नुवाकोट : नुवाकोट क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद हित बहादुर तामाङ सहितको टोलीद्वारा बञ्चरेडाँडा ल्याण्डफिल साईडको अनुगमन गरिएको छ । सांसद तामाङले काठमाडौ उपत्यकाको फोहोर विसर्जन गर्दै आएको सिसडोल ल्याण्डफिल साईडको विकल्पमा निर्माण भईरहेको बञ्चरेडाँडा ल्याण्डफिल साईडको अनुगमन गरी यसको अवस्थाबारे जानकारी हासिल गर्नुभयो ।
वास मिडिया फोरम नेपालले आयोजना गरेको ‘वास बहस, श्रृंखला तीन’ मा सहभागी हुन नुवाकोटको सिसडोल पुग्नु भएका सांसद तामाङले सोही मौकामा बञ्चरेडाँडा ल्याण्डफिल साईडको पनि अनुगमन गर्नुभएको हो । उहाँले साईट इञ्जिनियरहरुसँग बञ्चरेडाँडा ल्याण्डफिल साईडको निर्माणको अवस्थाबारे जानकारी लिनुभएको थियो । ‘हामीले सिसडोलको अवस्था पनि बुझ्यौं, तोकिएको समयभित्रै बञ्चरेडाँडा निर्माण सम्पन्न भएन भने भयावह अवस्था आउन सक्छ, त्यसैले जनशक्ति थप गरेर भएपनि यसलाई समयमै सम्पन्न हुने अवस्थामा पु¥याउनुहोस्’ उहाँले साईट इञ्जिनियरलाई निर्देशन दिनुभयो ।
सहरी तथा भवन निर्माण विभागले बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साईड निर्माणको काम लुम्बिनी – कोशी एण्ड न्यौपाने जेभीलाई ठेक्का दिएको छ । एक वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का पाएको कम्पनीले ८ महिना गुजारिसकेको छ । २०७६ बैशाख २२ मा भएको ठेक्का सम्झौता सकिन अब ४ महिना मात्र बाँकी छ ।
अनुगमन टोलीमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्याल, ककनी गाउँपालिका वडा ३ का अध्यक्ष घननाथ बजगाई, वास मिडिया फोरम नेपालकी अध्यक्ष मनिषा अवस्थी लगायत हुनुहुन्थ्यो ।
काठमाडौ उपत्यकाको १८ वटा नगरपालिकाबाट उत्पादन भईरहेको फोहोर नुवाकोटको ककनी गाउँपालिका १ को सिसडोल ल्याण्डफिल साईटमा व्यवस्थापन गर्दै आएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साईट निर्माण सम्पन्न भएपछि काठमाडौको फोहोर बञ्चरेडाँडामा विसर्जन गरिनेछ । तर बन्चरेडाँडा ल्याण्डफिल साईड निर्माण सम्पन्न गर्न अझै समय लाग्ने भएकाले फोहोरका कारण सिसडोलका बासिन्दाले व्यहोर्दै आएको समस्याबाट मुक्ति पाउन केही समय लाग्ने देखिन्छ ।