वास क्षेत्रको अन्तर्राष्ट्रिय विज्ञ टोली नेपालमा, भ्याकिनको अनुभवलाई नेपालमा अबलम्बन गरिने

  वास खबर सम्वाददाता  612 पटक हेरिएको


ललितपुर : खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको अन्तर्राष्ट्रिय विज्ञ टोली नेपाल आईपुगेको छ। स्वीडेनको भ्याकिन (Vakin) नामक संस्थाका पदाधिकारीहरु र वाटर एड युकेका एडभाइजर सहितको टोली नेपाल आईपुगेको हो। टोलीमा भ्याकिनका प्रोजेक्ट म्यानेजर, वातावरण इन्जिनियर, पानी उत्पादक प्राविधिक, मर्मत सम्भार प्राविधिक तथा वाटर एड युकेका सल्लाहकार हुनुहुन्छ।

भ्याकिनले स्वीडेनको तीन वटा स्थानीय तहको ग्रामीण तथा शहरी इलाकाका करिब १ लाख ४० हजार जनसंख्यालाई खानेपानी, सरसफाइ तथा ठोस फोहोरमैला व्यवस्थापन सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।


वाटर एड नेपाल, भ्याकिन र गोदावरी नगरपालिकाको साझेदारीमा सञ्चालित ‘गोदावरी प्रावल्य वास परियोजना’ मा स्वीडीस विज्ञ टोली भ्याकिनले प्राविधिक सहयोग गर्दै आएको र सोही कार्यक्रमको शीलशीलामा नेपालमा आएको वाटर एड नेपालका कार्यक्रम प्रमुख सर्वज्ञ श्रेष्ठले जानकारी दिनुभयो । ‘भ्याकिन टोलीले यसपटक गोदावरी नगरपालिकाको लेले स्थित खानेपानी, दिसाजन्य लेदो व्यवस्थापन केन्द्र तथा ठोस फोहोरमैला व्यवस्थापनको बिषयमा प्राविधिक सल्लाह प्रदान गर्नेछ’ उहाँले भन्नुभयो।


स्वीडीस टोलीले नेपालमा रहँदा ललितपुरको गोदावरी नगरपालिकाको लेले स्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य, गोदावरी नगरपालिकाका इन्जिनियर, निर्माण व्यवसायी सँग बसेर डिटेल डिजाइन स्टिमेटहरु हेर्ने पाइपलाइनका कामहरु कसरी गर्ने ? चुहावट नियन्त्रण तथा खानेपानीको गुणस्तर सुधार कसरी गर्ने भन्ने बारेमा प्राविधिक सल्लाह सुझाव प्रदान गर्ने गोदावरी प्रावल्य वास परियोजना प्रमुख आनन्द गौतमले जानकारी दिनुभयो।

उहाँका अनुसार गोदावरी नगरपालिकाको फोहोर व्यवस्थापन कसरी भैरहेको छ ? भन्ने बिषयमा घरायसी तहदेखि फोहोरमैला वर्गीकरण केन्द्रसम्मको अवलोकन गर्ने र कहाँ कहाँ कसरी सुधार गर्न सकिन्छ र भ्याकिननले गरेका राम्रा अभ्यासहरुलाई कसरी अबलम्बन गर्न सकिन्छ ? भन्ने बिषयमा पनि भ्याकिनको टोलीले छलफल गर्ने कार्यक्रम छ ।


‘स्वीडेनमा भ्याकिनले खानेपानी प्रणालीको नियमित मर्मत सम्भार गरी तीन वटा स्थानीय तहमा २४सै घण्टा खानेपानी उपलब्ध गराईरहेको छ।त्यसलाई यहाँका खानेपानी प्रणालीहरुमा कसरी लागु गर्न सकिन्छ भन्ने सम्बन्धमा पनि उपभोक्ता समितिहरुसँग छलफल हुनेछ’ गौतमले भन्नुभयो।

भ्याकिनको टोलीले नेपालैभरि खानेपानीको क्षेत्रमा काम गरिरहेका सरोकारवालहरुसँग उच्चस्तरीय बैठक समेत बस्नेछ । उक्त बैठकमा भ्याकिनको टोलीद्वारा आफ्ना राम्रा अनुभवहरु पनि सुनाउने कार्यक्रम छ ।

‘भ्याकिनले अनलाइन मार्फत गोदावरी नगरपालिकाका विभिन्न सरोकारवालालाई तालिम प्रदान गरिसकेको छ भने गोदावरीको टिम समेत भ्याकिनमा गएर धेरै कुरा अवलोकन गरेर फर्किसकेको छ, तालिममा सिकेको र अवलोकन गरेका कुराहरु कसरी लागु गरेको रहेछ भनेर पनि हेर्नेछ’ गौतमले भन्नुभयो ।


वास प्लान निर्माणबारे जानकारी हासिल

भ्याकिनको टोलीले गोदावरी प्रावल्य वास परियोजना अन्तर्गत निर्माण भैरहेको गोदावरी नगरपालिकाको वास प्लानका सम्बन्धमा समेत जानकारी लिएको छ । शुक्रबार गोदावरी नगरपालिकाका इन्जिनियर एवं वास प्लान निर्माणको जिम्मेवारी पाएको परामर्शदातासँग वास प्लान निर्माणको स्थितिबारे जानकारी हासिल गरेको हो ।

वास प्लान निर्माणको अवस्थाबारे जानकारी गराउँदै परामर्शदाता कम्पनी अभियान कन्सल्टिङका प्रमुख प्रशान्त मल्लले डाटा संकलन गरी एन वास एम.आई.एस.मा प्रविष्ट गर्ने काम अन्तिम चरणमा रहेको र यही अप्रिल महिनाको अन्त्यसम्ममा सकिने जानकारी गराउनुभयो।

उहाँले डाटा संकलनका लागि लिएका नमुनाहरु, डाटा संकलनका क्षेत्रहरु र नमुना छनौटका आधारहरु बारे विस्तृतमा जानकारी गराउनुभयो। खानेपानी तथा सरसफाइ आयोजना सँग सम्बन्धित शत प्रतिशत धारा, इन्टेक तथा अन्य संरचनाको डाटा संकलन गरिएको उहाँले जानकारी गराउनुभयो ।


यस्तै विद्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक शौचालयका पनि सबै तथ्याङ्क समावेश गरिएको र घरपरिवार भने १० प्रतिशतमा सीमित गरिएको बताउनुभयो। ‘गोदावरी नगरपालिकाको जम्मा घरधुरीको १० प्रतिशत भनेको २ हजार ५ सय जत्ति हुन आउँछ, यसलाई पनि हरेक वडाबाट समानुपातिक रुपमा नमुना छनौट गरी तथ्याङ्क संकलन गरिएको छ’ उहाँले भन्नुभयो।

गोदावरी नगरपालिकामा १४ वटा वडा छन् । दुई वटा वडामा भने गोदावरी नगरपालिका आफैले एनवासमा एम.आई.एस.मा डाटा प्रविष्ट गरेको थियो । बाँकी १२ वटा वडामा तथ्याङ्क संकलनको काम गोदावरी प्रावल्य वास परियोजना अन्तर्गत भैरहेको वाटर एड नेपालका कार्यक्रम प्रमुख सर्वज्ञ श्रेष्ठले जानकारी दिनुभयो। प्रावल्य वास परियोजनाकै सहजीकरणमा गोदावरी नगरपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता ऐन २०८० समेत जारी गरिसकेको छ।


अन्तर्राष्ट्रिय विज्ञ टोलीद्वारा अध्ययन एवं अवलोकन गराउँदा खानेपानी तथा सरसफाइ आयोजनाहरुको वास्तविकता बुझ्ने, सरोकारवालाहरु बीच अनुभवको आदानप्रदान हुने र प्राविधिक ज्ञान साटासाट हुने कार्यक्रम प्रमुख श्रेष्ठले बताउनुभयो । ‘उहाँहरु मात्र यहाँ आउनु भएको होइन, यहाँका मेयर, इन्जिनियर, वातावरण इन्जिनियर पनि त्यहाँ गएर हेरेर आउनुभएको छ, यसले वस्तुस्थिति बुझ्ने, प्राविधिक ज्ञान आदानप्रदान हुने र व्यवस्थापकीय अनुभव साटासाट हुनेछ’ उहाँले भन्नुभयो।

शुक्रबार नै भ्याकिनको टोलीलाई गोदावरी प्रावल्य वास परियोजनाको सूचना रणनीतिबारे वाटर एड नेपालका सिनियर कम्युनिकेसन तथा फण्ड रेइजिङ कोअर्डिनेटर आभाष कर्माचार्यले प्रकाश पार्नुभयो।


गोदावरी प्रावल्य वास परियोजनाले गुणस्तरयुक्त, समावेशी र दिगो खानेपानी, सरसफाइ तथा ठोस फोहोरमैला व्यवस्थापनको सेवा प्रवाहमा गोदावरी नगरपालिकाको क्षमता र कार्यसम्पादन वृद्धि गर्ने लक्ष्य राखी विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार