गण्डकी प्रदेशका १९ पालिकासँग वास प्लान बनाउने त्रिपक्षीय समझदारी

सात पालिकाले बनाए वास प्लान

  वास खबर सम्वाददाता  676 पटक हेरिएको


पोखरा : गण्डकी प्रदेशका १९ वटा पालिकाहरुले खानेपानी, सरसफाई तथा स्वच्छता सम्वन्धी तथ्याङ्क संकलन गरी सूचना व्यवस्थापन प्रणाली Management Information System (MIS) मा प्रविष्ट गरी वास प्लान बनाउन त्रिपक्षीय समझदारी गरेका छन्।

गण्डकी प्रदेशमा एनवास अभिमुखीकरण र समझदारी कार्यशाला गोष्ठीमा समझदारीपत्रमा समुहगत छलफल गरी खानेपानी विभाग, गण्डकी प्रदेशको जलस्रोत तथा खानेपानी मन्त्रालय र स्थानीय सरकार बीच समझदारी गरिएको हो ।

प्रदेश भित्रका सात पालिकाहरूले भने यस अघि नै सूचना ब्यवस्थापन प्रणालीमा तथ्याङ्क प्रविष्ट गरी खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) तयार गरिसकेका छन ।

गण्डकी प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले पालिकाहरूको वास योजना बनाउने उद्देश्यले एनवास अभिमुखीकरण र समझदारी कार्यशाला गोष्ठी आयोजना गरिएको थियो ।

खानेपानी तथा ढल ब्यवस्थापन विभाग, गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, नेपाल राष्ट्रिय गाउँपालिका महासंघ (नार्मिन) र नेपाल नगरपालिका संघ (मुआन) का प्रतिनिधिको सहभागितामा भएको गोष्ठी दुई सत्रमा विभाजन गरिएको थियो ।


उदघाटन सत्रपछिको प्राविधिक सत्रमा खानेपानी तथा ढल ब्यवस्थापन विभागको तर्फबाट डा। रजित ओझाले एनवासको महत्व र तीन तहका सरकारहरूको जिम्मेवारीको बारेमा प्रस्तुतीकरण गर्नुभयो । यस्तै युनिसेफ नेपालका वास बिशेषज्ञ दण्डी राम विश्वकर्माले सङ्घीय सन्दर्भमा खानेपानी, सरसफाइ र स्वच्छता सुशासनका बारेमा प्रस्तुतीकरण गर्नुभयो ।

गोष्ठीमा गण्डकी प्रदेशमा युनिसेफ नेपालले वास योजना तयार, खानेपानी र स्वास्थ्य क्षेत्रमा प्राविधिक तथा आर्थिक सहयोग गरिरहेको मन्त्रालयको तर्फबाट वास फोकल पर्सन इन्जिनियर नविन अर्यालले जानकारी गराउनुभयो । कार्यक्रममा युनिसेफ नेपालका वास प्रमुख मोहम्मद इरफान सईद अलराईले गण्डकी प्रदेशको वास क्षेत्रमा निरन्तर सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशमा आधारभूत खानेपानीको पहुँच करिब ९५ प्रतिशत जनसंख्यामा पुगेको छ । ती मध्ये ६४ प्रतिशत घरधुरीमा निजी धाराको पहुँच पुगेको छ भने ८० प्रतिशत परिवारले आधारभूत तहको सरसफाइ सुविधा प्रयोग गरेका छन् ।


गोष्ठीमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीको शुभकामना सन्देश उपसचिव माधव मरासिनीले पढेर सुनाउनुभयो । यस्तै कार्यशालामा उपस्थित स्थानीय सरकारको तर्फबाट नगरपालिकाका प्रमुखहरू, गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरूलाई मन्त्रालयका सचिव गणेशराज वस्थीले धन्यबाद व्यक्त गर्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार