लमजुङ : लमजुङको मर्स्याङ्दी गाउँपालिकाले गाउँपालिकाभित्रको फोहोर व्यवस्थापनका लागि फोहोरमैला संकलन तथा व्यवस्थापन केन्द्र निर्माण गरेको छ ।
गाउँपालिकाको वडा नम्बर ८ भुलभुलेमा संकलन तथा व्यवस्थापन केन्द्र संचालनमा ल्याएको हो । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका अनुसार फोहोरमैला व्यवस्थापन नहुँदा वातावरण प्रदुषण हुनुका साथै विभिन्न प्रकारका रोगले संक्रमण गर्ने भएकाले उक्त केन्द्र स्थापना गरिएको हो । ‘हामीले प्रयोग गरेका फाहोरलाई राम्रोसंग व्यवस्थापन गर्दैैनौं ।
यततत्र फाल्छौं । यसले वातावरणमा कस्तो असर पार्छ भनेर कहिल्यै सोच्दैनौं । स्वच्छ वातावरण निर्माणका लागि फोहोरको व्यवस्थापन गर्न आवश्यक छ । गाउँपालिकाभित्रका नागरिक सबैले फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्छ । यसका लागि संकलन केन्द्र बनाएका छौं’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार संकलन केन्द्रमा ल्याएको नकुहिने फोहोर सिसा, बोतल, प्लाष्टिकलाई पुनःप्रयोग गरिनेछ । कुहिले फोहोरलाई छुट्टै व्यवस्थापन गरिनेछ । वडा तथा टोल–टोलमा नकुहिने फोहोर जम्मा गरिने र ट्याक्टरमार्फत संकलन केन्द्रमा ल्याउने उहाँले बताउनुभयो । कुहिने फोहोरलाई भने स्थानीयले घरमै मलखादको रुपमा प्रयोग गरिने र खेतबारीमा हाल्ने उहाँले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ सापकाटाका अनुसार फोहोर मैला संकलन तथा व्यवस्थापन केन्द्र निर्माणका लागि गाउँपालिकाले आर्थिक बर्ष २०७४/०७५ मा १५ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । आर्थिक बर्ष २०७५/०७६ मा ३ लाख रुपियाँ छुट्याएको थियो । कुल १८ लाख रुपियाँको लागतमा केन्द्र निर्माण गरेको उहाँले बताउनुभयो । फोहोर संकलन भवनसंगै शौचालय, खानेपानीको धारा र कुहिने फोहोर राख्ने २ वटा खाल्डो निर्माण गरिएको छ ।
फोहोर संकलनका सहज बनाउन भुलभुलेस्थित सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले आर्थिक बर्ष २०७५/०७६ मा २३ लाख ५५ हजार रुपियाँ सहयोग गरेको र २१ लाख ९० हजार रुपियाँको ट्याक्टर खरिद गरिएको थियो । बाँकी रकम भने अन्य संरचनामा खर्च गरिएको उहाँले बताउनुभयो । कम्पनीका प्रबन्ध निर्देशक याङ होङ वेले वातावरण जोगाउन र प्रदुषण हटाउन रकम सहयोग गरिएको बताउनुभयो ।
गाउँपालिकासंग समन्वयका साथ आवश्यकता अनुसार सहयोग गर्दै जाने उहाँले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष होमबहादुर वि.क.ले आफु मात्र सफा भएर नहुने भएकाले सबै गाउँपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउनका लागि फोहोर संकलन केन्द्र निर्माण गरिएको बताउनुभयो । ‘सब भन्दा ठूलो हाम्रो स्वास्थ्य हो ।
फोहोरका कारण रोग लाग्छ । अकालमै ज्यान फाल्न बाध्य हुन्छौं । सबैले आफु, आफ्नो परिवार र समुदायलाई सफासुग्गर राख्न सके वातावरण पनि सफा हुन्छ । रोग पनि लाग्दैन’ उहाँले भन्नुभयो ।
आइतबार उक्त फोहोर मैला संकलन तथा व्यवस्थापन केन्द्रको उद्घाटन गर्दै गण्डकी प्रदेश सदस्य धनञ्जय दवाडीले मस्र्याङ्दी गाउँपालिकाले जिल्लामै उदाहरणीय काम गरेको बताउनुभयो । ‘फोहोर व्यवस्थापन गर्नु अन्यन्तै चुनौतिपूर्ण काम हो । मस्र्याङ्दीले चुनौतिलाई सामना गर्दै अघि बढेको छ । यो राम्रो काम हो । यसमा सबैको सहयोग हुन आवश्यक छ ।
अरु गाउँपालिका, नगरपालिकाले पनि सिको गर्नपर्छ’ उहाँले भन्नुभयो । गाउँ–गाउँसम्म सरसफाई सम्बन्धि चेतनाको अभावका कारण कतिलाई रोगले संक्रमण गरेको भन्दै गाउँपालिकाले अब गाउँसम्म सरसफाईको कार्यक्रम लैजान आवश्यक रहेको उहाँले बताउनुभयो । ‘फोहोरको व्यवस्थापन गर्दै फोहोरबाट मोहोर प्राप्त गर्ने बाटोमा लाग्नुपर्छ । अहिले काम गर्ने समय हो । गाउँपालिकाले सहि कदम चालेको छ ।
यसले वातावरण संरक्षणमा सघाउ पु-याउँछ’ उहाँले भन्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य नन्दराम वि.क., नेकपाका महेन्द्र थापा, माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना सरोकार समितिका अध्यक्ष जीतबहादुर अधिकारी, गाउँपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा संयोजक एवं वडा नम्बर ६ का अध्यक्ष लिलाप्रसाद घले, उद्योग वाणिज्य संघ खुदी इकाईका अध्यक्ष बीरेन्द्रबहादुर भण्डारी, अमर मावि खुदीका प्रअ तिर्थ बस्नेत, वडा नम्बर ८ की अध्यक्ष हिरादेवी घलेलगायतले सरसफाई महत्वपूर्ण पाटो भएकाले यसको सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
गाउँपालिकालाई फोहोरमुक्त बनाउन, नमुना गाउँपालिकाको रुपमा चिनाउन सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । फोहोरमैला संकलन तथा व्यवस्थापन केन्द्र निर्माण समितिका अध्यक्ष नन्दराज तामाङले फोहोर व्यवस्थापनका लागि आफ्नै घरबाट शुरु गरिनुुपर्ने बताउनुभयो ।
सप्ताहव्यापी सफा मर्स्याङ्दी अभियान शुरु
लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सप्ताहव्यापी सफा मर्स्याङ्दी अभियान संचालन गरेको छ । आइतबारबाट अभियान शुरु गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उहाँका अनुसार गाउँ तथा वडा–वडामा पुगेर जनप्रतिनिधि, कर्मचारी, संघसंस्थाका प्रतिनिधि, आमा समूह, बाबा समूह, युवा क्लबको सक्रियतामा सरसफाई गर्नेछ ।
गाउँपालिकालाई सफा, हराभरा र स्वच्छ बनाउने उद्धेश्यका साथ अभियान संचालन गरिएको उहाँले बताउनुभयो । अभियान अन्तर्गत पुस ९ गते भुलभुले वारीपारी, बुद्धबजार र छहरेखोलामा हुनेछ । पुस १० गते नन्देश्वारा, बालुवा, ङादी र दोभानचौरमा, ११ गते खुदी, बगैंचा, पूर्वेली टोल, १२ गते बाहुनडाँडा, १३ गते घेर्मु, १३ गते रामबजार, स्याँगे, जगत, च्याम्चेमा सरसफाई गरिनेछ ।
पुस १४ गते आ–आफ्नो संघसस्था, विद्यालय, सहकारी, स्वास्थ्यचौकीमा सरसफाई गरिने अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार विहान ८ बजेदेखि सरसफाई गरिनेछ ।
यो संगै हरेक वडामा वडाध्यक्षको सक्रियतामा टोल तथा वस्तीमा सरसफाई कार्यक्रम गरिने, पर्चा वितरण, माइकिङ गर्ने उहाँले बताउनुभयो । हरेक नागरिकलाई महिनाको एकदिनको २ घण्टा सफा मस्र्याङ्दी अभियानमा सहभागि हुन अनुरोध गरिएको उहाँले बताउनुभयो ।