काठमाडौ : चाँगुनारायण नगरपालिकाले खानेपानी मन्त्रालय र मातहतका निकायले नगरपालिका क्षेत्रभित्र निर्माण गरेका खानेपानी आयोजनाको चल अचल सम्पक्ति नगरपालिकामा हस्तान्तरण गर्न खानेपानी मन्त्रालय समक्ष माग गरेको छ । नेपालको संविधानले आधारभूत खानेपानीको प्रबन्ध स्थानीय तहले गर्नुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै मन्त्रालय र अन्तर्गतका निकायबाट विगतमा सम्पन्न भएका खानेपानी आयोजनाहरुको अनुगमन, नियमन, विस्तार तथा स्तरोन्नति समेत नगरपालिकाले गर्नुपर्ने भएकाले आयोजनाको विद्यमान अवस्था, सञ्चालन संयन्त्र आदिको पूर्ण विवरण सहित चल अचल सम्पक्ति यथासक्य चाँडो हस्तान्तरण गर्न पत्राचार गरिएको हो ।
नेपालको संविधानको धारा ५७, राज्यशक्तिको बाँडफाँड अन्तर्गत संविधानको अनुसूची ८ मा आधारभूत खानेपानीको व्यवस्था स्थानीय तहको अधिकारको सूचीमा रहेको छ । संविधानको प्रावधान बमोजिम प्रत्येक घरधुरीमा खानेपानी सेवा उपलब्ध गराउने कर्तव्य नगरपालिकाको भएकाले विगतमा सम्पन्न खानेपानी आयोजनाको चल अचल सम्पक्ति हस्तान्तरण गर्न खानेपानी मन्त्रालय समक्ष अनुरोध गरिएको नगरप्रमुख सोम मिश्रले बताउनुभयो ।
उहाँले नगरपालिकाले एकीकृत रुपमा खानेपानी सेवा सञ्चालनको खाका समेत तयार गरी रहेको र २०७८ भित्र सबै घरधुरीमा खानेपानी सेवा उपलब्ध गराउने नीति लिई कार्यक्रम कार्यान्वयन गरिरहेको बताउनुभयो ।
नगरपालिकाले यही माघ २ गते खानेपानी मन्त्रालयलाई गरेको पत्राचारमा भनिएको छ ‘यस नगरपालिका क्षेत्रभित्र तहाँ मन्त्रालय र अन्तर्गतका निकायबाट विगतमा आयोजना सञ्चालन भई सम्पन्न भएका खानेपानी आयोजनाहरुको अनुगमन, नियमन, विस्तार तथा स्तरोन्नति समेतका लागि यस नगरपालिकामा हस्तान्तरण भई आउन अति आवश्यक भएको छ । तसर्थ उक्त आयोजनाहरुको विद्यमान अवस्था, सञ्चालन संयन्त्र आदिको पूर्ण विवरण एवं चल अचल सम्पक्ति सहित यस नगरपालिकामा यथासक्य चाँडो हस्तान्तरण गरिदिनुहुन अनुरोध गर्दछु ।’
चाँगुनारायण नगरपालिकाले नगर क्षेत्र भित्र सञ्चालित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको स्थापना तथा दर्ता गर्ने कामलाई नियमन र व्यवस्थापन गर्न यस अघि नै “खानेपानी तथा सरसफाइ उपभोक्ता समिति व्यवस्थापन कार्यविधि २०७५” जारी गरिसकेको छ ।
चाँगुनारायण नगर कार्यपालिकाबाट स्वीकृत गरी लागु गरिएको खानेपानी उपभोक्ता समिति व्यवस्थापन कार्यविधिमा दर्ता नगरी कसैले पनि उपभोक्ता समिति स्थापना गर्न नपाईने, नगरपालिका क्षेत्रमा खानेपानीको मुहान बाट संकलन गरी खानेपानी व्यवस्थापन गर्नु पर्ने अवस्थामा मूल सहित आधिकारिक खानेपानी तथा सरसफाइ उपभोक्ता समिति दर्ता गर्नुपर्ने र यसका लागि खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मुहान दर्ताको लागि नगरपालिका समक्ष माग गर्नुपर्ने व्यवस्था छ ।
चाँगुनारायण नगरपालिकाले २०७८ साल पुसभित्रै पूर्ण सरसफाइ उन्मुख नगरपालिका घोषणा गर्ने गरी पूर्ण सरसफाइ रणनीतिक योजना २०७५ समेत जारी गरिसकेको छ । पूर्ण सरसफाइ उन्मुख नगर घोषणाका लागि पनि सबै घरमा आधारभूत खानेपानीको व्यवस्था गर्नुपर्ने भएकाले खानेपानी मन्त्रालय र मातहतका निकायबाट सम्पादित खानेपानी आयोजनाको चल अचल सम्पक्ति हस्तान्तरण गर्न माग गरिएको नगरप्रमुख मिश्रले बताउनुभयो ।