
लमजुङ : मुहान सुकेपछि लमजुङको बेंसीसहरमा खानेपानीको अभाव भएको छ । धारामा पानी नआएपछि स्थानीय कुवा तथा खोलाबाट पानी ल्याउन बाध्य छन् ।
करिव ३ महिनादेखि खानेपानी अभाव भएको बेंसीसहर नगरपालिका ८ नारायनस्थानकी राममाया रानाले बताउनुभयो । ‘धारामा पानी आउँदैन । २/३ दिनको फरकमा कहिले काहिँ आउँछ’ उहाँले भन्नुभयो, ‘एक घण्टा जति आउने सानो धारोले के पुग्ने ।’ पिउन, खाना पकाउन, नुहाउन, कपडा धुन समस्या भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार पुरानो पँधेरो तिनधारेबाट पानी ल्याएर प्रयोग गरिएको छ । स्थानीय टेकमाया गुरुङले पानी अभावमा शौचालय जान समेत समस्या परेको बताउनुभयो । उहाँले भन्नुभयो–‘विहान कहिले काहिँ पानी आउँछ । धारामा आउने सानो पानीले केहि पुग्दैन ।’
घरेलु तथा साना उद्योग विकास समिति कार्यालय लमजुङका प्रमुख एवं उद्योग अधिकृत मणिराम नेपालका अनुसार कार्यालयमा पानीको अभाव भएको छ । आकाशको पानी छतमा जम्मा गरेर प्रयोग गर्न बाध्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘डेढ महिनादेखि पानी आएको छैन । खानेपानी लिन कुवातिर जान्छौं । नुहाउन, शौचालय जान र कपडा धुन छतको पानी प्रयोग गर्छौं ।’
खानेपानी अभावमा बजारका होटल तथा रेष्टुरेन्ट समस्यामा परेका छन् । गेटवे हिमालय रिसोर्टका संचालक भेषबहादुर पौडेलका अनुसार पानी अभावमा होटल सञ्चालनमै समस्या हुन थालेको छ । होटलमा दैनिक १० हजार लिटर पानी आवश्यकता पर्ने उहाँले बताउनुभयो । ट्याङकरबाट पानी ल्याएर होटलमा प्रयोग गर्ने गरिएको उहाँले बताउनभुयो ।
‘फागुनदेखि पानीको समस्या छ । पर्यटक बढ्न थालेको छ । तर, पानीको अभावले होटल सञ्चालनमै मुस्किल भएको छ’ उहाँले भन्नुभयो, ‘स्वीमिङ पूल सञ्चालन गर्न सकिएको छैन ।’ पानीको अभाव भएकाले आफैंले मुहानबाट पानी ल्याएको र बोरिङ गर्ने सोंच बनाएको बताउनुभयो ।
घरघरमा विपरित पाइपमा पानी आउन छोडेपछि उपभोक्ता पुराना धारा, कुवा र पँधेरा खोज्दै हिँड्ने गरेका छन् । बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल प्रधानले खानेपानीको स्रोत अभावले बजारमा खानेपानीको समस्या परेको बताउनुभयो ।
दिनको २ समय खानेपानी वितरण गर्दैै आएकोमा एक महिनायता दिनको एक समय मात्र पानी वितरण गर्दै आएको बताउनुभयो । ‘पानीको स्रोत कम छ । उपभोक्ताले सिधै मोटर प्रयोग गर्ने गर्छन्’ उहाँले भन्नुभयो, ‘पानी वितरणमा समस्या भएकाले मोटर चलाउन प्रतिबन्ध लगाएका छौं ।’
चैतदेखि हरेक टोलटोलमा दिनको एक समय मात्र पानी वितरण गरिएको छ । पुनारोबंैकचोकदेखि घलेगाउँ चोक, सहजीसम्म विहान साँढे ५ बजेदेखि ८ बजेसम्म, फुलबारी चोक, ओख्ले र साुमदायिक अस्पतालसम्म विहान साँढे ५ बजेदेखि सवा ७ बजेसम्म पानी वितरण गर्दै आएको छ ।
फुलबारी चोकदेखि एभरेष्ट बैंक क्षेत्रसम्म विहान सवा ७ बजेदेखि साँढे ८ बजेसम्म, एभरेष्ट बैंक चोक क्षेत्रदेखि पुरानो बैंकचोकसम्म विहान साँढे ८ बजेदेखि १० बजेसम्म र सेरातर्फ बेलुका ४ बजेदेखि ७ बजेसम्म, उद्योग वाणिज्य संघदेखि सातबिसेसम्म बेलुका ४ बजेदेखि साँढे ५ बजेसम्म, उद्योग वाणिज्य संघदेखि प्रशासनचोकसम्म बेलुका साँढे ५ बजेदेखि ७ बजेसम्म, घलेगाउँ चोकदेखि हरितसड क्षेत्रसम्म बेलुका ५ बजेदेखि ७ बजेसम्म पानी वितरण गर्दै आएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख विष्णुबहादुर अधिकारीले बेंसीसहरमा दैनिक ३० लाख लिटर पानी आवश्यकता छ । दैनिक १२ लाख लिटर मात्र आपूर्ति भइरहेको उहाँले बताउनुभयो । साबिकको बेंसीसहर गाविसमा २ हजार ७ सय ४० घरपरिवार छन् । एक घरमा औषतमा ४ जना बस्छन् ।
भाडामा बस्ने, कर्मचारी लगायत गरी करिव ४५ हजार बढीलाई खानेपानी पु¥याउनुपर्ने बाध्यता रहेको समितिले जनाएको छ । महभीर, लभ्ले, डुँढखोला, पुमाखोला, ठूलापँधेरोबाट पानी ल्याएर वितरण गरिएकोमा यसले नपुग्ने भएपछि बेंसीसहर नगरपालिका १०, भाचोक खोलाबाट खानेपानी ल्याउन आयोजना निर्माण भइरहेको अध्यक्ष प्रधानले बताउनुभयो ।
दमकलबाट पानी वितरण

बेंसीसहर बजारमा पानीको अभाव भएपछि बेंसीसहर नगरपालिकाको दमकलबाट पानी वितरण गरिएको छ । बजारक्षेत्रको मनाङ्गेचौतारा, पुरानो बैंक चोक, भीमसेनस्थान चोक, नारायणस्थान चोक, फुलबारी चोक, प्रशासन चोकमा दमकल राखेर पानी वितरण गरिएको थियो ।
दमकलका अपरेटर नारायण थापाका अनुसार नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बजारमा पानीको अभाव भएको भन्दै दमकलबाट पानी ल्याउन भनेपछि ल्याएर वितरण गरिएको हो । बेंसीसहर नगरपालिका २ धुवाँखोलाबाट पानी ल्याएर वितरण गरिएको थापाले बताउनुभयो । दमकलमा ४ हजार लिटर पानी अट्छ ।
भरि ल्याएको पानी करिव आधा जति सकिएको बताउनुभयो । खोलाबाट ल्याएको पानी पिउन नमिल्ने र सोही अनुसारको सूचना उपभोक्तालाई दिइएको उहाँले बताउनुभयो ।


1815 पटक हेरिएको 

