प्रसन्न तामाङ, काठमाडौ २९ वैशाख । काठमाडौ उपत्यका खानेपानी लिमिटेड केयूकेएलद्वारा वितरित पानीको बर्षौ पुरानो महसुल तिर्न राष्ट्रपति कार्यालय सहित केही सरकारी कार्यालयले आनाकानी गरेका छन् ।
खानेपानीको महसुुल तिर्न खानेपानी तथा सरसफाइ मन्त्रालयले सम्बन्धित कार्यालयका प्रमुखहरुलाई पत्र काटेपछि अहिलेसम्म केही कार्यालयले तिरेपनि राष्ट्रपति कार्यालय लगायतका केही कार्यालयले महसुल नतिरेको काठमाडौ उपत्यका खानेपानी लिमिटेडका प्रशासन महाशाखा प्रमुख एवं प्रवक्ता सुरेश प्रसाद आचार्यले जानकारी दिनुभयो ।
राष्ट्रपति कार्यालयले पानीको महसुल नियमित नबुझाउँदा अहिलेसम्म एक करोड ४४ लाख ४६ हजार ६ सय ३६ रुपैंयाँ तिर्न बाँकी रहेको छ । केयूकेलका अनुसार राष्ट्रपति अन्य मन्त्रालय तथा कार्यालयको गरी ४२ करोड ३२ रुपैंयाँ पानीको महसुल उठाउन बाँकी छ ।
काठमाडौ उपत्यका खानेपानी लिमिटेडका प्रशासन महाशाखा प्रमुख सुरेश प्रसाद आचार्य भन्नुहुन्छ ‘खानेपानी तथा सरसफाइ मन्त्रालयले पत्र काटेपछि हामीसँग विस्तृत विवरण मागेको थियो, हामीले कुन कुन महिनाको कति परिमाण र कति बक्यौता भन्ने सबै खुलाएर पठायौं, हामीले विवरण पठाएको पनि महिना हुन लागि सक्यो तर चासो देखाउनुभएको छैन ।’
१ करोड १२ लाख बक्यौता संकलन
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार पानीको वक्यौता महसुल उठाउने तदारुकता देखाएपछि विभिन्न सरकारी कार्यालयबाट गरी १ करोड १२ लाख रुपैयाँ वक्यौता उठाइएको छ ।
खानेपानी ट्याङ्करबाट वितरित पानीको ४१ लाख रुपैयाँ, नेपाल दुर सञ्चारबाट २६ लाख, प्रधानन्यायधीस निवास तथा सर्वोच्चबाट ४५ लाख रुपैयाँ बक्यौता उठाएको प्रवक्ता आचार्यले जानकारी दिनुभयो । ‘अझै पनि धेरै कार्यालयले तिर्नै बाँकी छ, ट्याङ्करबाट वितरित पानीको महसुल धेरै कार्यालयले भुक्तानी दिएपनि धाराबाट वितरित पानीको महसुल तिर्नै बाँकी छ ।’ आचार्यले भन्नुभयो ।
खानेपानी तथा सरसफाइ सचिव भीम प्रसाद उपाध्यायले भने खानेपानीको महसुल नतिर्ने कार्यालयको भुक्तानी सीधै अर्थमन्त्रालयबाट गर्ने गरी आफूले पहल गरिने बताउनुभएको छ ।