उहाँको भनाइ छ ।
विभिन्न सूचकहरुको आधारमा सफा शहर छनौट गरी विश्व वातावरण दिवसका दिन यो पुरस्कार दिइदै आएको छ । प्राप्त प्रस्तावहरु माथि अध्ययन गरी फोहरमैला व्यवस्थापन, खानेपानी तथा ढल व्यवस्थापन, प्रदुषण नियन्त्रण, हरियाली प्रवद्र्धन तथा शहरको सौन्दर्य अभिबृद्धिमा गरेको काम लगायतको मूल्याङ्कन गरी सफा शहर छनौट गरिदै आएको छ ।
सन् २०१४ देखि शुरू गरिएको यस कार्यक्रममा शुरुमा पोखरालाई सफा शहर घोषणा गरिएको थियो । त्यसपछि दोस्रो बर्षमा मकवानपुरको हेटौंडा नगरपालिका सफा शहर हुन सफल भएको थियो । हरेक बर्ष प्रथम, द्धितिय र तृतीय शहर छुट्याई नगद पुरस्कार प्रदान गर्दै आएको छ । यस बर्ष प्रथम हुने शहरलाई १० लाख, दोस्रोलाई ६ लाख र तेस्रोलाई ४ लाख नगद पुरस्कारको व्यवस्था गरिएको छ । पुरस्कार रकम फोहोरमैला व्यवस्थापन प्रवद्र्धन गर्ने काममा खर्च गर्न प्रोत्साहित गरिएको छ ।