
काठमाडौ : होण्डा शोरुमका शौचालयहरु सार्वजनिक प्रयोगका लागि खुल्ला गरिएको छ । स्याकार ट्रेडिङ कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योतिले अब देखि होण्डा शोरुमहरुमा निःशुल्क शौचालय उपलब्ध हुने घोषणा गर्नुभएको हो । अध्यक्ष ज्योतिले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ ‘परिवर्तन सुरु हुन्छ हामीबाट त्यसैले एक स्वच्छ वातावरण निर्माण गर्ने पहलमा, अब देखि सबै होण्डा शोरूमहरूमा निःशुल्क शौचालय उपलब्ध हुने घोषणा गर्न पाउँदा हामी गर्व गर्दछौं ।’
यस अघि काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौ उपत्यकाको सार्वजनिक शौचालयको समस्या हल गर्न रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्ने निर्णय गर्नुभएको थियो । उहाँले कार्यभार सम्हालेकै दिन गत १६ गते सोमबार नगर कार्यपालिकाको पहिलो बैठकमै रेष्टुरेन्ट र पेट्रोल पम्पहरुसँग सार्वजनिक शौचालय सञ्चालनका लागि प्रस्ताव गर्ने निर्णय गर्नुभएको थियो ।
उहाँको निर्णयको समर्थनमा देशका विभिन्न ठाउँमा खोलिएका रेष्टुरेन्ट तथा गेष्ट हाउसले समेत आफूहरु सँग भएका शौचालय सार्वजनिक प्रयोजनका लागि समेत प्रयोग गर्न दिईने घोषणा गरिरहेका छन् ।


868 पटक हेरिएको 

