जथाभावी फोहोर फाल्दा पर्यटकीय स्थल डम्पिङ साइटमा परिणत

खोटाङ १७ वैशाख । सम्बन्धित निकायले ध्यान नदिँदा जिल्लाका पर्यटकीय स्थलमा फोहरमैलाको डङ्गुर थुप्रिन थालेको छ । जिल्लाका पर्यटकीयस्थलहरू टेम्केडाँडा, रूपाकोटडाँडा, मझुवागढी, भुम्जुडाँडा, बाँझोबारी लगायतका ठाउँमा नसड्ने किसिमका फोहरमैला थुप्रिन थालेको हो ।

चारैतिरबाट वनजङ्गलले घेरिएको रूपाकोटको हरियो चौरमा यत्रतत्र बिस्कुट, चाउचाउ, चकलेट, बियर, मिनरल वाटर, पेप्सी, स्प्राइटको खाली बोतल छरिएका छन् । रूपाकोट मझुवा नगरपालिकामा पर्ने रूपाकोट डाँडामा पछिल्लो समय प्लास्टिकजन्य फोहरमैला जताततै भेटिन थालिएको सामुदायिक वन उपभोक्ता महासङ्घ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।

विशेषगरी नयाँ वर्ष, उभौली, उधौली लगायत चाडपर्व र पिकनिकका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले जथाभावी मिल्काउने फोहरमैलाका कारण पर्यटकीय स्थलको प्राकृतिक सुन्दरता नै बिग्रिन थालेको स्थानीयवासीको गुनासो छ ।

एक ठाउँमा फोहर सङ्कलन गर्ने र नष्ट गर्ने व्यवस्था नहुँदा पर्यटकीय स्थलमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले जथाभावी फोहरमैला मिल्काउने गरेका छन् ।

पर्यटकीयस्थल जाने आन्तरिक तथा बाह्य पर्यटकलाई फोहरमैला जथाभावी नफाल्नका लागि पूर्व जानकारी गराउने व्यवस्था नहुँदा प्राकृतिक सौन्दर्यमा असर पुग्ने गरेको छ । “पर्यटकीयस्थलमा लैजान मिल्ने र लैजान नमिल्ने कुराहरू निश्चित गर्नुपर्छ ।” अध्यक्ष राईले भन्नुभयो  “प्लास्टिक, बोतलजस्ता नसड्ने चिजलाई लान नहुने वा लगे पनि एक ठाउँमा मात्र राख्ने नीति बनाउन जरुरी देखिन्छ ।”

पर्यटकीयस्थलको सुन्दरतालाई प्राकृतिक अवस्थामै सुरक्षित रहन दिन नगरपालिकाले विशेष योजना बनाउनुपर्ने विज्ञहरूको धारणा छ । रूपाकोट लगायतका पर्यटकीयस्थलमा पुग्ने कतिपय स्थानीयवासीले फोहरमैला फाल्नुका साथै जथाभावी बोटबिरुवा काट्ने गरेको पाइएको छ ।

दिनभर बस्ने ओत बनाउने क्रममा वा केही दिन बसेर रमाइलो गरेर फर्कने स्थानीयवासीले छाप्रो बनाउने क्रममा रूपाकोटका सुरिलो परेका रुखको बोट जथाभावी ढाल्दा वन विनास हुने सम्भावना रहेको छ ।

सदरमुकाम दिक्तेलबाट उकालो करिब तीन घन्टा पैदल यात्रापछि पुगिने रूपाकोटबाट विश्वको सर्वाच्च शिखर सगरमाथाको चुचुरो तथा अन्य हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

मझुवागढीको हालत पनि उस्तै

रूपाकोट मझुवागढी नगरपालिकाकै धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पनि फोहरमैला थुप्रिन थालेको छ । दिक्तेलबाट एक घन्टा हिँडेपछि पुगिने मझुवागढीको शिरमा जताजतै प्लास्टिक, शिशालगायतका फोहरमैला बढेको हो ।

हलेसीमा आएका दर्शनार्थीले मझुवागढीको दर्शन गरेपछि मात्र धार्मिक यात्रा पूर्ण भएको विश्वासमा मझुवा गढीमा दर्शनार्थीको भीड लाग्ने गरेको छ ।

विसं १८०४ सम्म किराती राजा रणवीर हाङले राज्य गरेको प्रमाणका आधारमा मझुवागढीलाई ऐतिहासिक थलो पनि मानिन्छ । व्यवस्थापनमा ध्यान नपुग्दा रूपाकोट र मझुवागढी मात्र नभई जिल्लाका अधिकांश पर्यटकीयस्थलमा फोहरमैला बढ्न थालेको छ ।

पर्यटकीयस्थलमा बढ्दै गएको फोहरमैला नियन्त्रणमा सम्बन्धित निकायले चासो नदिएको स्थानीयवासीको आरोप छ ।  रासस

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार