लहान नगरपालिकाको ‘नगरव्यापी समावेशी सरसफाइ योजना’ बनाउन सुरु

  वास खबर सम्वाददाता  306 पटक हेरिएको


काठमाडौः सिरहाको लहान नगरपालिकाले नगरव्यापी समावेशी सरसफाइ योजना (Municipal Wide Inclusive Sanitation Plan) बनाउन सुरु गरेको छ। वाटर एड नेपालको आर्थिक सहयोगमा लहान नगरपालिका र इको कन्सर्न प्रा.लि.को सहकार्यमा नगरव्यापी समावेशी सरसफाइ योजना बनाउन सुरु गरेको हो।

नगरव्यापी समावेशी सरसफाइ ढाँचालाई समाहित गरी लहान नगरपालिकाको लागि वित्तिय लागत र उपयुक्त प्रविधि अवलम्बन गर्न मार्गदर्शन गर्ने उद्देश्यले नगरव्यापी समावेशी सरसफाइ योजना तयार पार्न लागेको हो।

नगरव्यापी समावेशी सरसफाइ योजना निर्माण गर्न सुरु गरेको नगरपालिकाले अहिले अवस्था विश्लेषण (Situation Analysis) को चरणमा काम गरिरहेको वाटर एड नेपालका सिनियर वास पोलिसी एडभाइजर गोविन्द बहादुर श्रेष्ठले बताउनुभयो।

यस अन्तर्गत प्रश्नावली निर्माण, तथ्याङ्क संकलन विधि, घरधुरी सर्भेक्षणको लागि नमुना निर्धारण  भैरहेको छ। श्रेष्ठका अनुसार तथ्याङ्क संकलनको क्रममा  विद्यमान अवस्थामा रहेका सरसफाइका संरचनाहरु फोहोरपानी प्रशोधन केन्द्र, सार्वजनिक शौचालय, सेप्टिक ट्याङ्की, ढल प्रणाली लगायतको लेखाजोखा समेत गरिनेछ।

लहान नगरपालिकाको नगरव्यापी समावेशी सरसफाइ योजनालाई गुणस्तरीय बनाउन वाटर एड नेपालले सुरुवाती चरणदेखि नै विज्ञको सल्लाह सुझाव लिने उद्देश्यले ‘रेफ्रेन्स ग्रुपको बैठक’ आयोजना गर्न थालेको छ। रेफ्रेन्स ग्रुपमा वाटर एड नेपाल, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, नेपाल नगरपालिका संघ (MUAN), सिबिसान, राष्ट्रिय तथ्याङ्क कार्यालय, लहान नगरपालिका, प्रादेशिक कार्यालयहरु सहितका सरोकारवालाहरु रहेका छन्।

रेफ्रेन्स ग्रुपको बैठक सुरुवात, मध्य र अन्त्यमा गरी तीन चरणमा आयोजना गरिने र आवश्यक परे रेफ्रेन्स ग्रुपका सदस्यहरुसँग छुट्टाछुट्टै बैठक बस्ने वाटर एड नेपालका सिनियर वास पोलिसी एडभाइजर गोविन्द बहादुर श्रेष्ठले बताउनुभयो।

रेफ्रेन्स ग्रुपको बैठकमा तथ्याङ्क संकलनको नमुना जनसंख्या र घरधुरीका बिषयमा व्यापक छलफल भएको छ। नगरव्यापी समावेशी सरसफाइ योजना निर्माणका लागि ६ हजार २ सय ३४ घरधुरीको तथ्याङ्क लिईनेछ। यो लगभग कुल घरधुरीको ३० प्रतिशत हिस्सा हो।

जनगणना २०७८ को नतिजा अनुसार लहान नगरपालिकामा कुल २० हजार ५७७ परिवारको बसोबास छ। परिवारको औसत आकार करिब ५ जना रहेको छ।

यसरी बन्नेछ नगरव्यापी समावेशी सरसफाइ योजना

घरधुरीको नमुना तथा सबै प्रश्नावली तयार भएपछि सर्भेक्षकहरु डाटा संकलनका लागि सम्बन्धित स्थलमा पुग्नेछन्। उनीहरुले कोबो टुल बक्सको प्रयोग गरेर डाटा संकलन गर्नेछन् । व्यक्तिगत घरधुरी, शैक्षिक संस्था, व्यवसायिक भवन, स्वास्थ्य संस्था, होटेल तथा रेष्टुरेन्टको समेत नमुना निर्धारण गरी सोही अनुरुप तथ्याङ्क संकलन गर्नेछन्।

सभेक्षणणकर्ताले तोकिएको नमुना क्षेत्रबाट खानेपानी आपूर्तिको विवरण, फोहोरपानी व्यवस्थापन, दिसाजन्य लेदो व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, ढल तथा बर्षातको पानीको व्यवस्थापन तथा संस्थागत र नियामक खाका लगायतको तथ्याङ्क लिने इको कन्सर्न प्रा.लि.का चारुश्री नकर्मीले बताउनुभयो।

यस्तै डाटा संकलनको क्रममा मेयर तथा उपमेयर, वडा अध्यक्षहरु, मधेस प्रदेशको खानेपानी हेर्ने मन्त्रालय, प्रमुख प्रशासकीय अधिकृत, वास युनिट, खानेपानी उपभोक्ता समितिहरु, सार्वजनिक शौचालय सञ्चालक, यान्त्रिक रुपमा सेप्टिक ट्याङ्क सफाइकर्ताहरु, मानवीय तरिकाबाट सेप्टिक ट्याङ्क सफाइकर्मीहरु, शैक्षिक संस्थानहरु, व्यापारिक संस्थान, स्वास्थ्य संस्था र होटल तथा रेष्टुरेन्ट सञ्चालकहरुसँग पनि मुख्य जानकारी हासिल गर्न साक्षात्कार गर्नेछन्।

यस्तै राष्ट्रिय स्तरको परामर्श बैठक, नगरस्तरीय परामर्श बैठक, सरसफाइकर्मीहरु र निम्न आय भएका समुदायसँग लक्षित समूह छलफल गर्नेछन्।

यसरी प्राथमिक तथ्याङ्कहरु सर्भेक्षणकर्ताको माध्यमबाट र द्धितिय तथ्याङ्कहरु राष्ट्रिय जनगणनाको नतिजा, एनवास एमआइएस/वास प्लान बाट भेला पार्ने र परिमाणात्मक तथा गुणात्मक तथ्याङ्क समेत संकलन गरेर विश्लेषण गरेपछि ‘नगरव्यापी समावेशी सरसफाइ योजना बन्नेछ।

उक्त योजनाले निश्चित ठाउँ र निश्चित जनसंख्याका लागि सरसफाइलाई सुरक्षित रुपमा व्यवस्थापन गर्न लाग्ने लागत, लागत जुटाउने रणनीति र अपनाउने प्रविधि समेतलाई औल्याइनेछ।

यसरी बन्ने नगरव्यापी समावेशी सरसफाइमा तत्काल गर्नुपर्ने, मध्यकालीन समयमा गर्नुपर्ने र दिर्घकालीन समयमा गर्नुपर्ने योजनाको समेत प्राथमिकीकरण हुने इको कन्सर्न प्रा.लि.का चारुश्री नकर्मीले बताउनुभयो।


लहान नगरपालिकामा सन् २०२३ मै खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) बनिसकेको छ। तर उक्त योजनामा समेत सरसफाई सेवा श्रृंखलाको तथ्याङ्क अपर्याप्त रहेको, कम आय भएका समुदायको तथ्याङ्क नरहेको, वडा अनुसार तथ्याङ्कको अभाव रहेको वाटर एड नेपालका सिनियर वास पोलिसी एडभाइजर गोविन्द बहादुर श्रेष्ठले बताउनुभयो।

१ हजार ९०७ घरमा शौचालय अभाव

सिरहा जिल्ला मधेस प्रदेशको पहिलो खुला दिसामुक्त जिल्ला हो। यसै जिल्लाको लहान नगरपालिकाको ९.३ प्रतिशत घरपरिवारमा अझै शौचालय अभाव रहेको छ। जनगणना २०७८ को नतिजाले नगरपालिका भित्रको १ हजार ९०७ घरपरिवारमा शौचालय नभएको देखाएको हो।


नतिजा अनुसार थप २ सय ९९ घरपरिवारको पनि शौचालय नरहेको देखाएको छ। नगरपालिकाको ९.५ प्रतिशत घरपरिवारले सार्वजनिक शौचालय प्रयोग गर्दै आएको तथ्याङ्क छ।

यस्तै ढल प्रणालीमा जडान भएको फ्लस हुने शौचालय भएको २.९ प्रतिशत अर्थात ५९७ घरपरिवार, सेप्टिक ट्याङ्क जडित फ्लस शौचालय भएको ३६.५ अर्थात ७ हजार ५१५ घरपरिवार छन् । सबैभन्दा धेरै अर्थात आधा घरपरिवारसँग खाल्डे साधारण चर्पी रहेको छ। जनगणनाको नतिजा अनुसार २० हजार ५७७ घरपरिवार मध्ये १० हजार २ सय ५९ घरपरिवारसँग साधारण किमिसको (खाल्डे चर्पी) रहेको देखाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार