८.१७ प्रतिशत नागरिक मात्र सुरक्षित खानेपानीको पहुँचमा

  वास खबर सम्वाददाता  149 पटक हेरिएको

स्याङ्जा : स्याङ्जाको ८.१७ प्रतिशत नागरिकले मात्र उच्च तथा मध्यम (सुरक्षित) स्तरको खानेपानीको सुविधा पाएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाको तथ्याङ्कमा ९७.०२ प्रतिशत घरधुरीमा आधारभूतस्तरको पहुँच भएकोमा उच्च तथा मध्यमस्तरको खानेपानी भने न्यून नागरिकले मात्र प्रयोग गर्ने गरेका छन् ।

२०७८ सालको जनगणना अनुसार स्याङ्जामा दुई लाख ५४ हजार ९६५ जना जनसङ्ख्या र ६२ हजार ८६७ घरधुरी रहेका छन् ।

विगतमा अधिकांश नागरिक कुवा, पँधेराको पानी डोकोमा बोकेर खान बाध्य थिए । अहिले नागरिकले आधारभूत खानेपानी खाए पनि शुद्ध भने खान नपाएको तथ्याङ्कले देखाएको छ । यहाँको पुतलीबजार नगरपालिका–१३, हिरापाटा, पुतलीबजार नगरपालिका–१ (स्याङ्जा बजार), जिल्ला अस्पताल, अर्जुनचौपारी–१, ढाड, धुलीचौर चापाकोट, ढाक्रेबास, भाटखोला जस्ता ३८ आयोजनाबाट मात्रै उच्च तथा मध्यमस्तरको खानेपानी पाएको खानेपानी कार्यालय प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

पानीको प्रदूषण मात्रा हेरेर कुनै एक, दुई वा तीन वटै संरचना प्रयोग गरेर पनि उच्च र मध्यम खानेपानी बनाइने उहाँको भनाइ छ । उहाँले यहाँ सिधै मूलबाट ट्याङ्कीमा पानी झारेर खाने गरिएको बताउनुभयो । आवश्यकता अनुसार ‘क्लोरिनेसन’ पनि गरेर खानेपानी खान सकिने बताउनुभयो ।

तिमिल्सिनाले आधारभूतस्तरको खानेपानी शुद्ध गरेर खाने गरेको बताउनुभयो । कार्यालयको तथ्याङ्कमा उच्च र मध्य खानेपानी प्रयोग गरेको थोरै रहे पनि धेरैले उच्च तथा मध्यम खालको पानी पिएको उहाँको भनाइ थियो ।

यहाँ प्रदेश सरकार बनेसँगै १५१ योजना पूर्ण रूपमा सम्पन्न भएको बताउँदै इन्जिनियर कमल बरालले २०२ योजना निर्माणाधीन रहेका र १४ हजार ९५४ निजी धारा निर्माण भएको बताउनुभयो । प्रदेश सरकार भएसँगै निर्माण सकिएका र निर्माणाधीन अवस्थामा रहेका योजनामा साढे दुई अर्ब खर्च भएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार