के सफा पानी हुँदैमा सुरक्षित हुन्छ ?

  वास खबर सम्वाददाता  737 पटक हेरिएको

भक्तपुर : ‘सफा पानी र सुरक्षित पानी’ बोलीचालीमा यी दुवै शब्दले दिने अर्थ एउटै जस्तो लाग्न सक्छ । नेपाली समाजमा ‘सफा पानीं’ भन्ने शब्द नै बढी प्रचलनमा छ। तपाईको विचारमा चाहिं सफा पानी र सुरक्षित पानीमा के भिन्नता होला ?

यही प्रश्नको सामना सुरक्षित खानेपानी सम्बन्धी तालिमका सहभागीहरुले पनि गर्नु पर्‍यो । तालिमको सहजीकरण गरिरहनु भएकी वातावरण र जनस्वास्थ्य संस्थाका तालिम अधिकृत मेरिना महर्जनले सहभागीहरु माझ सोध्नुभयो ‘सफा पानी र सुरक्षित पानीमा के भिन्नता छ?’


सहभागीहरुले पालैपालो जवाफ दिए । कसैले भने ‘सफा पानी भनेको हेर्दा सङ्लो देखिने पानी हो।’ कसैको उत्तर आयो ‘सफा भनेको धमिलो नभएको पानी हो ।’ कसैले त पानीमा कुनै पनि फोहोर, बिकारहरु नमिसिएको र स्वास्थ्यलाई कुनै पनि हानी नगर्ने पानी नै सफा पानी हो भन्ने जवाफ दिए ।’

उसो भए सुरक्षित पानी भनेको चाहिं के हो त ? सेसनलाई अन्तरक्रियात्मक बनाउँदै सफा र सुरक्षित पानीको भिन्नता बुझाउन तल्लीन हुनुहुन्थ्यो तालिम सहजकर्ता महर्जन ।

सफा पानीको जवाफ दिए जस्तै सहभागीले पालैपालो भन्न थाले ‘जुन पानी पिउँदा मानिसको स्वास्थ्यमा कुनै असर गर्दैन भने त्यो पानी सुरक्षित पानी हो ।’ ‘सफा पानी आँखाले हेर्दा सफा देखिन्छ तर पिउँदा स्वास्थ्यमा असर पनि देखिन सक्छ, तर सुरक्षित पानी पिउँदा जनस्वास्थ्यमा कुनै कसर गर्दैन ।’ नामै त सुरक्षित पानी, सुरक्षित पानी भनेकै उक्त पानी पिउँदा कुनै रोग व्याधि नलाग्ने पानी हो ।’ सहभागीले यस्तै यस्तै जवाफ दिए ।


‘पानीमा कुन पारामिती कति भयो भने सुरक्षित मानिन्छ?’ फेरि प्रश्न तेर्सियो । यस पटक भने सहभागीबाट खासै सहज उत्तर भेट्टाएन । आफूहरुले बेला बेला प्रयोगशालामा पानीको परिक्षण गरिदै आएको भए पनि सुरक्षित खानेपानी हुनाका लागि पानीमा हुनुपर्ने पारामिति र यसको सघनन् सीमाका बिषयमा भने थाहा नभएको सहभागीले बताए।
प्राविधिक बिषयको ज्ञानलाई अलग राख्ने हो भने बर्षौदेखि खानेपानी सेवा वितरणको अग्र पंक्तिमै रहेर काम गरेकाले धेरैजसो सहभागी यस बिषयमा जानकार नै हुनुहुन्थ्यो ।

‘सफा र सुरक्षित पानीको भिन्नता बारे प्रष्ट पार्न तालिम सहजकर्ता महर्जनले स्लाईडमा देखाउनु भयो । जसमा लेखिएको थियो, सफा पानी  (Clean Water): देख्दा सफा र सङ्लो तर रासायनिक प्रदुषण र जैविक प्रदुषण हुन सक्ने ।

सुरक्षित पानी (Safe Water):  पिउन योग्य पानी, जसमा भौतिक प्रदुषण, रासायनिक प्रदुषण र जैविक प्रदुषणमुक्त भएको साथै स्वादविहीन, गन्धविहीन, कपडा वा पाइपमा दाग वा खिया नलागेको ।

यो परिभाषाले पनि के दर्शाउछ भने आँखाले हेर्दा मात्र सफा देखिने पानी असुरक्षित पानी हुनसक्छ । यसमा आँखाले देख्न नसकिने विभिन्न सुक्ष्म जीवाणु तथा रासायनिक तत्वहरु मिसिएको हुन सक्छ । तर सुरक्षित खानेपानीमा भने स्वास्थ्यलाई हानी गर्ने कुनै पनि भौतिक, जैविक तथा रासायनिक तत्वहरुको मिश्रण हुँदैन ।

अर्थात खानेपानी गुणस्तर मापदण्डले तोकिए बमोजिमका पारामितिहरु सघनन् सीमा भन्दा बढी नभएको पानीलाई नै सुरक्षित खानेपानी भनिन्छ। सरकारले सुरक्षित पानीका लागि निम्न पारामितिहरुको सघनन् सीमा तोकेको छ ।

यसर्थ खानेपानी सेवा प्रदायक संस्थाहरुले अब सुरक्षित खानेपानी मात्र वितरण गर्नुपर्छ । उपभोक्ताको धारामा खानेपानी पठाउनु अघि सुरक्षित छ भन्ने सुनिश्चितता गराएर मात्र पठाउनुपर्छ । यसका लागि खानेपानी सुरक्षा योजना निर्माण गरी खानेपानी सुरक्षा टोली बनाउनुपर्दछ ।

सुरक्षा योजनाले तोकिए मुताबिक आफ्नो खानेपानी संयन्त्र र व्यवस्थापकीय सुधार गरेपछि सुरक्षित खानेपानीको सुनिश्चितता गर्न सकिन्छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार