यस्तो विद्यालय, जहाँ पढ्नलाई २ वटा साबुन बुझाउनुपर्छ (भिडियो सहित)

  वास खबर सम्वाददाता  655 पटक हेरिएको

बारा : कुनै नयाँ विद्यालयमा भर्ना हुँदा भर्ना शुल्क बुझाउनुपर्ने नियम नयाँ होइन । तर मधेस प्रदेशको एक विद्यालयमा पढ्न चाहने विद्यार्थीले २ वटा नुहाउने साबुन अनिवार्य बुझाउनुपर्छ ।

भर्ना हुँदा विद्यार्थीले साबुन बुझाउनु पर्ने विद्यालय हो बाराको जीतपुर सिमरा उप–महानगरपालिकाको वडा नं. २० मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कन्चनपुर ।

विद्यालयले किन यस्तो व्यवस्था गरेको रहेछ भनेर बुझ्दै जाँदा विद्यालयमा सञ्चालन भएको ‘विद्यालय खानेपानी तथा सरसफाइ कार्यक्रम’ले गर्दा विद्यार्थीको बानी व्यहोरा परिवर्तन भई साबुन पानीले नियमित हात धुन थालेपछि साबुनको खपत बढ्न थालेछ ।

साबुनको प्रबन्ध नगरौं, साबुन पानीले हात धुने बालबालिकाको बानी छुट्ने भयो, साबुनको व्यवस्था गरौं, विद्यालयसँग आम्दानीको कुनै पनि स्रोत भएन । आम्दानीको कुनै पनि स्रोत नभएको विद्यालयमा साबुनको खर्च धान्नै मुश्किल परे पछि यस्तो जुक्ति निकालिएको रहेछ ।

विद्यालयका प्रधानाध्यापक मुस्लिम अन्सारीको दिमागमा एउटा सोच आएछ । ‘विद्यार्थीको बानी व्यहोरा सँग सम्बन्धित यस्तो राम्रो कामलाई निरन्तरता दिनैपर्छ । बरु विद्यालयमा भर्ना हुने नयाँ विद्यार्थीबाट साबुन संकलन गरौं ।’

उहाँले यो प्रस्ताव विद्यालय व्यवस्थापन समितिको बैठकमा पेश गर्नभयो । प्रधानाध्यापक अन्सारी भन्नुहुन्छ ‘यो प्रस्तावले विद्यालय व्यवस्थापन समितिले पनि सोझै सहमति जनायो, त्यसपछि नयाँ भर्ना हुन आउने प्रत्येक विद्यार्थीबाट २/२ वटा हात धुने साबुन लिने निर्णय गरियो ।’

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

भर्ना हुने नयाँ विद्यार्थीबाट दुईटा साबुन लिने निर्णय भएकै बर्ष विद्यालयमा १२७ जना भर्ना भएका छन् । ती विद्यार्थीबाट २१ दर्जन साबुन संकलन भएको प्रधानाध्यापक अन्सारीले बताउनुभयो । हाल मौज्दात रहेको साबुनबाट कम्तीमा ६ महिना पुग्ने आंकलन गरिएको छ । त्यसपछि पुराना विद्यार्थीबाट समेत प्रति विद्यार्थी एउटा साबुन संकलन गर्ने सोच रहेको अन्सारीले बताउनुभयो ।

खानेपानी र सरसफाइ सुविधाले भर्ना दर बढ्यो

२०५२ असार देखि निरन्तर प्रधानाध्यापक हुनुहुन्छ मुस्लिम अन्सारी । चार पाँच बर्षको दौरानमा ६० जना भन्दा बढी विद्यार्थी भर्ना भएको कहिल्यै याद छैन उहाँलाई । तर यस शैक्षिक सत्रमा १२७ जना नयाँ विद्यार्थी भर्ना भएका छन् ।

विद्यार्थी आकर्षित हुनुका कारण मध्ये खानेपानी र सरसफाइ सुविधा प्रमुख रहेको उहाँको भनाइ छ । छिमेकी विद्यालयहरुमा आफ्नो विद्यालयको जस्तो खानेपानी र सरसफाइ सुविधा कहीं पनि नभएको र विद्यालयमा यसैका कारण पनि विद्यार्थी आकर्षित भएको हुनसक्ने उहाँको आँकलन छ ।

यो विद्यालय, युनिसेफ नेपालले आयोजना गरेको प्रथम वास रनिङ शील्ड प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल विद्यालय हो ।

‘यहाँ सरसफाइमा जागरुकता छ । उचाइ अनुसारका धारा छन्, शौचालय पनि उस्तै छ । खानेपानीको पर्याप्त व्यवस्थाले गर्दा शौचालय र पिसाब घर सधैं सफा हुन्छन्’ प्रधानाध्यापक अन्सारी भन्नुहुन्छ यत्ति भएपछि विद्यार्थी आकर्षित नहुने कुरै भएन ।

वास फोकल शिक्षक र सहयोगीले पनि तालिम पाएका छन् । उहाँहरुले पनि विद्यालयको खानेपानी र सरसफाइको रेखदेख गर्नुहुन्छ । विद्यालयमा बालबालिकाहरुले गर्ने कामको तालिका विद्यार्थी आफैले मिलाएका छन् । यसको अनुगमन विद्यालयको बाल क्लवले गर्ने गरिएको प्रधानाध्यापक अन्सारीले बताउनुभयो ।

युनिसेफ नेपाल र जीतपुर सिमरा उपमहानगरपालिकाको आर्थिक सहयोगमा छा-याँ नेपालद्वारा सञ्चालित  ‘विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता (वास इन स्कुल) कार्यक्रम’ अन्तर्गत विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता संरचना मर्मत सम्भार एवं विद्यालयको बानी व्यवहार परिवर्तन सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरेपछि यो विद्यालय तीन तारामा उक्लिएको छ । नेपाल सरकारद्धारा जारी विद्यालय खानेपानी, सरसफाइ र स्वच्छता कार्यविधि अनुसार मापदण्ड पूरा गरेका विद्यालयहरुलाई तीन तारे विद्यालय घोषणा गरिएको हो ।

मधेस प्रदेशको बारा र रौतहट जिल्लाका २२ वटा विद्यालय मध्ये कार्यक्रम सञ्चालनको दौरानमा १३ वटा सामुदायिक विद्यालय तीन तारामा स्तरोन्नति भएका हुन् ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार