राष्ट्रिय निकुञ्जका वार्डेनको निर्देशनमा पानी ट्यांकी भत्काएपछि खानेपानीको हाहाकार

  वास खबर सम्वाददाता  182 पटक हेरिएको

काठमाडौं : शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिएको पानीको इन्टेक भत्काएपछि काठमाडौं–५, बुढानीलकण्ठ छाप टुसाल गाउँमा खानेपानीको हाहाकार भएको छ। निकुञ्जका वार्डेन डा।.गणेश पन्तको आदेशमा मुहानमा रहेको ट्यांकी भत्काएर पानीको पाइप काटेपछि खानेपानीको हाहाकार भएको हो ।

यस बिषयमा छाप टुसाल खानेपानी व्यवस्थापन समितिले वाग्मती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय समस्या समाधानका लागि निवेदन दर्ता गराएका छन् ।

मंगलबार खानेपानीक उपभोक्ता समितिका पदाधिकारीहरु वाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्यामबहादुर खड्कालाई भेटेर तत्काल समस्या समाधान गरिदिन आग्रह गरेका छन् । निकुञ्जकै सहमतिमा अघिल्लो वर्ष मात्र एक लाख रुपैयाँ खर्च गरेर ट्यांकी निर्माण गरेको र अहिले नियम अनुसार भएन भनेर मुहानमा निर्माण भएको ट्यांकी भत्काएर पाइप समेत काटिदिएको खानेपानी उपभोक्ता व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर तामाङले बताउनुभयो।

मुहानमा इन्टेक निर्माण गरेर गाउँलेले पानी खाइसकेको अवस्थामा निकुञ्जले गाउँले माथि दमन गरेको उहाँको आरोप छ । यस कदमले करिब तीन सय घरधुरीका पाँच हजार जनालाई प्रत्यक्ष असर परेको उहाँले बताउनुभयो।

यस विषयमा कुराकानी गर्न खोज्दा वार्डेन पन्तसँग फोन सम्पर्क हुन सकेन । मन्त्री खड्काले पानीको मुहानमा भत्काइएको विषयमा निकुञ्जसँग आफूले छलफल गर्ने र समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले निकुञ्ज र गाउँले सहकार्य र समन्वय गरेर अगाडि बढ्न जरुरी रहेको औंल्याउनुभयो। ‘कसरी गाउँलेले खानेपानी सहजै पाउँछन् त्यसतर्फ मेरो ध्यान रहनेछ,’ उहाँले भन्नुभयो।

शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली २०७६ मा निकुञ्जको जलस्रोत उपयोग गरे बापत शुल्क लाग्ने व्यवस्था गरिएको छ। त्यस अनुसार जलस्रोत उपयोग गर्ने उपभोक्ता समिति वा सम्बन्धित निकायले उपभोक्तासँग लिएको शुल्कको केही हिस्सा निकुञ्ज कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ।

निकुञ्जको जलस्रोत उपयोगको लागि सुन्दरीजल जलविद्युत आयोजना र केयूकेएललाई प्राथमिकता दिइने भनिएको छ। पूर्वमा मणिचुड डाँडादेखि पश्चिममा नुवाकोटको ककनी र नागर्जुन वनसम्म फैलिएको शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्र राजधानी काठमाण्डूको पानीको प्रमुख स्रोत हो। त्यस क्षेत्रमा करिब दैनिक १० लाख घन मिटर पानी उपलब्ध हुने निकुञ्जको अनुमान छ।

शिवपुरी वरपरका समूह तथा पानी आपूर्ति गर्ने निकायले वर्षौँदेखि शिवपुरीका जलाधार क्षेत्रको पानी उपयोग गर्दै आएका छन्। शिवपुरी तथा नागार्जुनका जलाधार क्षेत्रमा सङ्कलित हुने पानीको एक प्रमुख उपभोगकर्ता काठमाण्डू उपत्यका खानेपाली लिमिटेड ९केयूकेएल० हो। तर त्यहीका स्थानीयले बनाएको इन्टेक भत्काएर राष्ट्रिय निकुन्जले स्थानीय र निकुन्ज बीच विवाद बढाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार