दुई सय प्रहरी परिचालन गरी दुई सय गाडी फोहोर बञ्चरे पुर्‍याईयो

काठमाडौ : सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध पारे पनि काठमाडौ महानगरपालिकाले २ सय ३ वटा गाडीको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साईट पुर्‍याएको छ । २ सय भन्दा बढी प्रहरी परिचालन गरी फोहोरका गाडीहरु बञ्चरेडाँडा ल्याण्डफिल साईट पुर्‍याएको काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी दिनुभयो ।

प्रहरी परिचालन गरेर फोहोर ढुवानी गर्दा समेत केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गरेका २ सय ३ वटा गाडीका फोहोर मात्र बञ्चरे डाँडा लैजान सकिएको उहाँले जानकारी दिनुभयो ।

महानगर प्रमुख शाहले काठमाडौको फोहोर व्यवस्थापनमा केही दिनदेखि देखिरहेको समस्या सतही मात्रै भएको र यसका गहिरा र अलग्गै कारणहरु रहेको चित्रित गर्नुभएको छ । फेसबुकमा लामो स्टाटस लेख्दै उहाँले भन्नुभएको छ ‘राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नुपर्छ ? २०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ ?’

उहाँले केही कमजोरी, केही गलत भएको भन्दै सिसडोलमा गरिएको लापरवाही र त्यो क्षेत्रको दुरावस्थाले गर्दा स्थानीयहरुले जो सुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक नभएको बताउनुभएको छ ।

उहाँले विगत दोहोर्‍याएर अपराध नगर्ने बाचा गर्नुभएको छ । ‘सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील छ । हामी आफुले गरेका सहमतिहरुको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यही किसिमको संवेदनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ ।’ उहाँले भन्नुभएको छ ।

उहाँले राजनीतिक दलहरु प्रति लक्षित गर्दै आफ्ना कुत्सित स्वार्थहरुको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोचेको भए त्यो भ्रम हुने बताउनुभएको छ । महानगर प्रमुख शाहले व्यवस्स्थापन स्वार्थहरुको नभई फोहोरको हुनुपर्ने उल्लेख गर्नभएको छ । ‘त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन । सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ ।’ उहाँले दृढता व्यक्त गर्नुभएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार