वास क्षेत्रको संस्थागत र नीतिगत व्यवस्थामा भूमे गाउँपालिका सवल बन्दै

यी हुन् भूमेले बनाएका संस्थागत र नीतिगत व्यवस्था

  वास खबर सम्वाददाता  257 पटक हेरिएको


रुकुम : रुकुम पूर्वको भूमे गाउँपालिकाले नगरक्षेत्रभित्रका नागरिकलाई एक घर एक धारा उपलब्ध गराउनुका साथै खानेपानी र सरसफाइको सुशासनको क्षेत्रमा समेत मजबुत बनाउँदै लगेको छ।

गोर्खा वेलफेयर ट्रष्ट (GWT) द्वारा सञ्चालित उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रम र गाउँपालिकाको सहलगानीमा पूर्वाधार सँगै संस्थागत र नीतिगत व्यवस्थामा पनि काम भैरहेको गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठले जानकारी दिनुभयो।

खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको सुशासनका लागि संस्थागत तथा नीतिगत व्यवस्था नभई नहुने भएकाले गाउँपालिकाले विभिन्न साझेदारी संस्था सँग सहकार्य गरी संस्थागत र नीतिगत व्यवस्थामा जोड दिईएको बताउनुभयो ।

‘गाउँपालिका भित्र बसोबास गर्ने नागरिकलाई खानेपानी उपलब्ध गराउँछु भनेर मात्र हुँदो रहेनछ । त्यसका लागि पनि संस्थागत व्यवस्था आवश्यक पर्ने रहेछ, संस्थाको सुसञ्चालनका लागि नीतिगत व्यवस्था आवश्यक पर्दोरहेछ, त्यसैले गाउँपालिकाले संस्थागत, नीतिगत र पूर्वाधार निर्माणको कामलाई सँगसँगै लिएर गईरहेको छ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो।

गाउँपालिकामा भएका संस्थागत व्यवस्था

भूमे गाउँपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा विभिन्न संस्थागत व्यवस्था गरी कार्य सञ्चालन गर्दै आएको छ। जो निम्नानुसार छन्।

√ गाउँपालिकास्तरीय वास समन्वय समिति गठन
√ सबै वडामा वडास्तरीय वास समन्वय समिति गठन
√ अनुगमन तथा सुपरीवेक्षण समिति गठन
√ खानेपानी, सरसफाई तथा स्वच्छता कार्यदल र वास फोकल पर्सन
√ गाउँपालिका कार्यालयमा वास युनिट गठन
√ समुदायस्तरमा खानेपानी तथा सरसफाई उपभोक्ता समिति (खानेपानी जाँच)

नीतिगत व्यवस्थाहरु :

खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको नीतिगत व्यवस्थाका लागि निम्नानुसार ऐन, नियमावली, कार्ययोजना तथा कार्यविधिहरु निर्माण भएका छन्।

√ खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) रणनीतिक कार्ययोजना २०७५
√ खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धी विधेयक २०७८
√ जलस्रोत नियमावली २०७७
√ खानेपानी, सरसफाई तथा स्वच्छता रणनीतिक कार्ययोजना २०७५
√ खानेपानी, सरसफाई तथा स्वच्छता (वास) योजना २०७७
√ खानेपानी गुणस्तर मापदण्ड अनुगमन कार्यविधि २०७८
√ सुरक्षित खानेपानीयुक्त समुदाय सम्बन्धी कार्यविधि २०७८

उहाँले यी बाहेक खानेपानी तथा सरसफाइ क्षेत्रको विकासका लागि वास क्षेत्र सुशासन बारे अन्तरक्रिया गरिएको, खानेपानी गुणस्तर परीक्षण प्रशिक्षण सञ्चालन गरिएको र वास एम.आई.एस. अद्यावधिक गर्न प्राविधिकलाई प्रशिक्षण दिईएको बताउनुभयो।

यस्तै समुदायस्तरमा खानेपानी गुणस्तर परीक्षण प्रशिक्षण र खानेपानी उपभोक्ता समितिहरुलाई खानेपानी मुहान र ट्याङ्की संरक्षण सम्बन्धी अभिमुखीकरण समेत नियमित भैरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार