मानव मलमूत्रबाट ईंटा बनाउन सकिने

बेलायत : मानव मलमूत्र कसै – कसैले कृषि मलको रूपमा प्रयोग गरेपनि अन्य काममा खासै प्रयोगमा आउन सकेको छैन । तर वैज्ञानिकहरूले मानव मलमूत्रबाट भवन निर्माणको सामग्री बनाउन सकिने उपाय पत्ता लगाएका छन् । वैज्ञानिकहरूले पत्ता लगाएको नयाँ तरिका प्रयोग गरी परम्परागत माटोलाई मानव मलमूत्रसँग मिसाएर घर बनाउने इँटा निर्माण गर्न सकिन्छ । इँटा निर्माणका लागि २५ प्रतिशत मल र बाँकी परम्परागत माटोको प्रयोग गरिएको थियो । यसरी बनाइएको इँटाको सामथ्र्यको परीक्षण पनि गरिएको थियो ।

 

 

यसमा पानी छिर्ने र तात्ने समस्या पनि सामान्य इँटाको तुलनामा कम रहेको पाइएको छ । संरचना निर्माणका लागि माटो र मलबाट बनाइएको इँटाको प्रयोग गर्ने हो भने अहिले खेतीका लागि पठाइने वा जम्मा पारेर राखिने ३० प्रतिशत फोहोर कम हुनेछ । यो प्रक्रिया एक अभ्यास रहेको र यो विश्वभरका जैविक फोहोरको पुनः प्रयोगको उचित उपाय रहेको अस्ट्रेलियाको आरएमआईटी विश्वविद्यालयका अनुसन्धानकर्ताले सार्वजनिक गरेको शोध प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदन जर्नल बिल्डिंग्समा प्रकाशित भएको थियो ।

केवल १५ प्रतिशत जैविक मलको प्रयोग इँटा उत्पादनमा गर्ने हो भने यसले इँटा उत्पादनको क्रममा हुने कार्बन उत्सर्जन घटाउन पनि सहयोग पुग्छ । साथै यसले इँटाको वातावरणीय र इन्जिनियरिङ मापदण्ड पनि पूरा गर्न सक्छ । यो इँटा बनाउन थोरै ऊर्जा खपत गरे पुग्छ । यो साधारण इँटाको तुलनामा बलियो हुने पनि बताइएको छ ।

ऊर्जा खपत कम गर्नुको अर्थ कार्बन उत्सर्जन घटाउनुका साथै आर्थिक बचत गर्नु पनि हो । सामान्य इँटा भट्टामा २ हजार ५ सय फरेनहाइटभन्दा माथिको तापक्रममा पकाएर इँटाको निर्माण गरिन्छ । यसबाट उल्लेख्य मात्रामा कार्बन डाइअक्साइड ग्यास निस्किने गर्छ । ‘इँटा बनाउँदा जैविक फोहोरको प्रयोग गर्नु ठूलो वातावरणीय चुनौतीको समाधान बन्न सक्छ,’ आरएमआईका इन्जिनियर अब्बास मोहाजेरानीले भन्नुभयो ।

भवन निर्माणमा यो इँटाको प्रयोग गर्न भने अझै धेरै अनुसन्धान आवश्यक छ । तर, प्रारम्भिक संकेतले भने भवन निर्माणमा यसको प्रयोग गर्न सकिने देखाएको छ । यसअघि मानिसको पिसाबमा पनि यस्तै किसिमको अनुसन्धान गरिएको थियो । अनुसन्धानमा इँटा निर्माणमा मानिसको पिसाबको प्रयोग गर्न सकिने पाइएको थियो ।

दक्षिण अफ्रिकाको केपटाउनका विद्यार्थीहरूले जैविक मूत्रको प्रयोग गरी इँटा तयार पारेका थिए । यो प्रक्रियालाई माइक्रोबायल प्रेसिपिटेशन भनिन्छ । यसबाट सामान्य कोठाको तापक्रममा निकै कम ऊर्जाको खपत गरी इँटा निर्माण गर्न सकिन्छ ।

अहिले पत्ता लगाइएको नयाँ प्रक्रियाबाट नाइट्रोजन र पोटासियम पनि उत्पादन गर्न सकिन्छ । सबै प्रकारका अनुसन्धान पूरा भए व्यवसायिक रूपमा नै मलको प्रयोग गरी इँटा उत्पादन गर्न सकिने बताइएको छ । एजेन्सी


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार