वास विज्ञ डा.नेपाल बागमती प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त

  वास खबर सम्वाददाता  457 पटक हेरिएको

 

काठमाडौ : खानेपानी तथा सरसफाइ विज्ञ डा.गंगादत्त नेपाल बागमती प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनु भएको छ । बागमती प्रदेश सरकारको बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले डा.नेपाललाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले आयोगको रिक्त उपाध्यक्ष पदमा नेपाललाई नियुक्त गर्ने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको जानकारी दिनुभयो । बैठकले आयोगको सदस्यमा काभ्रेका गुणराज मुक्तान र काठमाडौँका डा. दीपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको मन्त्री लामिछानेले बताउनुभयो । श्रेष्ठ यसअघि पनि आयोगको सदस्य रहनुभएको थियो ।

नव नियुक्त उपाध्यक्ष डा. नेपालसँग दुर्गम स्थानमा जन्म, घाँस दाउरा गरेर हुर्किएको बाल्यकाल, नेपाल र विश्वका प्रख्यात विश्वविद्यालयबाट विद्यावारिधी सम्मको अध्ययन र नेपालको खानेपानी र सरसफाइ क्षेत्रमा निरन्तर सेवा गरेको अनुभव छ ।

उहाँसँग कक्षा २ मा अध्ययन गर्दागर्दै बाढीले विद्यालय बगाएको तीतो घटना देखि टेलिभिजनको आविष्कारक हर्मन हर्ट नि प्रोफेसर रहेको विश्वविद्यालयमा अध्ययन गर्न पाएको सफलताको कथा पनि छ । जर्मनीको जुन विश्वविद्यालयमा उहाँले सिभिल तथा वातावरण इन्जिनियरिङ संकाय अन्तर्गतको प्रादेशिक विज्ञानमा एम.एस्सी. अध्ययन गर्नुभयो, उक्त विश्व विद्यालयका ९ जना प्रोफेसरहरुले फिजिक्स तथा केमेष्ट्रिका विभिन्न विधामा नोवेल पुरस्कार समेत प्राप्त गरिसक्नु भएको छ ।

नेदरल्याण्ड तथा जर्मनका प्रख्यात विश्वविद्यालयबाट दीक्षित डा. गंगादत्त नेपालले खानेपानी र सरसफाइ क्षेत्रमा नीति निर्माण देखि सोध अनुसन्धान समेत गरिसक्नु भएको छ । उहाँले विद्या वारिधिको सोधपत्र समेत ‘जलवायु परिवर्तन र खानेपानी’ मै गर्नुभएको छ ।

उपाध्यक्षसहित तीन जनाको नियुक्तिपछि पनि आयोगमा एक महिलासहित दुई जना सदस्य नियुक्ति हुन बाँकी छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार