काठमाडौ : काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट जाँदै गरेका सयौं गाडीहरु आज पनि बीच बाटामै रोकिएका छन् । हिजो सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरे सँगै आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले बीच बाटोमै फोहोरका गाडी रोकिदिएका हुन् । हिजो धादिङको धुनिबेशी नगरपालिका-१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए ।हिजो गएका २५ वडा गाडीले मात्र फोहोर खसालेका थिए ।
राजनीतिक दलहरुको अवरोधका कारण आज बिहान काठमाडौंबाट गएका कुनै पनि गाडीले फोहोर खसाल्न नपाएपछि बीच बाटोमै रोकिएका हुन् । फोहोरका गाडी रोकिएपछि काठमाडौका मेयर बालेन शाहले फोहोरमा घिन लाग्दो राजनीति नगर्न आग्रह गर्नुभएको थियो ।
स्थानीय राजनीतिक दलहरुले आफ्नो स्वार्थपूर्तिका लागि फोहोर विसर्जनमा अवरोध गरेको आरोप लगाएका छन् । अहिले बन्चरेडाँडामा एक सय बढी स्थानीय सडकमा आएका छन् ।