कालिगण्डकी गाउँपालिकालाई पूर्ण सरसफाइ उन्मुख घोषणा गरिने


गुल्मी : गुल्मीको कालिगण्डकी गाउँपालिकालाई सन् २०२६ सम्ममा पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्ने भएको छ। गाउँपालिकाले एक घर एक धारा कार्यक्रम अन्तर्गत प्रत्येक घरधुरीमा कम्तिमा आधारभूत खानेपानी सुविधा उपलब्ध गराउने, कम्तिमा २ वटा विद्यालयलाई तीन तारे विद्यालय घोषणा गर्ने, विपद् उत्थानशील संरचनाको निर्माण मार्फत विपद्जन्य घटनाबाट नागरिकको जीउ ज्यानको सुरक्षा गर्ने र गाउँपालिकालाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्ने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले बताउनुभयो।


उक्त लक्ष्य हासिल गर्न एक घर एक धारा कार्यक्रम, पूर्ण सरसफा अभियान, गाउँपालिका भित्रका सम्पूर्ण वडाहरुमा वडा वास समन्वय समिति गठन, सबै वास समन्वय समितिहरुलाई पूर्ण सरसफाइ सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरी समितिहरुलाई क्रियाशिल बनाई हरेक वडामा पूर्ण सरसफाई अभियान सञ्चालन भैरहेको उहाँले बताउनुभयो।

गाउँपालिकाले नमूना विद्यालय कार्यक्रम सञ्चालन गरिरहेको र त्यस अन्तर्गत गाउँपालिका भित्रका १६ वटा विद्यालयहरुमा विद्यालय वास समन्वय समिति गठन गरी १६ वटै विद्यालयहरुमा शिक्षक नायक र सहनायकहरुलाई पूर्ण सरसफाई सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम गरिएको यहाँले बताउनुभयो।

वास सम्बन्धी बनेका ऐन नियम

गाउँपालिकाले यसका लागि खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी विभिन्न ऐन, कानुन र नीति निर्देशिका समेत निर्माण गरेको छ। प्रमुख प्रशासकीय अधिकृत गिरीका अनुसार गाउँपालिकामा खानेपानी र सरसफाइ सम्बन्धी निम्न नीति निर्देशिकाहरु बनेका छन् ।

√ खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान)

√ खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी ऐन २०७९

√  खानेपानी गुणस्तर अनुगमन निर्देशिका

√  सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा निर्देशिका

√ स्थानीय तहका लागि खानेपानी सरसफाइ तथा स्वच्छता सूचना व्यवस्थापन प्रणाली मार्गदर्शन

वेल्फेयरको समन्वयमा ९ वटा खानेपानी

कालिगण्डकी गाउँपालिकाले गोर्खा वेल्फेयर ट्रष्टसँगको समन्वयमा समेत खानेपानी, सरसफाइ र स्वच्छतासँग सम्बन्धित विभिन्न कार्यहरु गर्दै आएको छ। प्रमुख प्रशासकीय अधिकृत गिरीका अनुसार वेल्फेयरको समन्वयमा ९ वटा खानेपानी योजनाहरु सम्पन्न भएका छन् ।

यस्तै एक घर एक धारा कार्यक्रम अन्तर्गत मरम्पा खानेपानी योजनाको निर्माण भैरहेको, कालिगण्डकी गाउँपालिकाको वास योजना अध्याविकको कार्य भैरहेको उहाँले बताउनुभयो।

‘हामी कहाँ धेरै कामहरु भएका छन्, मुख्य रुपमा भन्नुपर्दा यिनै हुन्’ उहाँले भन्नुभयो ‘पानीको गुणस्तर परीक्षण सम्बन्धी कामको सुरुवात भएको छ भने गाउँपालिका र वेल्फेयरले संयुक्त रुपमा आयोजनाहरुको अनुगमन गर्ने कामको पनि थालनी भएको छ’ उहाँले भन्नुभयो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार