चार बर्ष देखिको खानेपानी मुहान विवाद समाधान

  वास खबर सम्वाददाता  111 पटक हेरिएको

प्रतिनिधिमूलक तस्बिर

दोलखा : दोलखाको भीमेश्वर नगरपालिका–१ को सुस्पा सामुदायिक वन उपभोक्ता समूह र वडा नम्बर ३ को खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बीचको लामो समयको पानीको मुहान सम्बन्धी विवाद ११ बुँदे सहमति गरी समाधान भएको छ । प्राकृतिक स्रोत रूपान्तरण प्रक्रिया नामक संस्थाको अगुवाइ, लामो प्रयास र समन्वयमा सहमतिपछि चरीकोट बजारवासीले प्रयोग गर्दै आएको पानीको चार वर्षे विवाद समाधान भएको हो ।

सो सहमतिपत्रमा विगत चार दशकदेखि समितिले प्रयोग गर्दै आएको हिले गौँडा, हिले, ओडारे र कागते पानीका मुहान यथावत् रूपमा प्रयोग गर्न दिइने, पानी प्रयोग गरेबापत समितिले समूहलाई वार्षिक ३० हजार रुपियाँ दिने र प्रत्येक पाँच वर्षमा १० प्रतिशतले वृद्धि हुने, समितिले दिन बाँकी रकम एक लाख ३५ हजार रुपियाँ समूहलाई
दिने उल्लेख रहेको छ ।

त्यसै गरी वन समूहले लिएको पाइप समितिलाई फिर्ता दिने, सो मुहानबाट आएको पानी सुस्पा देउरालीलाई २० देखि २५ मिलीमिटर पाइपको पानी दिने, सुस्पा देउरालीलाई दिएको पानी ट्याङ्की भरिएर खेर जान नदिने र समितिको चरीकोट आउने पाइपमा जोडिदिने, सुस्पा गुम्बा, फुलाउने समेतलाई वितरण गरिएको खानेपानी व्यवस्थित रूपमा दिने र अनुगमनसमेत गर्ने, पानीको मुहान वन समूहले संरक्षण गर्ने र मुहान वरपर वृक्षरोपण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै ओडारेको मुहानको पानीबाट कालिञ्चोक जाने सडक छेउमा एउटा धारा र पशुपन्छीलाई समेत व्यवस्था समितिले गर्ने, समितिले प्रयोग गरेका चार वटा मुहान समूहको
साधारण सभाको निर्णयबेगर अरू कसैलाई पनि दिइने छैन र निर्मित संरचना यथावत् रूपमा रहने समेत सहमतिपत्रमा उल्लेख रहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार