ओखलढुंगा : ओखलढुंगा सदरमुकामबाट खिजीदेम्बा जोड्ने ह्योलुङ–वन्से–खिजीफलाटे सडक खण्ड पहिरोले अवरुद्ध बनाएपछि केही दिन सदरमुकामसँगको सम्बन्ध टुट्यो । योलुङ खोलाको ह्युमपाइपले बाढी धान्न नसके पछि खिजीदेम्बाका युवाहरुलाई पर्नु पीर परेको थियो । नपरोस् पनि कसरी, किनकि जनताको हरेक सुख दुःखमा साथ दिने गाउँपालिका अध्यक्ष त्यत्तिबेला काठमाडौमा हुनुहन्थ्यो ।
अवरुद्ध सडक खुलाउन ढुङ्गा माटो सँगै खेलिरहेका बेला केही सुकिला मुकिला जस्ता देखिने व्यक्तिहरु आएर सोधे, अध्यक्ष को हुनुहुन्छ ? युवाहरु सँगसँगै काममा खटिएका अध्यक्ष शेर्पा चिनिन सक्ने अवस्थाको हुनुहुन्थेन।
स्थानीयहरु के गरौं र कसो गरौं भईरहेको बेला गाउँपालिका अध्यक्ष गोम्बु शेर्पा योलुङ खोला जोड्ने सडक खण्ड मर्मतका लागि स्थानीय युवाहरु समेत लिएर टुप्लुक्क पुग्नुभयो । यो असार २१ गते बिहीबारको कुरा हो ।
गाउँपालिका र पार्टीको कामले राजधानी पुग्नु भएका शेर्पालाई गाउँपालिकाको सडक अवरुद्ध रहेको खबरले तत्कालै गाउँपालिका फर्किन वाध्य बनाएको रहेछ । अध्यक्ष शेर्पाले भन्नुभयो ‘मगलबार साँझ खिजीफलाटे आईपुगें, बुधबार कार्यालयको केही काम सकेर खिजीदेम्बा वडा नं. ३ चण्डेश्वरीमा अबरुद्ध बाटो सफा गर्न जेसिवि लिएर गएँ ।’

काठमाडौंबाट खिजीफलाटे जोड्ने मूल सडकमा गाडी फस्ने समस्या समाधान गरेर अध्यक्ष शेर्पा योलुङ खोला जोड्ने सडक खण्ड मर्मतका लागि युवाहरु लिएर आउनु भएको रहेछ ।
खिजीफलाटेदेखि योलुङ खोला सम्मको सडक करीव १२ घण्टा लगाएर खुलाउन सफल भएको वडा नं. ६ का अध्यक्ष पासाङ निमा शेर्पाले जानकारी दिनुभयो । जसमा गाउँपालिकाबाट जेसिवि मेसिन र स्थानीय बासिन्दाले श्रमदान गरेका थिए ।
अवरुद्ध सडक खुलाउन ढुङ्गा माटो सँगै खेलिरहेका बेला केही सुकिला मुकिला जस्ता देखिने व्यक्तिहरु आएर सोधे, अध्यक्ष को हुनुहुन्छ ? युवाहरु सँगसँगै काममा खटिएका अध्यक्ष शेर्पा चिनिन सक्ने अवस्थाको हुनुहुन्थेन। ती व्यक्तिहरु रहेछन् उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगाका तामेलदारहरु ।
अध्यक्ष गम्बु शेर्पा विरुद्ध परेको मुद्दाको म्याद तामेलीका लागि गाउँपालिकाको कार्यालयमा नभेटेपछि उनीहरु अध्यक्ष खोज्दै श्रम गरिरहेकै ठाउँमा आएका रहेछन् ।

श्रमदान गर्दै गर्दा उहाँले आफू विरुद्ध नागरिकता पुनः प्राप्ति प्रकरणमा जोडिएर उच्च अदालतमा दर्ता भएको मुद्दाको म्याद समेत बुझ्नु भयो । अध्यक्ष शेर्पा म्याद बुझेपछि पनि निरन्तर स्थानीयहरु सँग ढुंगा उचाल्ने, माटो फ्याँक्ने, झाडी सफा गर्ने, कुलो काट्ने काममा क्रियाशील हुनु भएको कुशाङ शेर्पाले बताउनुभयो ।
अध्यक्ष शेर्पा विरुद्ध गैर नेपाली भएकै अवस्थामा स्थानीय निर्वाचनमा भाग लिएको, अमेरिकी नागरिकता त्याग नगरी नेपाली नागरिकता लिएको आरोपमा उच्च अदालतमा कांग्रेस नेता भूपेन्द्र वस्नेतले रिट दायर गर्नुभएको थियो ।
रिटको पहिलो चरणमा सुनुवाई गर्दै उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगाले १५ दिनभित्र जवाफ पेश गर्न आदेश जारी गरेको हो ।
सबै प्रक्रिया पूरा गरेरै नागरिकता लिएको हुँ : अध्यक्ष शेर्पा
अदालतले जारी गरेको म्याद बुझ्दै अध्यक्ष शेर्पाले आफूले सबै प्रक्रिया पूरा गरेर नै नागरिकता पुनः प्राप्त गरेको प्रतिक्रिया दिनुभयो ।
सञ्चारकर्मीसँग अध्यक्ष शेर्पाले भन्नुभयो ‘मसँग अमेरिकी विशिष्ट नागरिकको हैसियतमा नागरिकता थियो । १८ बर्ष अमेरिकी बसाई त्याग्ने निधो गरेसँगै नागरिकता त्याग्ने घोषणा गरेँ । अमेरिकी कानून अनुसार विधिपूर्वक नागरिकता त्यागेर आएको हुँ । फेरि अमेरिकी नागरिक बन्दिन भनेर सपथ खाई, निस्सा लिएर आएको हुँ ।’
नेपाली नागरिकता पुनः प्राप्तिको सन्दर्भमा अध्यक्ष शेर्पाले इलाका प्रशासन कार्यालयबाट नागरिकता ऐन २०६३ अनुसार अमेरिकी नागरिकता त्यागेको निस्सा पेश गरेर नागरिकता पुनः प्राप्त गरेको दाबी गर्नुभयो ।
आफू निःस्वार्थ रुपमा जनताको सेवामा लागि रहेको र नागरिकको हीत र खुसीका लागि अहोरात्र खटिरहँदा आफ्नो लोकप्रियता देखेर प्रतिपक्षीहरुले अनेकन वहाना झिकेर अवरोध गर्न खोजेको उहाँले आरोप लगाउनुभयो । ‘म सेवा गर्न आएको हुँ, यसरी नै श्रमदान वा अन्य माध्यम मार्फत जनताको सेवामा खटिनेछु । अनेक वाधा व्यवधान सिर्जना गरे पनि विचलित हुने छैन्, दृढताका साथ खिजीदेम्बावासीको खुसीका लागि लागि पर्नेछु ।’ अध्यक्ष शेर्पाले भन्नुभयो ।

अध्यक्ष शेर्पाले अघिल्लो बर्ष पनि बर्षात भरि श्रमदान र गाउँपालिकाको जेसिबी प्रयोग गरी गाउँपालिकाभित्र सडक अबरुद्ध हुन दिनु भएको थिएन । श्रम संस्कृतिको विकास गर्ने र विकास निर्माणमा जनसहभागिता बढाउने उद्देश्यले श्रमदान अभियानमा सुरु देखि सरिक भईरहेको र यो निरन्तर सञ्चालन हुने उहाँले बताउनुभयो ।
अध्यक्ष शेर्पा खानेपानीको प्यासले छट्पटाईरहेको वस्तीमा आफै कुलो खन्न, पाइप पुर्न र सिमेन्ट बोक्न तल्लीन हुनुहुन्छ । पहिरोले सडक अवरुद्ध भएको खबर पाउन साथ स्थानीय युवाको साथमा जेसिबी र कुटो कोदालो लिएर टुप्लुक्क पुग्नुहुन्छ । गाउँपालिका भित्र कोही बिरामी पर्दा सहयोग गर्न नछुटाउने अध्यक्ष शेर्पा कसैको मृत्यु हुँदा पनि सकेसम्म नछुटाई पुग्नुहुन्छ ।
अध्यक्ष शेर्पा भन्नुहुन्छ ‘जहाँ मलाई खोज्नुहुन्छ, जनताले मलाई त्यही भेट्न सकियोस्, म त्यही ध्येयले काम गरिरहेको हुन्छु ।’

विपक्षीको समेत मन जित्न सफल अध्यक्ष शेर्पा प्रति जनसाधारण भन्छन् ‘यत्तिको अध्यक्ष पाउनु खिजीदेम्बाबासीको अहोभाग्य हो ।’


2601 पटक हेरिएको 

