यसरी गएको थियो मेलम्ची मजदुरको ज्यान, आफन्त नआएपछि अझै पोष्टमार्टम हुन सकेन

काठमाडौ ३१ जेठ । स्वयम्भु —सीतापाइला खण्डमा झण्डै तीन महिना देखि भइरहेको पाइप विछ्याउने काम बुधबार उज्यालो हुँदा सक्नुपर्ने दायित्व थियो । त्यसै अनुसार सबै शक्ति त्यसैमा परिचालित थियो ।

स्काभेटर चालकले पाइप विछ्याउने खाल्डो खनेर निकालेको माटो खाल्डोको दायाँबायाँ थुपारिएको थियो । पाइप विछ्याउनु अघि खाल्डोमा बालुवा मिलाउने काम गरिसकेपछि पाइप हालेर त्यसको वरिपरि फेरि बालुवा हाल्ने र वरिपरि प्लाष्टिकले बेर्ने काम गर्दै थिए तीन जना मजदुर ।

यही ठाउँ हो, जहाँ माटोको ढिस्को खस्दा पुरिएर तीन जना मजदुरको ज्यान गएको थियो । 

उनीहरु थिए नाग्लिबाङ ८ का ४७ बर्षका तेज बहादुर केसी, सप्तरी बनौला २ का श्याम सुन्दर राम र सप्तरी काचन ३ का सन्तोष दास । त्यत्तिबेला माथिबाट ढिस्को खस्यो र तीनै जना पुरिए । झण्डै २ बजेको समय थियो । घटनास्थल नजिकै फलफूल पसल गर्दै आउनुभएका गोकुल केसीका अनुसार झण्डै ८/९ फिटको गहिराई थियो ।

खाल्डोमा बालुवाले सम्याइरहेको बेला स्काभेटरको बकेट माटोको ढिस्कोमा टेकाएर राख्दा बकेटको भारले भत्कियो र थिचियो । ‘स्काभेटर चालक थकित भयो, डोजरको काम थिएन, बकेट चाहिं माटोको ढिस्कोमाथि टेकाइरहेको थियो, अनि हिलो र गिलो माटोमा माथिको भारले गर्दा भत्कियो र पुरियो ।’

गोकुल केसी, जसले मेलम्ची खानेपानीको पाइपल लाइन विछ्याउने काममा सल्लाह दिदै आउनुभएको थियो । 

प्रहरीका अनुसार घटनास्थलमा १५ मिटर लम्बाइ, ५ मिटर चौडाइ र ३ मिटर गहिराईको खाडल खनिएको थियो ।

घटनास्थल नजिकै प्रहरी चौकी भएपनि महानगरीय प्रहरी बृत्त स्वयम्भुको प्रहरी टोली पनि घटनास्थलमा पुगेको र ढिस्को खसेको ठाउँबाट निकाल्दा तिनै जना मजदुरको ज्यान गइसकेको महानगरीय प्रहरी बृत्त स्वयम्भुका प्रहरी निरीक्षक खेम आचार्यले जानकारी दिनुभयो ।

उनीहरुलाई तेन्जिङ रमन जोइन्ट भेन्जरले काममा लगाएका थिए । आफूले सुरक्षा अपनाउदा अपनाउदै पनि दुःखद घटना हुन गएको ठेकेदार कम्पनीका योजना प्रमुख प्रद्युम्नमान चित्रकारले जानकारी दिनुभयो ।

तीन पटक परिवर्तन गरिएको थियो पाइप लाइनको रुट

सीतापाइलाका बासिन्दाका अनुसार त्यस क्षेत्रमा तीन पटक पाइप लाइन परिवर्तन गरी पाइप विछ्याइएको हो । पहिलो पटक खनेको पाइपलाइन सडक पार गर्न नसकेपछि असफल भएको थियो ।

त्यसपछि ५ मिटर वरतिर खनेको लाइनमा समेत ढलको पाइप भेटिएपछि विछ्याइसकेको ९ वटा पाइप समेत निकालेर रुट परिवर्तन गरी फेरि खनिएको थियो । ‘यस्तो घटना हुनु थियो क्यारे ! यहाँ तीन लाइन पाइप खनियो, झण्डै ५/६ महिना नै भइसक्यो काम शुरु भएको पनि’ सीतापाइलाका गोकुल केसीले भन्नुभयो ।

पोष्टमार्टम हुन बाँकी

विहान ६ बजे नै पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पु-याएका मजदुरको अझै पोष्टमार्टम हुन सकेको छैन । मृतकका आफन्त नआएपछि पोष्टमार्टम हुन नसकेको शिक्षण अस्पताल स्रोतले जनाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार