‘स्वास्थ्य स्वयं सेविका’ बस्ती बस्तीमा वास सम्बन्धी सचेतना फैलाउँदै

  वास खबर सम्वाददाता  154 पटक हेरिएको

बर्दिया : बर्दियाको राजापुर नगरपालिकाका महिला स्वास्थ्य स्वयं सेविकाहरु गाउँ गाउँमा खानेपानी, सरसफाइ र स्वच्छता बारे सचेतना फैलाउँदै हुनुहुन्छ । महिला स्वास्थ्य स्वंयसेविकाहरुले प्राकृतिक विपद एवं आपतकालीन अवस्थामा आम नागरिकले सरसफाइमा अपनाउनु पर्ने सावधानी तथा गर्न नहुने बानी व्यवहार बारे घरमै पुगेर सचेतना फैलाउने गर्नुभएको छ ।

महिला स्वास्थ्य स्वयं सेविकाहरुको क्षमता बिकास गर्नका लागि प्लान इन्टरनेसनल नेपालको सहयोगमा राधाकृष्ण थारु जनसेवा केन्द्रद्वारा सञ्चालित शसक्त बालिका परियोजनाले तालिम प्रदान गरेको हो । आपतकालीन अवस्थामा खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धी बिषयमा केन्द्रित रहेर स्वयं सेविकाहरुलाई तालिम दिएपछि बस्ती बस्तीमा पुगेर सचेतना फैलाउन थालेका हुन् ।

चर्पीको फोहोर सही तरिकाले व्यवस्थापन नहुँदा खानेपानी प्रदुषण हुने सम्भावना, चर्पी प्रयोग गरेपछि साबुन पानीले हात धुनुपर्ने कारण र चर्पीको सही प्रयोग र हात धुने तरिकाका बिषयमा स्वयं सेविकाहरुले समुदाय स्तरमा जागरुकता ल्याउने गरेको स्थानीय सन्जु थारुले बताउनुभयो।

सरसफाइ र स्वच्छता बानी व्यवहारमा साना साना गल्तीले ठूलो समस्या निम्तिन सक्ने भएकाले खानेपानी, सरसफाइ र स्वच्छता बारे ध्यान दिनुपर्ने महिला स्वास्थ्य स्वयं सेविकाहरु बताउँछन्।

महिला स्वास्थ्य स्वयं सेविकाहरु प्रत्येक वडामा हुने र आफूहरु घर घरमा पुगेर सचेतना पु¥याउन महत्वपुर्ण भुमिका खेल्ने गरेको महिला स्वास्थ्य स्वयं सेविका उषा चौधरीले बताउनुभयो ।

शसक्त बालिका परियोजनाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि आमा बुवाले ध्यान दिनुपर्ने कुराहरु, स्वास्थ्य तथा सरसफाइको महत्व लगायत विषयमा ग्रामीण क्षेत्रमा सहजीकरण गर्दै आएको शसक्त बालिका परियोजनाका संयोजक मनोज पौडेलले बताउनुभयो। शसक्त बालिका परियोजनाले बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा सन् २०२३ जुलाई देखि कार्यान्वयन भैरहेको छ । यो परियोजना जुन २०२५ सम्म सञ्चालन हुने परियोजना संयोजक पौडेलले जानकारी दिनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार