खानेपानी व्यवस्थापन बोर्डमा आबद्ध हुन उपभोक्ता समितिहरुलाई अनुरोध

  वास खबर सम्वाददाता  194 पटक हेरिएको

मकवानपुर : थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नगरपालिकामा एकीकृत रुपमा खानेपानी सेवा व्यवस्थापनका लागि थाहा नगर खानेपानी व्यवस्थापन बोर्ड रहेको हुँदा सबै उपभोक्ता समितिहरुलाई यसैमा आवद्ध हुन आग्रह गर्नुभयो।

थाहा नगरपालिकामा आयोजित राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, खाद्य स्वच्छता, खाद्य सुरक्षा, खाना र पानीबाट सर्ने रोगहरुको रोकथाम विषयक २ दिने अभिमुखीकरणको समापन गर्दै प्रशासकीय अधिकृत गिरीले भन्नुभयो ‘खानेपानीको वितरण, मर्मत सबै कार्य गर्नका लागि सहज हुने भएकोले छरिएर रहेका उपभोक्ता समितिहरुलाई बोर्डमा आवद्ध हुन आवश्यक छ ।’

उहाँले खानेपानी बोर्डको वार्षिक योजना पेश भए अनुसार पालिकाको खानेपानी सेवालाई प्रभावकारी बनाउनका लागि नगरपालिका जहिल्यै सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो। उहाँले थाहानगरको खानेपानी व्यवस्थापन गर्ने ‘डेडिकेट’ संरचना बोर्ड नै भएकोले यसलाई थप बलियो बनाएर अघि बढाउनुपर्ने बताउनुभयो।

विकासको प्राथमिकताको मोडल परिवर्तन गरेर भएपनि नागरिकका लागि आधारभूत खानेपानी सेवा पुर्‍याउनुपर्ने उहाँले जोड दिनुभयो। नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने दायित्व सरकारकै भएकोले यसका लागि पालिका प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

प्रमुख प्रशासकीय अधिकृत गिरीले शुद्ध खानेपानीको लागि मुहानको सरसफाई, खानेपानीको प्रशोधन लगायतको कार्य गर्न आम उपभोक्ताहरुको पनि सक्रियता आवश्यक भएको औल्याउनुभयो। थाहा नगरपालिकाले खानेपानीका साथै खाद्य सुरक्षा, कृषिमा अन्धाधुन्ध प्रयोग हुँदै आएको विष नियन्त्रणका लागि कार्यक्रमहरु संचालन गर्दै आएको उहाँले बताउनुभयो। खानेपानी बोर्ड, स्वास्थ्य शाखा, कृषि शाखा लगायत सम्बन्धित शाखाहरुको सक्रियतामा यस्ता सचेतामुलक कार्यक्रमलाई समुदायसम्म पुर्‍याउन उहाँले निर्देशन दिनुभयो।

थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले थाहा नगरबासीका लागि खानेपानी तथा सरसफाइ सम्बन्धी योजना तर्जुमाको लागि समेत अभिमुखीकरण कार्यक्रमले मार्ग निर्देश गरेको बताउनुभयो।

कार्यक्रमबाट समुदायस्तरको समस्या पहिचानमा समेत सहयोग पुगेको बताउनुभयो। उहाँले थाहा नगरपालिकामा पोर्टेबल पानी परीक्षण गर्ने उपकरण आवश्यक भएको औल्याउनुभयो । यसका लागि आगामी आर्थिक वर्षसम्म प्रक्रिया अघि बढाउन सकिने उल्लेख गर्नुभयो। अधिकांश रोगको प्रवेश खाना र पानीबाट हुने बताउँदै उहाँले यी दुवै कुरा सँधै स्वच्छ राख्न नगरबासीलाई अनुरोध गर्नुभयो।

कार्यक्रममा सहभागी वृहत खानेपानी उपभोक्ता समिति थाहा–४ का अध्यक्ष ओमकर विष्टले खानेपानीको मुहान क्षेत्रमा चरण बन्देज लगाई तारबार गर्नुपर्ने बताउनुभयो। दुईदिन सम्म सञ्चालन भएको कार्यक्रम निकै प्रभावकारी भएको उल्लेख गर्दै उहाँले एसओपी नै बनाएर मुहान सरसफाईका कार्यक्रमहरु कार्यान्वयन गरी समुदायस्तरसम्म सचेतनामुलक कार्यक्रम आयोजना गर्नुपर्ने बताउनुभयो।

नागरिकहरुले खाइरहेको पानीको शुद्धताको विषयमा नगरपालिका जानकार हुनुपर्ने बताउँदै खानेपानी उपभोक्ता समिति थाहा–३ राजकुमार कार्कीले ल्याब परीक्षणका लागि अनुरोध गर्नुभयो। मापदण्डले तोके अनुसारको समयमा खानेपानी परीक्षणमा नगरले सहयोग गर्नुपर्ने कार्कीको भनाइ थियो । उहाँले खानेपानीको भौतिक पूर्वाधार व्यवस्थापनमा समेत खानेपानी बोर्डले ध्यान दिनूपर्ने उल्लेख गर्नुभयो।

थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा थाहानगर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भएको अभिमुखीकरण कार्यक्रममा थाहा नगरपालिकाका स्वासथ्यकर्मीहरु तथा खानेपानी व्यवस्थापन बोर्डका पदाअधिकारी र खानेपानी उपभोक्ता समितिका सदस्यहरुको उपस्थिती थियो । तालिमको सहजीकरण हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका माधव प्रसाद चौलागाई, संजयकुमार न्यौपाने र पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर गगन कार्कीले गर्नु भएको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार