काठमाडौ : हिमालपारिको जिल्ला मनाङलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । खुला दिसामुक्त घोषणा भएका जिल्लाहरु मध्ये मनाङ ३९ औं जिल्लामा परेको छ । मनाङका १२७५ घर मध्ये १२६५ घरमा चर्पी बनेर प्रयोगमा आएपछि राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य, जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा गाउँपालिकाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा आयोजित कार्यक्रममा मनाङलाई शनिबार खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।
४ गाउँपालिका रहेको मनाङका १० घरमा अझै शौचालय निर्माण गर्न बाँकी छ, तर ती घरधुरीले सामुहिक शौचालय प्रयोग गर्दै आएका खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालयका प्रमुख एवं जिल्ला स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिका सदस्य सचिव मधु तिमल्सिनाले जानकारी दिनुभयो ।
खुला दिसामुक्त घोषणा सभामा सदस्य सचिव तिमल्सिनाले प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं मनाङका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले खुला दिसामुक्त पछिको अवस्था झन् चुनौतीपूर्ण भएकाले सरोकारवालाको भूमिका अझ बढेको बताउनुभयो ।
यस्तै खानेपानी तथा ढल निकास विभागका समाजशास्त्री भोजेन्द्र अर्यालले खुलादिसामुक्त गर्नु भनेको दिसा लुकाउने चरण मात्र भएकाले आउँदो दिनमा मनाङलाई पूर्ण सरसफाइ तिर लैजान अग्रसर हुनुपर्ने बताउनुभयो । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष एवं राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य राजेन्द्र अर्यालले सरसफाइको दीगोपना मुख्य चुनौतीपूर्ण हुने भएकाले भीवाससीसी तथा वार्ड वास सीसीको भूमिका अझ बढेको बताउनुभयो ।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले कर्मचारीले यहाँसम्म ल्याएको जिल्लाको सरसफाइको अवस्थालाई भावी दिनमा सुदृढ तुल्याउदै लैजाने र आफूहरुका लागि चुनौती पनि त्यत्तिकै रहेको बताउनुभयो ।
जिल्ला समन्वय समिति मनाङको सहयोग तथा खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति मनाङको आयोजनामा मनाङलाई खुला दिसामुक्त घोषणा गरिएको हो । मनाङमा २०६८ सालदेखि सरसफाइ अभियान सुरु गरिएको हो ।