६ बुँदे घोषणापत्र जारी गर्दै सकियो बर्षातको पानी संकलन सम्बन्धी सम्मेलन

  वास खबर सम्वाददाता  331 पटक हेरिएको

ललितपुर : खानेपानी मन्त्री राजेन्द्र कुमार राईले सबै नेपालीलाई पर्याप्त रुपमा खानेपानी उपलब्ध गराउन आफू प्रतिबद्ध भएको बताउनुभएको छ । स्मार्ट वास सोलुसन्स प्रा.लि. र नेदरल्याण्ड्सको विकास सहयोग संस्था (एसएनभी नेपाल) को आयोजनामा सोमबारदेखि राजधानीमा आयोजित बर्षातको पानी संकलन र व्यवस्थापन विषयक क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहलाई संबोधन गर्दै मन्त्री राईले सो कुरा बताउनुभएको हो ।

उहाँले यस क्षेत्रीय अन्तराष्ट्रिय सम्मेलनले पारित गरेका निश्कर्षहरुलाई कार्यान्वयन गर्न सरकार तयार रहेको पनि बताउनुभयो ।

मन्त्री राईले नेपालमा हिमालयबाट उद्गम भएका पानी बाह्रै महिना नदीमा बगिरहे पनि बस्ती बस्तीमा पानीको अभाव रहेको उल्लेख गर्नुभयो । उहाँले पानीको मूलहरु सुक्दै गएकोले नेपालले पानीको संकट समाना गरिरहेको बताउनुभयो ।

उहाँले खानेपानीको क्षेत्रमा काम गर्ने नीति निर्माता, प्राविधिक, प्राज्ञ, अनुसन्धानकर्ता, अभ्यासकर्ता र सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरुलाई पानीको संकट समाधान गर्न, गरिबी घटाउन र आय बढाउने कार्यमा अग्रसर हुन पनि आग्रह गर्नुभयो ।

कार्यक्रमलाई संबोधन गर्दै खानेपानी सचिव सुरेश आचार्यले जलवायु परिवर्तनका कारण नेपालले खडेरी र खानेपानीको समस्याको भोग्नु परेको परिप्रेक्षमा बर्षातको पानी संकलन र व्यवस्थापन अति उपयोगी विकल्प भएको बताउनुभयो । उहाँले दिगो विकासको लक्ष्य हासिल गर्न बर्षातको पानी संकलन र व्यवस्थापनका प्रयासलाई सरकारले सघाउने बचन पनि दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री गणेश साहले पानी व्यक्तिव्यक्तिको खुसी र समृद्धिसग जोडिएको बताउनुभयो । उहाँले नेपालका सबै पालिकाका मेयर तथा अध्यक्षहरु आफ्ना पालिकाका बासिन्दालाई पर्याप्त पानी पुर्याउन प्रयासरत रहेको बताउदै त्यस्ता प्रयासलाई बर्षातको पानी संकलनले सहयोग पुग्ने बताउनुभयो । उहाँले पानी गुणस्तरीय, पर्याप्त र पहुँचयोग्य हुनुपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा इन्टरनेशनल रेन वाटर हार्भेष्टिड. एलायन्सका अध्यक्ष ई. हान्स हाइजनानले नेपालको समग्र विकासकोलागि सबै बस्तीमा पर्याप्त पानी आपूर्ति आवश्यक भएको र बर्षातको पानीको संकलन र व्यवस्थापनले त्यसलाई सघाउने बताउनुभयो ।

उहाँले पानी संयुक्त राष्ट्रसंघको दीगो विकासलक्ष्य हासिल गर्न अत्यावश्यक तत्व भएको बताउदै भन्नुभयो, पानीको लक्ष्य आफैमा महत्वपूर्ण छ छदैछ , यसले अन्य लक्ष्य हासिल गर्न पनि उत्तिकै सघाउछ । राष्ट्रसंघका धेरै लक्ष्यहरु पानीको आपूर्तिमा निर्भर छन् । पानीको लक्ष्य हासिल नगरिकन अरु लक्ष्य हासिल हुन सक्दैनन् ।

कार्यक्रममा आयोजक संस्था एसएनभीकी नेपाल र भुटानकी देशीय निर्देशक लेनिके ब्रामले नेपालमा बर्षातको पानी संकलन परम्परागत रुपमा विकसित हुँदै आएको बताउनुभयो । उहाँले देशका सबै ठाँउमा पर्याप्त खानेपानीको व्यवस्था गर्नका लागि बर्षातको पानी संकलन र व्यवस्थापन भरपर्दो विकल्प भएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका प्रतिकूल असरहरुलाई न्यूनीकरण गर्न पनि बर्षातको पानी संकलन र व्यस्थापन गर्नु अत्यावश्यक भएको बताउनुभयो ।

समापन समारोहमा बर्षातको पानी संकलनका असल अभ्यासहरुको सफलताका कथाहरुको सामूहिक विमोचन पनि गरिएको थियो ।

समापन शत्रमा इन्टरनेशनल रेन वाटर हार्भेष्टिड. एलाइन्स र नेपाल रेनवाटर हार्भेटिड. एलाइन्सबीच यस क्षेत्रमा सूचनाको आदानप्रदान,आपसी सहयोग र यस अभियानलाई विश्वब्यापी गराउने सम्बन्धमा संझौतापत्रमा हस्ताक्षर पनि भएको छ । संझौता पत्रमा इन्टरनेशनल रेन वाटर हार्भेष्टिड. एलाइन्सको तर्फबाट अध्यक्ष ई. हान्स हाइजनान र नेपाल रेनवाटर हार्भेटिड. एलाइन्सका तर्फबाट अध्यक्ष ई.रामदीप साहले हस्ताक्षर गर्नुभएको थियो ।

स्मार्ट वासका अध्यक्ष तथा सम्मेलन आयोजक समितिका अध्यक्ष डा. रामदीप साहको अध्यक्षतामा भएको समापन समारोहमा उहाँले सहभागी,स्रोत व्यक्ति, सहजकर्ता, आयोजक, सहआयोजक, सहयोगदाता, स्वयंसेवक र सञ्चारकर्मीहरु सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

६ बूँदे काठमाडौं घोषणापत्र जारी

बर्षातको पानी संकलन र व्यवस्थापन सम्बन्धी दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनको समापनका अवसरमा ६ बूँदे घोषणापत्र जारी गरिएको छ ।

समापन समारोहमा सम्मेलनका प्राविधिक समितिका अध्यक्ष एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा.सुनिलबाबु श्रेष्ठले प्राविधिक शत्रबारे जानकारी दिंदै काठमाडौं घोषणापत्र बाचन गर्नुभएको थियो ।

बर्षातको पानी संकलन र व्यवस्थापनका क्षेत्रमा कार्यरत नीति निर्माता, गैरसरकारी तथा सरकारी संस्थाका प्रतिनिधिहरु, विज्ञ, वैज्ञानिक, अभ्यासकर्ता, लगानीकर्ता , प्राविधिक ,उद्यमी र उपभोक्ताहरुको उपस्थितिमा सो घोषणापत्र अनुमोदन गरी जारी गरिएको हो ।


घोषणापत्रमा बर्षातको पानी संकलन र ब्यवस्थापनका क्षेत्रमा आपसी सहकार्य गर्ने, नयाँ प्रविधिको अध्ययन, अनुसन्धान, आविश्कार र विस्तार गर्ने तथा अनुभवहरु आदानप्रदान गर्ने विषयहरु समेटिएको छ ।

काठमाडौं घोषणापत्रको पहिलो बूँदामा बर्षातको पानी संकलन र व्यवस्थापन पद्धतिमा जलवायु उत्थानशीलता सुनिश्चित गर्न परम्परागत ज्ञान,अभ्यास र स्थानीय स्रोतहरुलाई सही प्रविधिसंग एकीकृत गर्ने कुरा उल्लेख गरिएको छ ।

क्षेत्रीय सम्मेलनपछि जारी घोषणा पत्रको दोस्रो बूँदामा बर्षातको पानी संकलन र व्यवस्थापन प्रणालीमा जलवायु उत्थानशीलताको लागि आपसी सहकार्य र नीतिगत पैरवी गर्ने विषय समेटिएको छ ।

यस क्षेत्रका विज्ञ र अभ्यासकर्ताहरुले प्रभावकारी बर्षाको पानी संकलन र व्यवस्थापनका पद्धतिको तर्जुमा, कार्यान्वयन र मर्मतसंभारको लागि ज्ञान, सीप र विज्ञता अभिबृद्धि गर्न क्षमता निर्माणका प्रयासलाई सहयोग गर्ने विषयलाई पनि घोषणापत्रमा राखिएको छ ।

काठमाडौं घोषणापत्रमा बर्षातको पानी संकलन र व्यवस्थापन पद्धतिका लागि स्थानीय मौलिक अभ्यासलाई प्रबर्धन गर्न र नवप्रवर्तनका समाधान र प्रविधिलाई अझ उन्नत बनाउन सञ्जाल समूह, अनुसन्धान संस्थाहरु र प्रविधि विकासकहरु बीचमा सहकार्य र समन्वय अभिबृद्धि गर्ने कुरा उल्लेख गरिएको छ ।

बर्षातको पानी संकलन र व्यवस्थापनसंग सम्बन्धित स्रोत केन्द्र स्थापना गर्ने र संकलन गरिएको बर्षाको पानीको गुणस्तर सुनिश्चित गर्ने विषयलाई पनि घोषणापत्रमा समेटिएको छ ।

क्षेत्रीय स्तरको यस अन्तराष्ट्रिय सम्मेलनमा दक्षिण एशियाका विभिन्न देश र कोरियामा पानी आपूर्तिका क्षेत्रमा काम गरिरहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिहरु, विज्ञ र वैज्ञानिकहरु, विश्वविद्यालयका प्राज्ञ तथा खानेपानीका क्षेत्रमा अध्ययन र अनुसन्धान गरिरहेका विद्यार्थीहरु, पानी आपूर्तिका उद्योग सञ्चालन गरेका उद्योगीहरु, आम नागरिकलाई खानेपानी र सिंचाईका लागि पानी आपूर्ति गर्न अग्रसर जनप्रतिनिधिहरु, खानेपानी तथा सिंचाई उपभोक्ता समितिका प्रतिनिधिहरु र पानीको आपूर्तिका बारेमा आमनागरिकलाई सन्देश पु¥याउदै आउनुभएका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

स्मार्ट वास सोलुसन्स र नेदरल्याण्ड्स विकास सहयोग संस्था(एसएनभी)ले खानेपानी तथा ढल व्यवस्थापन विभाग र नेपाल रेनवाटर हार्भेष्टिङ् एलायन्सको समन्वयमा यो सम्मेलन आयोजना गरिएको हो ।

यस सम्मेलनको सहआयोजकमा इन्टरनेशनल रेनवाटर हार्भेष्टिङ एलायन्स, वाटर एड नेपाल, नेपाल वाटर फर हेल्थ र डब्ल्युडब्ल्युएफ रहेका थिए भने युनिसेफ, विश्व स्वास्थ्य संगठन,नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नगर विकास कोष, वायोग्यास सपोर्ट प्रोग्राम, हेल्भेटास नेपाल, नेपाल खुला विश्वविद्यालय, ग्लोबल पिस फाउण्डेशन, दियालो टेक्नोलोजिज, युथ एलायन्स इन्भायरोमेन्ट, र बेष्ट पानीले सम्मेलनलाई सहयोग गरेका थिए । यस अन्तर्राष्ट्रिय सम्मेलनको आयोजनामा शहरी विकास मन्त्रालयले संरक्षकत्व रहेको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार