बझाङ १६ वैशाख । नगरपालिका स्थापना भएको ३ वर्ष पुग्दा पनि फोहोरमैला उचित व्यवस्थापन गर्न नसक्दा जल तथा वायु प्रदूषण बढदै गएको छ । जयपृथ्वी नगरपालिकाको फोहोरलाई सीधै खोलामा मिसाउने र बाल्ने गर्दा वातावरणीय प्रदूषण बढेको हो । नगर क्षेत्रबाट संकलित फोहोरलाई नगरपालिकाले स्थानीय बाहुलीगाड खोला किनारमा अव्यवस्थित रूपमा फ्याल्दै आएको छ । खोला किनारमा थुपारिएको फोहोर सोझै बाहुलीगाडको पानीमा मिसिँदा विभिन्न समस्या देखिन थालेको स्थानीयले गुनासो गरेका छन् ।
सेती नदी र बाहुलीगाड दोभानभन्दा ५ सय मिटरमाथि फोहोर फाल्ने गरिएको छ । उक्त फोहोर सेती नदीमा मिसिन्छ । सदरमुकामलगायत बाहुलीगाड र सेती नदी आसपासका धेरै बस्तीले अहिले पनि नदीबाटै खानेपानी प्रयोग गर्छन् । आसपासका बासिन्दाले नुहाउने र लुगा धुने ठाउँ नै यिनै २ स्रोत हुन् ।
‘धारा नआएको दिन हामीले सेती र बाहुलीगाडकै पानी पिउने हो,’ चैनपुरका रुपेन्द्र रसाइलीले भने, ‘नगरपालिकाले फोहोर फालेपछि यहाँको पानी निकै दूषित भएको छ, यहाँको पानी खाएपछि धेरैलाई झाडापखाला र टाइफाइड हुन थालेको छ ।’ सदरमुकामका धारामा खानेपानी पनि नियमित नआउने र विकल्पका रूपमा प्रयोग गर्दै आएको बाहुलीगाडको पानीमा पनि फोहोर मिसाउनाले निकै समस्या भएको स्थानीयको गुनासो छ । ‘पहिला धारामा पानी नआउँदा बाहुलीगाडबाट ल्याएर खान्थ्यौं,’ बिस्ना नेपालीले भनिन्, ‘फोहोर फाल्न थालेपछि निकै माथि गएर पानी भर्नुपर्ने भएको छ, खोलाको पानी लिन आधा/एक घण्टा लाग्छ ।’
बाहुलीगाडको पानी प्रदूषित हुँदै गएपछि नुहाउँदा छालाजन्य रोगको संक्रमण हुन थालेको स्थानीयले बताए । ‘यहाँको पानीले नुहाएको एक/दुई घण्टापछि जीउ चिलाउन थाल्छ,’ स्थानीय डबल खडाले भने, ‘शरीरमा विमिरा आउने, पाक्ने गर्छ, दुई/तीन वर्षअघि यस्तो हुँदैन्थ्यो ।’ पानी शुद्ध नभए पनि अन्य व्यवस्था नहुँदा त्यही प्रदूषित पानी प्रयोग गर्नुको विकल्प नभएको उनले बताए ।
सुख्खा मौसममा नदी किनारमै थुपारेको फोहोरमा आगो लगाउँदा सदरमुकाम र आसपासका बस्तीमा दुर्गन्धित धुवाँ पुग्ने गरेको छ । ‘फोहोरमा आगो लगाएका बेला घरभित्र पनि बस्न नसकिने गरी गन्हाउने धुवाँ आउँछ,’ बझाङ चौडका वीरेन्द्र बोहराले भने, ‘फोहोरले साह्रै समस्या पार्यो ।’
जयपृथ्वी नगरपालिकाका कार्यकारी अधिकृत अम्मरराज खत्रीले फोहोर व्यवस्थापनका लागि उपयुक्त ल्यान्डफिल्डको खोजी भइरहेको बताए । ‘जनस्वास्थ्यमा असर पर्न सक्छ भनेर जान्दाजान्दै पनि अरू विकल्प नहुँदा बाहुलीगाडलाई रोजेका हौं,’ उनले भने, ‘सकेसम्म छिट्टै व्यवस्थित फोहोर व्यवस्थापन गरी समस्या हटाउने छौं ।’ कान्तिपुर दैनिकबाट ।