खानेपानीको दिगो समाधानका लागि योजनाबद्ध ढंगले काम गरिरहेको छ : मन्त्री यादव

  वास खबर सम्वाददाता  219 पटक हेरिएको

काठमाडौ : खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्ति सुधार गर्नका लागि थप पानीका स्रोतहरू खोजी र परिचालन गर्न निर्देशन दिनु भएको छ । उहाँले मेलम्चीको पानी नआउँदासम्म उपत्यकाको पानीको समस्या समाधानका लागि तत्काल प्रभावकारी उपाय अपनाउन जरुरी भएको बताउनु भएको हो।

मन्त्री यादवले तारकेश्वर नगरपालिका अन्तर्गतको अल्ले, बौडे, र टोखा नगरपालिकामा रहेको भण्डारे मुहानको अनुगमन गर्दै यस्ता स्रोतहरूको संरक्षण, चुहावट रोकथाम, र सुधारलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। काठमाडौँ उपत्यकामा पानीको अपुग समस्या समाधान गर्न यस्ता मुहानहरूबाट थप पानी आपूर्ति गरिने उहाँले बताउनुभयो।

‘हाल यी मुहानहरूबाट लगभग ६५ लाख लिटर पानी आपूर्ति भइरहेको छ, तर अल्ले, बौडे र भण्डारे मुहान सहित तारकेश्वरमा रहेका अन्य मुहानहरूलाई पूर्ण क्षमतामा परिचालन गर्दा दैनिक १ करोड २१ लाख लिटर पानी आपूर्ति गर्न सकिन्छ,’ मन्त्री यादवले भन्नुभयो। उहाँले मन्त्रालयका कर्मचारीहरूलाई तत्काल कार्य योजना बनाई काम अघि बढाउन निर्देशन दिनुभयो।

मन्त्री यादवले खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मन्त्रालयले ठोस योजना अघि सारिरहेको स्पष्ट पार्दै भन्नुभयो ‘खानेपानीको समस्या काठमाडौको मात्र होइन, देशभरकै जनताले भोगिरहेका छन् । म यस विषयमा गम्भीर छु र मन्त्रालयले दिगो समाधानका लागि योजनाबद्ध ढंगबाट काम गरिरहेको छ ।’

अनुगमनका क्रममा स्थानीय समुदायसँगको छलफल गर्दै मन्त्री यादवले स्थानीय चुनौती र सम्भावनाहरूको विश्लेषण गर्नुका साथै समस्या समाधानका लागि सरकार दृढतापूर्वक क्रियाशील रहेको जानकारी गराउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार