स्मार्ट सिटीको सपना देखेको धनगढी फोहोर सिटीमा परिणत हुँदै

कैलाली : स्मार्ट सिटीको अवधारणा बोकेको धनगढी उपमहानगरपालिका फोहोरले दुर्गन्धित भएको छ । फोहोर ब्यवस्थापनमा उपमहानगरपालिकाले चासो नदिंदा धनगढी बजार फोहोर सिटीमा परिणत हुँदै गएको हो । डम्पिङ साइट नभएपछि नगरवासीले सडक किनार र खोलानालामा फोहोर फाल्ने गरेका छन् । सडक किनारमा फालिएको फोहोर समेत उपमहानगरले नियमित नउठाउँदा समस्या बढेको हो ।

स्थानीय बासिन्दा फोहोर फाल्ने ठाउँको ब्यवस्था नभएकाले सडक किनारमै फाल्नु पर्ने बाध्यता रहेको बताउँछन् । ‘नगरपालिकाले टोलटोलमा डस्टविन राखेर फोहोर फाल्ने स्थान तोकिदिए खोलामा फोहोर नफाल्ने धनगढी–२ का उमेश चौधरीले बताउनुभयो । बर्षौदेखि सडकमा फालिने फोहोरले नगरवासीको स्वास्थ्य तथा बजार क्षेत्रको सुन्दरतामा असर पारिरहेको छ । उपमहानगरपालिकाको कार्यालयले ब्यवस्थापनमा ध्यान नदिएको भन्दै नगरवासीहरूले गुनासो गर्दै आएपनि सुनुवाई भने भएको छैन । धनगढीमा बर्षेनी मानिसको चाप र बजार बढ्दै गए पनि फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध बढ्दै गएको चौधरीको भनाइ छ ।

बजारका छेउ हरेक दिन जथाभावी रुपमा फालिएका विस्कुट, चाउचाउको खोल, पानीका खाली बोतल, प्लास्टिक घाममा सुकाए झै छरिएका हुन्छन् । ‘सडकका नालामा ढल गन्हाएर बाटोमा हिड्न समेत समस्या भएको स्थानीय राजेन्द्र क्षेत्रीले बताउनुभयो ।

बजारबासी नै फोहोर व्यवस्थापनको बाधक : उपप्रमुख मिश्र

उपमहानगरले भने धनगढीलाई ब्यवस्थित र नमुना सहर बनाउने योजना अनुरुप काम थालेको बताउँदै आएको छ । धनगढी उपमहानगरपालिका उपप्रमुख शुसिला भट्ट मिश्रले बजारबासीको लापरवाहीको कारण फोहोर व्यवस्थापनमा समस्या आएको बताउनुभयो । उहाँले नगरपालिकाले फोहोर व्यवस्थापनका लागि फोहोर फाल्न निश्चित ठाउँ तोकेको भए पनि स्थानीयले जताततैं फोहोर फाल्ने गरेको उहाँको भनाइ छ ।

नगरपालिकासँग जमिन अभावमा निश्चित फोहोर ब्यवस्थापनको स्थान नभएपनि ब्यवस्थापनका लागि भने प्रयास भइरहेको उहाँले बताउनुभयो । ‘फोहोर व्यवस्थापनको काम नगरपालिकाको प्राथमिकतामा नै छ । तर, अहिलेसम्म डम्पिङ साइटको अभावका कारण हामी असफल भएका हौं’ उहाँले भन्नुभयो । उपप्रमुख मिश्रका अनुसार डम्पिङ साइटका लागि स्थान निश्चित भइसकेको छ यसका लागि उपमहानगरपालिकाले मन्त्रालयमा निवेदन पठाईसकेको छ । निवेदन स्वीकृत हुने बित्तिकै काम सुरु हुने उहाँको भनाइ छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार