चितवन : चितवनको भरतपुर महानगरपालिकामा तीन वटा खानेपानी तथा सरसफाइ आयोजना एकैसाथ सञ्चालनमा आएका छन् । शारदानगर खानेपानी तथा सरसफाइ आयोजना, जखडीमाइ सहलगानी खानेपानी आयोजना र दिब्यनगर खानेपानी आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकै दिन उदघाटन गर्नुभयो ।
शारदानगर खानेपानी तथा सरसफाइ आयोजनाले महानगरपालिकाको वडा नं। १७, १९ र २० का उपभोक्ता, जखडीमाइ सहलगानी खानेपानी आयोजनाबाट वडा नं. १० र ११ का बासिन्दा तथा दिब्यनगर खानेपानी आयोजनाले वडा नं। २६ का बासिन्दालाई खानेपानी सेवा उपलब्ध हुनेछन् ।
यी तीनवटै आयोजनाबाट महानगरका ४२ हजार २ सय ६५ जना प्रत्यक्ष लाभान्वित भएका छन् ।
शारदाको लागत करिब ३८ करोड
२०७८ बैशाख ३१ मा ठेक्का सम्झौता भई २०८० जेठ ८ मा निर्माण सकिएको शारदानगर खानेपानी तथा सरसफाइ आयोजनाको कुल लागत ३७ करोड ९९ लाख ४७ हजार ३ सय १६ रहेको छ ।
शर्मा एण्ड कम्पनीले निर्माण गरेको यस आयोजनामा पानीको परीक्षण ल्याव, कम्प्युटरबाट नै समस्या र लिकेज पत्ता लगाउन सकिने व्यवस्था छ ।
डीप टयुवेल ६ वटा, पानी प्रशोधन केन्द्र २ वटा, ४५० घनमिटरका २ वटा ओभर हेड ट्याङ्की आफ्नै सुविधा सम्पन्न भवन लगायतका संरचना तयार गरिएका छन् ।
जखडीमाई खानेपानीद्वारा २४ सै घण्टा सुरक्षित खानेपानी
२५ करोड ७ लाख १७ हजारको लागतमा तयार भएको जखडीमाई खानेपानी आयोजनाको ४ सय ५० घनमिटर र ९ सय घनमिटरका दुईवटा ओभरहेड ट्याङ्की र दुई वटा डीप ट्युबवेल छन् । यसमा नेपाल सरकार, भरतपुर खानेपानी व्यवस्थापन बोर्ड र उपभोक्ताको लगानी छ ।
२०७७ असार ८ गते सम्झौता गरिएको यो आयोजना २०८० साउन ३० गते निर्माण सकिएको हो । सीएबी प्रेरा जेभी काठमाडौंले बनाएको आयोजनाबाट चौबिसै घण्टा पानी वितरण हुन्छ । यसबाट ३३ सय ६८ घरधुरीका १३ हजार ५ सय ५२ जना प्रत्यक्ष लाभान्वित हुनेछन् ।
दिव्यनगर खानेपानी २ बर्षमा सम्पन्न
भरतपुर महानगरपालिका–२६ मा तयार भएको दिव्यनगर खानेपानी आयोजनाबाट १८ सय ५५ घरधुरीका ९२ सय ७१ जना प्रत्यक्ष लाभान्वित हुनेछन् । भीमेश्वर डिलिङ तथा निर्माण सेवा प्रालिले ९ करोड ९६ लाख ३३ हजार ८८८ को लागतमा तयार गरेको यस परियोजनामा २ वटा डीप ट्युववेल, ४५० घनमिटरको ओभरहेड ट्याङ्की, कार्यालय भवन लगायतका संरचना छन् ।
चौबिसै घण्टा पानी वितरण हुने यो परियोजना २०७८ असार ७ मा निर्माण सम्झौता भएर २०८० असोज ३ मा सम्पन्न भएको हो ।
खानेपानी र सिँचाईमा देशमै नमुना काम : प्रधानमन्त्री
प्रधानमन्त्री प्रचण्डले भरतपुर शुद्ध पिउने पानी र भूमिगत सिँचाइमा देशमा नै नमूना काम भएको बताउनुभयो । उहाँले खानेपानी आयोजनामा उपभोक्ताहरुको लागत सहभागिता ३० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिएको समेत बताउनुभयो ।
शुद्ध पिउने पानी नागरिकको मौलिक हक समेत भएकाले राज्यले गरेको प्रतिवद्धता अनुसार काम गर्ने बताउनुभयो । उहाँले पानीको महसुल जस्ता विषयमा सरकारले थप सहुलियत प्रदान गर्ने बताउनुभयो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा ९२ प्रतिशत जनता खानेपानीको पहुँचमा पुगेको बताउनुभयो । उहाँले विकट मानिने २९ नम्बर बडाको कविलासदेखि भरतपुरको सघन शहरी क्षेत्रमा समेत पानीको पर्याप्त व्यवस्थाका लागि दर्जनौं आयोजना सञ्चालन भइसकेको छ र कतिपय निर्माणको चरणमा रहेको बताउनुभयो ।
अबको २ बर्षभित्र भरतपुरमा शत प्रतिशत जनता खानेपानीको पहुँचमा पुग्ने उहाँले दाबी गर्नुभयो । उहाँले भरतपुर महानगरपालिकामा एकीकृत ढल निकास तथा खानेपानी कार्यक्रम अन्तर्गत ३ अर्वको थप परियोजना सञ्चालनमा ल्याउने गरी डीपीआरको काम अन्तिम चरणमा पुगेको समेत जानकारी गराउनुभयो ।